प्रवचनले व्याख्या गर्छ

प्रवचनले व्याख्या गर्छ
‘तपाईले गर्नुभएको प्रचारले यस चर्चलाई निर्माण गर्छ जस्तो लाग्दैन । त्यसैले हामीले तपाईलाई हाम्रो चर्चको अर्को पास्टरको रूपमा नियुक्त नगर्ने निर्णय गरेका छौं । यो कुरा जुन चर्चमा मैले तीन महिनाको अस्थायी पास्टरीय सेवकाइ गरेको थिएँ, त्यस सेवकाइको अन्ततिर त्यस चर्चका एल्डरहरूले मलाई भन्नुभएको कुरा थियो ।
त्यो आइतवारको दिन थियो। हामीले चर्चको साँझको सेवा भर्खरै मात्र सकेका थियौं, जुन सेवा मैले नै अगुवाइ गरेको थिएँ। मेरी श्रीमती घर फर्किसकेकी थिइन् । चारजना एल्डरहरू र म एल्डरहरूको बैठक कोठामा बसिरहेका थियौं। म र मेरी श्रीमतीले यसरी प्रार्थना गरेका थियौं, यदि प्रभुको इच्छा छ भने, अस्थायी पास्टरीय सेवकाइ पूर्णकालीन पास्टरीय सेवकाइमा परिणत होस् । तर, एल्डरहरूको कुरा सुन्दा, प्रत्यक्ष रूपमा त्यस्तो भइरहेको थिएन ।
मेरो प्रचारमा के खराबी थियो ? त्यो स्पष्ट प्रश्न थियो। चारजना दाजुभाइहरूले आफ्नो उत्तर लगभग एउटै कुरामा केन्द्रित गर्नुभयोः बाइबलीय खण्डमाथिको मेरो विश्वासयोग्यता । उहाँहरूले यस्तो भन्नुभयोः ‘सत्य कुरा भन्ने दृष्टिकोणबाट हेर्दा तपाईंको प्रचार ठिकै छ, र तपाईले भन्नुभएको अधिकांश कुरा तपाईले प्रचार गर्नुभएको खण्डबाटै आउँछ। तर, समस्या यो छ, कि तपाईंको प्रवचन, खण्डको मुख्य बुँदादेखि बिस, तिस डिग्री जति टाढा जान्छ।
त्यो मूल्याङ्कनले मलाई चकित पार्यो। मैले विश्वासिलो बाइबलीय सन्देशहरू प्रचार गर्ने उद्देश्य राखेको थिएँ। त्यो मेरो लक्ष्य थियो। ममा उहाँहरूको जस्तै सेवकाइप्रतिको दर्शन थियो । अस्थायी पास्टरीय पदमा नियुक्त भएको पहिलो केही हप्ताहरूमा मैले भजनसंग्रह १, २ र ३ बाट प्रचार गरेको थिएँ । अनि, मैले मेरो तरिकाले कलस्सीको पुस्तकभरि भाग भाग गरेर प्रचार गरें । तर, कसरी म खण्डको मुख्य बुँदादेखि बिस तिस डिग्री टाढा पूर्गे ? के यो साँच्चै हो र ?
अत्ति नै सिर्जनशील
उहाँहरूले थप यस्तो भन्नुभयो । ‘जोनाथन भाइ, हामीले तपाईलाई चिनेको केही वर्ष भयो, हामी तपाईंलाई प्रेम गर्छौं, र हामी तपाईंलाई सेवा गर्न चाहन्छौं। हामीले आफैलाई कसरी यस्तो भयो भनी प्रश्न गर्छौँ । हामीले देखेको सबैभन्दा प्रमुख कुरा भनेको तपाई एकदमै सिर्जनशील हुनुहुन्छ, र तपाईको सृजनशीलता प्रत्येक हप्ता देखिन्छ। कहिलेकाहीँ यसले काम गर्छ, र तपाईको शैलीले तपाईको सन्देशलाई अझ स्पष्ट पार्छ। तर, कहिलेकाहीँ यसले काम गर्दैन, र तपाईंले खण्डको मुख्य बुँदा नै छुटाउनुहुन्छ ।’
तब मैले कुरा बुझै । उनीहरूले केको बारेमा कुरा गरिरहेका थिए भनी मलाई थाहा भयो। वास्तवमा, उनीहरूलाई भन्दा बढी मलाई थाहा थियो। एकपछि अर्को हप्ता मैले खण्डलाई बुझ्न नयाँ पद्धति पत्ता लगाउन परिश्रम गरेको थिएँ। मलाई मेरी श्रीमतीसँग यस्तो भनेको पनि सम्झना आउँछ, ‘मानिसहरूले यो सयौं पल्ट सुनिसकेका छन् । म यो कुरा नयाँ तरिकाबाट भन्न चाहन्छु ।
यहाँ एउटा उदाहरण छ। हाम्रो चर्च देशकै ठुलो विश्वविद्यालयको गेट अगाडि थियो, र हामी विश्वविद्यालयको भिडलाई प्रभुमा जित्न चाहन्थ्यौं । त्यसकारण, मैले कलस्सीको वचन शृङ्गखलालाई उक्त पुस्तकमा भएको सांसारिक दर्शनशास्त्रको आधारमा ‘माथिको कुरा वा यस संसारको दर्शनशास्त्र’ भन्ने शीर्षक दिएको थिएँ, (कलस्सी २:८ हेर्नुहोस्) । मैले प्रत्येक हप्ता बाइबलीय खण्ड बनाउन मुख्य दर्शनशास्त्रीहरूको त्रुटि प्रयोग गरेंः
हप्ता १ कलस्सी १:१-१४ लाई मैले यस्तो शीर्षक दिएँ, ‘के रिचार्ड रोर्टिले परमेश्वरको इच्छा थाहा पाउन सक्छन् ? हप्ता २ कलस्सी १:१५-२३ लाई मैले यस्तो शीर्षक दिएँ, ‘कान्तले के छुटाए । हप्ता ३ कलस्सी १:२४-२:५ को शीर्षक यस्तो थियो, ‘समय, आशा, र हेगेल ।
सायद, तपाईले बुझ्नुभयो होला । यस कामको देखावटी स्वभावभन्दा पनि, अझ महत्त्वपूर्ण समस्याचाहिँ यसले दर्शशास्त्रीहरूलाई एजेण्डा नियन्त्रण गर्ने अनुमति दिनु थियो । ‘यस बाइबलीय खण्डको भार के हो ? भन्ने सरल प्रश्न गर्नुको साटो, दर्शनशास्त्रीद्वारा प्रस्तुत गरिएको चुनौतीलाई उत्तर दिन मैले वचन खण्ड प्रयोग गरें । कहिलेकाहीँ यसले काम गर्थ्यो, त कहिलेकाहीँ यसले मलाई खण्डको प्रमुख बुँदादेखि अर्कैतिर जाने बनाउँथ्यो, सायद बिस तिस डिग्री टाढा । त्यो मात्र नभएर सुरूको महिनाहरूमा केही कुराले मेरो हृदयमा गुप्त रूपमा स्थान लिइराखेको थियो भन्ने मलाई थाहा थियो। मेरो मौलिकता र आत्मिक अन्तर्दृष्टिद्वारा चर्च समुदायलाई प्रभावित पार्ने चाहनाले मलाई व्याकुल बनाएको थियो । उनीहरूले म एक महान् प्रचारक हो भनी सोचेको चाहन्थें। विशेषगरी, म यी चारजना एल्डरहरूलाई प्रभावित पार्न चाहन्थें । तर ‘रचनात्मक’ प्रवचनको तयारीको परिणाम डरलाग्दो भयो ।
अचम्मको कुरा, कति प्रचारकहरू यो बाटोमा हिँडिरहेका छन् ? ती चार दाजुभाइहरूले मलाई पास्टरको रूपमा नियुक्त गर्न इन्कार गरेर मलाई आशिषित् तुल्याउनुभयो । उहाँहरूले मलाई नरम र प्रेमीलो शब्दहरूमा सम्झाउनुभयो, जुन म विश्वास गर्छु, कि प्रभुले मलाई दिनुभएको सेवकाइमा उपयोगी हुनेछ । असफलताको लज्जा र बेरोजगारीको डरले मलाई दह्रो पाठ सिकायो, तर परमेश्वरको अभिप्राय नै मेरो दिमागमा त्यो पाठ राख्ने थियो। यो कुरालाई पुनः सोच्दा म ईश्वरीय आज्ञा सुन्छु, ‘खण्डले भन्न खोजेको कुरा मात्र प्रचार गर १ र यसको लागि परमेश्वरलाई धन्यवाद होस् ।
त्यसोभए हामीले कसरी प्रचार गर्ने ?
त्यसोभए, के प्रवचनमा सृजनशीलता प्रयोग गर्नु गलत हो ? पक्कै होइन । तर, म भन्छु, कि हामी सृजनशीलतासँग धेरै होसियार हुनुपर्छ । अन्ततः चर्चलाई केले निर्माण गर्छ- हाम्रो सृजनशील विचारहरूले, कि परमेश्वरको वचनले ? यसको उत्तर प्रत्येक समय र प्रत्येक ठाउँमा एउटै हुन्छः परमेश्वरको आत्माद्वारा काम गर्ने परमेश्वरको वचनले नै चर्चलाई निर्माण गर्छ ।
तर, एकैछिन- के यो यति सरल छ ? हामीले अध्याय १ लाई यसरी सारांशित गरेका थियौं, परमेश्वर मानव प्रचारकहरू र मानव वचनहरू मार्फत बोल्नुहुन्छ, र यसले हाम्रो सहभागितालाई पनि जनाउँछ । येशूले ‘तिनीहरूको वचनद्वारा ममाथि विश्वास गर्नेहरूका लागि प्रार्थना गर्नुभयो (यूहन्ना १७:२०, टि.बि.एस.)। यसको अर्थ, हाम्रो काम केवल रातो अक्षरमा लिखित बाइबलमा भएको रातो अक्षरका वचनहरू पढ्नुभन्दा बढी नै छ । हामीले आफ्नै वाक्यहरू र अनुच्छेदहरू, आफ्नै रूपरेखाहरू र चित्रणहरू बनाउनुपर्छ । तर, यदि त्यसो हो भने, ‘हाम्रा वचनहरू’ कसरी ‘उहाँको वचन’ हुनसक्छ ?
सायद, यस प्रश्नले तपाईंलाई सताएको छैन होला तर यसले मलाई वर्षोंसम्म अलमल्लमा पारेको छ । परमेश्वरको वचनले मात्र परमेश्वरका मानिसहरूलाई जीवन दिन्छ भन्ने ईश्वरशास्त्रीय मान्यतालाई म स्वीकार्न सक्छु । यो उत्साहजनक छ । तर, हाम्रो काम केवल बाइबलको वास्तविक खण्ड पढ्नुभन्दा बढी नै छ भन्नुको अर्थ के हो ? प्रवचन तयार गरिरहेको बेलामा वा सिकाइरहेको बेलामा हामीले मानव विचारहरू घोषणा नगरी कसरी परमेश्वरको वचन घोषणा गछौँ ?
यही नै यस अध्यायको मुख्य प्रश्न हो, कि कसरी हामीले परमेश्वरको वचन एकदमै विश्वासयोग्य भएर घोषणा गर्न सक्छौं, ताकि उहाँको आत्माले शक्तिशाली रूपमा काम गर्नुभएको होस् ?
उद्देश्यः परमेश्वरको वचनलाई स्पष्टसँग व्याख्या गर्नु
माथिको प्रश्नले मलाई वर्षोंसम्म अलमलमा पार्यो, तर अन्ततः मैले यसको उत्तर एकदमै सरल भएको पाएँः बाइबलमा परमेश्वरले पहिले नै भन्नुभएको कुरालाई जब हामी स्पष्ट र नम्र भएर भन्छौं, तब परमेश्वर हामीद्वारा बोल्नुहुन्छ । प्रचारकहरूले परमेश्वरको सन्देशलाई सरल र सीधा रूपमा व्याख्या गर्नुपर्छ ।
उदाहरणको लागि, नहेम्याहको पालामा लेवीहरूले इस्राएलीहरूको लागि त्यही नै गरेका थिएः ‘तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए’ (नहेम्याह ८:८) । उनीहरूले व्यवस्थाको पुस्तक पढे, अनि व्याख्या गरे। विश्वासयोग्य भएर उनीहरूले यसको सन्देश प्रचार गरे। र गर्नुपर्ने पनि त्यही नै हो।
प्रवचनमा हुनुपर्ने लेनदेन सरल हुन्छ, किनकि यो दैनिक (व्यावहारिक जीवनमा लागु हुने) लेनदेन हो ।
-हुलाकीले आफ्नै पत्रहरू पुऱ्याउँदैन, तर अरू कसैको पत्रहरू पुयाउँछ ।
-पत्रकारले खबर बनाउँदैन, तर खबर रिपोर्ट गर्छ ।
-अफिसमा फोन उठाउन बसेको कर्मचारीले फोन उठाएर आफ्नै सन्देश बताउँदैन; तर आफूले पाएको सन्देश बताउँछ ।
त्यसरी नै, मानव प्रचारकले पनि परमेश्वरको वचन प्रचार गर्दा आफ्नो सन्देश वा विचारहरूलाई व्याख्या गर्दैन, तर परमेश्वरको वचनको विचारहरूलाई व्याख्या गर्छ । डि. ए. कार्सनले यसलाई ‘पुनः प्रकाश’ भनी भन्छन् । परमेश्वरले विगतमा आफ्नो सन्देश प्रेरित वा अगमवक्ताद्वारा प्रकाश पार्नुभयो । र अहिले उहाँले नयाँ सन्देश प्रकाश पार्न होइन, तर त्यही पुरानो सन्देश पुनः प्रकाश पार्न प्रचारकलाई प्रयोग गर्नहुन्छ । वचन प्रचार हुँदा चर्च समुदायले प्रचारक बोलेको सुने तापनि, उनीहरूले परमेश्वरबाट सुनिरहेका हुन्छन् । तपाईं यसलाई ‘पुनः प्रकाश’ वा पत्र पुन्याउने, खबर रिपोर्ट गर्ने वा सन्देश पुन्याउने जे पनि भन्न सक्नुहुन्छ ।
प्रचारमा धेरै तत्वहरू संलग्न हुन्छन्, किनकि एक प्रचारकको रूपमा हामी आफ्नो व्यक्तित्व र सांस्कृतिक पृष्ठभूमिको आधारमा बोलिरहेका हुन्छौं। यसको साथै, हामी आफ्ना विशेष मानिसहरूको विशेष चासोहरू र चुनौतीहरूलाई सम्बोधन गर्न रूचि राख्छौं। तर, हामीले यी यथार्थहरूलाई हाम्रो ध्यान अफ थोकहरूतिर मोड्ने अनुमति दिनुहुन्न । यो परमेश्वरको वचन हो र यसप्रतिको हाम्रो विश्वासयोग्यताले जीवन दिन्छ । हाम्रो व्यक्तित्वहरू वा अनुभवहरूले परमेश्वरको वचनलाई योगदान दिन सक्दैन । बाइबलको कुनै पनि ठाउँमा हाम्रा सिर्जनशीलताले परमेश्वरको चर्चलाई निर्माण गर्न सक्छ भनेर बताइएको छैन । यसरी सोच्नु कति घमण्डी (र भारपूर्ण) हुन्छ ।
तसर्थ, एक प्रचारक वा शिक्षकको रूपमा हाम्रो जीवन वा मृत्युभन्दा पनि ठुलो लक्ष्य भनेको परमेश्वरको वचन व्याख्या गर्ने हुनुपर्छ । उहाँले जे भन्नुहुन्छ, त्यही व्याख्या गर्नुहोस् । उहाँको सन्देशलाई व्याख्या गर्नुहोस् ।
एक परिपक्क र बुद्धिमान मानिसले प्रभावकारी रूपमा परमेश्वरको वचन व्याख्या गर्न आफ्नो सृजनशीलता, रङ्गिन चित्रणहरू, सान्दर्भिक संवेदनशीलता, र उसको साहसी व्यक्तित्व प्रयोग गर्नु ठिकै हो। तर, मेरो अनुभव अनुसार सृजनशील मानिसले सृजनशील हुनलाई ध्यान दिइरहनुपर्दैन र प्रभाव पार्न सक्ने मानिसले प्रभाव पार्नमा ध्यान दिइरहनुपर्दैन । न त सम्बन्धात्मक मानिसले सम्बन्ध गाँस्ने कुरामा ध्यान दिइरहनुपर्छ । किनकि जब उनीहरू गफ लडाउँछन्, तब त्यो भइहाल्छ । र मेरो अनुभवमा, प्रभावकारिता वा सृजनशीलतामा बढी ध्यान दिनुले तपाईंलाई सन्देशबाट विचलित पार्छ र सन्देशलाई बङ्ग्याउँछ । असल प्रचारक हुन सबैजनाले मेहनत गर्न सक्छ भनी कसैले तर्क गर्नसक्छ, जुन कुरा म स्वीकार पनि गर्छु, तर पनि म यो तथ्य हाम्रो आँखा अगाडि राख्न चाहन्छुः एक प्रचारकले तब मात्र आफ्नो श्रोताहरूलाई जीवनको एक मात्र मौका दिन सक्छ, जब ऊ परमेश्वरले पहिले नै भन्नुभएको कुरालाई विश्वासयोग्य भएर प्रचार गर्न सफल हुन्छ। त्यसैले, परमेश्वरको वचनमा नै ध्यान दिनुहोस् ।
सायद, छट्टै धारमा टेकेर म यो बँदालाई सिर्जनात्मक रूपमा ?-वर्णन गर्नसक्छ । मानौं, एकजना सृजनशील, प्रभावशाली, वा सम्बन्धात्मक
व्यक्तिले अमेरिकाको सांसदको प्रेस सचिवको रूपमा काम गर्छ । सांसदले आफ्नो अनुपस्थितिमा प्रेस सचिवलाई पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाको विषयमा उसको राय राख्न आग्रह गर्छ । सचिवको लक्ष्य के हो ? सचिवको एउटै लक्ष्य भनेको सांसदको रायलाई स्पष्ट तरिकाले व्याख्या गर्नु हो। एक असल सचिवले समय लगाएर र अभ्यास गरेर थोरै सृजनशीलता वा प्रभावकारिताले सन्देशलाई स्पष्ट बनाउन वा श्रोताहरूको विरोधलाई कम गर्न आफ्नो व्याख्याहरूलाई आकर्षित बनाउन सिक्छ । तर, एक बुद्धिमान् सचिवले उक्त सांसदको सन्देशको शुद्ध र विश्वासिलो प्रस्तुतिमा त्यस्ता गुणहरू कहिल्यै मिसाउँदैन । नत्रभने ता उसको जागिर गुम्नेछ ।
प्रचारकहरू पनि सृजनशीलता, प्रभावकारिता वा अरू कुनै औजार प्रयोग गर्न उत्साहित हुन सक्छन्, तर त्यस्ता औजारहरूले नम्र सेवकले झै काम गर्नुपर्छ, जसले दरबारमा घुम्न आएकाहरूलाई परमेश्वरको वचनको राजकीय सिंहासनतिर लैजान्छ । त्यस्ता औजारहरूले सन्देशलाई सेवा गर्नुपर्छ, नियन्त्रण होइन । प्रवचनको स्पष्ट र एकमात्र लक्ष्य भनेको परमेश्वरको वचन व्याख्या गर्नु हो र प्रचारकका सबै हतियारहरू त्यही लक्ष्यमा एकीकृत हुनुपर्छ ।
प्रचार गर्ने सबैभन्दा उत्तम तरिकाः व्याख्यात्मक प्रचार
यदि कोही अहिलेसम्मको यस छलफलमा सहमत हुन्छ भने, अर्को कदम चाल्न त्यति गाह्रो हुन्न । म प्रस्ताव गर्दछु, कि प्रचारको सबैभन्दा उत्तम तरिका-हो, ‘सबैभन्दा उत्तम’- भनेको सरल रूपमा परमेश्वरको वचनलाई व्याख्या गर्नु हो । वास्तवमा, हामीले परमेश्वरको वचन व्याख्या गर्ने प्रचारलाई वर्णन गर्ने एउटा शब्द बनाउन सक्छौं । त्यसको लागि व्याख्यात्मक भन्ने शब्द कसो होला ? व्याख्यात्मक प्रचारको एकमात्र विशिष्टता भनेको यसले परमेश्वरको खण्डलाई विश्वासयोग्य तरिकाले व्याख्या गर्छ ।
निश्चय नै, मैले ‘व्याख्यात्मक’ अवधारणा बनाएको होइन । तर, अवश्य नै मैले यससँग जोडिएका कतिपय गलत धारणाहरूलाई हटाउन खोजेको हुँ, म यसलाई शून्यताबाट सुरू गरेर परिभाषित गर्ने कोसिस गर्छु । पहिलो, व्याख्यात्मक प्रचार प्रचारकको व्यक्तित्वको बारेमा हो भन्ने धारणलाई हटाइदिनुहोस् । जोशीलो प्रचारक र शान्त स्वभावको प्रचारक दुवैले व्याख्यात्मक रूपमा प्रचार गर्न सक्छ । दोस्रो, व्याख्यात्मक प्रचार बाइबलको खण्डको लम्बाईको बारेमा हो भन्ने भ्रम फालिदिनुहोस्- व्याख्यात्मक प्रचारले केवल एउटा दुईटा पद मात्र लिन्छ भन्ने भ्रम। यसमा तपाईंले निर्धारण कुराको आधारमा धेरै वा थोरै पदहरू समेटिन सक्छ । तेस्रो केही पलको लागि सबै हाँसो, सुजनशीलता वा राम्रा कथाहरूको उपस्थिति वा अनुपस्थिति बिर्सनुहोस् । यी विषयहरूमा विवेकको प्रयोग गर्न सकिन्छ, तर निश्चित रूपमा यही हुनुपर्छ भन्न सकिन्न। अन्तिम, व्याख्यात्मक प्रचारले हृदय, आत्मा वा इच्छालाई नभएर दिमागलाई मात्र छुन्छ भन्ने धारणा हटाइदिनुहोस् । कमसल व्याख्यात्मक प्रचारले त्यसो गर्न सक्छ, तर हरेक प्रकारको प्रचार कमसल तरिकाले गर्न सकिन्छ ।
व्याख्यात्मक प्रचारको विषयमा एउटा कुरा पक्का गरी भन्न सकिन्छः यसले बाइबलीय खण्डको अर्थ र उद्देश्यलाई स्पष्ट रूपमा व्याख्या गर्छ। यसले यस्तो भन्छः ‘यस खण्डको मुख्य उद्देश्य यहाँ छ, र तपाईं जो भए तापनि, जहाँबाट भए तापनि, वा ठिक यसै समयमा तपाईको जीवनमा जे भए तापनि, यो तपाईंको लागि उपयुक्त छ । प्रचारकले आफ्नो सबै शक्ति बाइबलको भारलाई मानिसहरूको हृदय र समझमा पुनः उत्पादन गर्न केन्द्रित गर्छ र उसले त्यो लक्ष्यको बाटोमा आफ्नो व्यक्तित्वलाई बिचमा ल्याउन इन्कार गर्छ। परमेश्वरले जे भन्नुहुन्छ त्यो सुन्ने मौकाबाट विश्वासीहरूलाई बञ्चित गर्नुको सट्टा ऊ उनीहरूलाई पट्यार लगाउने र चित्त दुखाउने जोखिम मोल्न तत्पर हुन्छ । जसै हामीले हेर्यों, कि परमेश्वरले पहिले नै भन्नुभएको कुरालाई प्रचारकले विश्वासयोग्य भएर प्रचार गर्न सफल भयो भने मात्र उसले आफ्ना श्रोताहरूलाई जीवनको एक मात्र मौका दिन्छ ।
व्याख्यात्मक प्रचारको सबैभन्दा स्वच्छ परिभाषा, मैले मार्क डेभरको परिभाषामा देखेको छुः व्याख्यात्मक प्रचार त्यो प्रचार हो, जसमा बाइबलीय खण्डको विचार नै प्रचारको मुख्य विचार हुन्छ, र त्यो चर्च समुदायको जीवनमा लागु गरिन्छ। खण्डको ‘विचार’ भन्दैगर्दा, हामीले खण्डको विषयवस्तु र यसको उद्देश्य दुवैलाई विचार गर्नु आवश्यक हुन्छ । खण्डले श्रोताहरूलाई के को लागि आव्हान गर्दैछ ? आत्म-जाँच र स्वीकारको लागि ? पश्चात्तापको लागि ? पवित्र जीवन जिउनको लागि ? प्रशंसा गर्नको लागि ? अचम्मित र आनन्दित हुनको लागि ? प्रवचनले पनि त्यसैको लागि आव्हान गर्नुपर्छ। प्रचार गर्ने काम सूचना दिने काम जस्तो मात्र होइन, जस्तैः ‘यो खण्डले येशू परमेश्वर हुनुहुन्छ भन्छ । बरू, यो श्रोताहरूलाई व्यक्तिगत रूपमा संलग्न गराउने परमेश्वरको काम हो, जस्तै ‘यस खण्डले भन्छ, कि येशू परमेश्वर हुनुहुन्छ । अनि मैले बोलेका वचनहरूद्वारा उहाँको अगाडि घुँडा टेक्न उहाँले अहिले नै तपाईलाई बोलाउनुहुन्छ । जुन हदसम्म प्रचारकहरू परमेश्वरको वचनको उद्देश्य र विषयवस्तुमा विश्वासयोग्य हुन्छन्, त्यस हदसम्म मात्र उनीहरूको मुखको वचनहरू परमेश्वरको वचनहरू हुन सक्छन् । जसै पत्रुस यसरी भन्छन्, ‘यदि कसैले बोल्दछ भने, परमेश्वरको वचन बोलेजस्तै त्यसले बोलोस्’ (१ पत्रुस ४:११) ।
तसर्थ, मेरो विचारमा, खण्डको मुख्य विचारलाई विषयवस्तु र उद्देश्य दुवैप्रति विश्वासयोग्य भएर प्रचार गर्नु भनेको साहित्यिक विधाप्रति संवेदनशील हुनु र त्यसपछि आफ्नो शैलीलाई अपनाउनु हो । पत्रको लागि सरल तीन बुँदे प्रचार उपयुक्त हुन सक्छ । तर, यहोशू, वा एस्तर, वा येशूको पुनरूत्थानजस्ता शक्तिशाली वृत्तान्तमा त्यही शैली लागु गर्दा, केही कुरा हराउँछ । बालबालिकाहरूलाई किन दानिएल र सिंहको खोरको कथा मनपर्छ ? किनकि कथामा दृश्य, लय, पात्रहरूको अन्तरक्रिया, र कथाको जटिलताको अनपेक्षित र आनन्ददायक अन्त्यले खण्डलाई शक्ति दिन्छ, यसले ईश्वरशास्त्रीय शक्ति समेत दिन्छ । म यो विश्वास गर्छु, कि निश्चित खण्डप्रति विश्वासयोग्य हुन उक्त कथाको सैद्धान्तिक पाठहरूलाई स्पष्ट व्यक्त गर्नु आवश्यक छ; तर कथाको दृश्यमा श्रोताहरूलाई एकपछि अर्को सिँढीमा सार्नु पनि आवश्यक छ, ताकि श्रोताहरूले परमेश्वरको विश्वासयोग्यता र शक्तिमा आश्चर्यता र श्रद्धा अनुभव गर्न सकून् । सारांशमा भन्दा, जसरी कविताका शब्दहरू कानुनका शब्दहरूभन्दा फरक हुनुपर्छ र बुद्धिका शब्दहरू अपोकलाष्टिकका शब्दहरूभन्दा फरक हुनु जरूरी छ, त्यसरी नै कथाको शैली पत्रको शैलीभन्दा थोरै फरक हुनु आवश्यक छ ।
तैपनि प्रत्येक विधामा प्रचारकको उद्देश्य यही एउटै हुन्छः खण्डको विचार वा भारलाई विश्वासीहरूको सामु राख्नु ।
अन्य किसिमको प्रचारबारे चाहिँ के भन्ने त ?
के यसको मतलब अन्य किसिमका प्रचारहरू चाहिँ गलत हुन् भन्ने हो त ? पक्कै होइन, र अन्य प्रकारको प्रचार, जस्तैः विषयगत प्रचारको लागि पनि त्यहाँ समय र स्थान छ ।
एक पास्टरले आफ्नो चर्चमा केही हप्ताहरूसम्म परिवार, चर्च वा अन्य उपयुक्त विशेष विषयमा प्रचार गर्ने निर्णय गर्न सक्छ । यहाँ मलाई विषयगत साप्ताहिक प्रचार तालिकाको योजना बनाउने तीन विचारहरू राख्न दिनुहोस् ।
पहिलो, हामी भनिरहेका छौं, परमेश्वरले पहिले नै भन्नुभएको कुरा विश्वासयोग्य भएर प्रचार गर्न सफल हुन्छ भने मात्र एक प्रचारकले आफ्नो चर्च
समुदायको सेवा गर्छ । तसर्थ आफ्नो प्रचार निश्चित खण्डबाट नगर्दा पनि यदि उसले बाइबलले के भन्छ भनी विश्वासयोग्य भएर प्रचार गर्छ भने, त्यस प्रचारमा जीवन परिवर्तन गर्ने शक्ति हुन्छ । परमेश्वरले उहाँको वचनद्वारा जीवन दिनुहुन्छ, मानव विचारहरूद्वारा होइन ।
दोस्रो, विषयगत प्रचार व्याख्यात्मक प्रचार जति शक्तिशाली नहुनसक्छ, किनकि यसको ध्यान एउटा खण्डको भारमा भन्दा पनि प्रचारकले पहिल्यै रोजेको विचारमा हुन्छ । प्रायः त्यस्तो प्रचारहरूमा बाइबलीय खण्डलाई प्रयोग गरिएको हुन्छ, र तिनीहरूबाट सत्य कुरा पनि प्रचार गरिन्छ। तर, अधिकांश समयहरूमा यस किसिमको प्रचारले कुनै पनि खण्डलाई त्यसको पूर्णतामा प्रचार गर्न असफल हुन्छ, किनकि पहिल्यै रोजेको विचार प्रचार गर्न प्रचारक त्यस खण्डमा आएको हुन्छ ।
मानौं, उदाहरणको लागि, एक प्रचारकले प्रार्थनाको बारेमा शृङ्खलाबद्ध रूपमा प्रचार गर्न चाहन्छ । एक हप्ता, उसले हिब्रू ४:१६ प्रयोग गर्छ, जुन पदले साहससँग अनुग्रहको सिंहासनमा जानेबारे कुरा गर्छ, र उसको प्रचारको मुख्य विचार/जोर ‘हामीले सधैं साहससँग प्रार्थना गर्नुपर्छ।’ भन्ने हुन्छ । तर, के प्रचारकले यस खण्डलाई ईश्वरीय अभिप्राय भएको जीवन दिने शक्तिसँग स्पष्ट रूपमा व्याख्या गरिरहेको हुन्छ ? वास्तवमा, हिब्रू ४:१६ त यो तथ्यको बारेमा हो, लेवी पूजाहारीले भन्दा पापरहित खीष्टले अझ सिद्ध बलिदान दिनुभएको कारण हामी विरूद्ध परमेश्वरको क्रोध हटाइयो र हामी पुनर्स्थापित सम्बन्धमा उहाँको नजिक जान सक्छौं । यस तथ्यको एउटा व्यवहारिक प्रयोग भनेको हामी प्रार्थनामा साहसपूर्वक परमेश्वरको नजिक जान सक्छौं भन्ने पनि हो। तर, सैद्धान्तिक रूपमा यो खण्ड सुसमाचारको बारेमा गरिएको मनन हो। के प्रार्थनाको बारेमा चर्चा गरिरहँदा प्रचारकले यी सबै कुरा भन्न सक्दैनन् र ? निश्चय नै भन्न सक्छन्, तर प्रायः भन्दैनन् ।
जब प्रचारकले विषयबाट सुरू गर्छ र त्यस विषयमा आधारित खण्डहरू खोज्छ, तब उसले सोध्ने प्रश्नहरूले त्यस खण्डलाई आकार दिएको हुन्छ, वा त्यो खण्ड उसको प्रश्नहरूमै सीमित हुन्छ। उदाहरणको लागि प्रार्थनाको यस शृङ्खलामा, ऊ त्यस खण्डमा जान्छ, र यस्तो प्रश्न गर्छ, ‘प्रार्थनाबारे यस पदले के भन्छ ? उसले यस्तो प्रश्न सोध्दैन, ‘यस खण्डको मुख्य विचार के हो ?
यसले मलाई विषयगत प्रचारको तेस्रो बुँदामा ल्याउँछ । चर्च समुदायको लागि के उपयुक्त छ भन्ने कुरा महान् पास्टरहरूलाई भन्दा बाइबललाई राम्रोसँग थाहा छ। चर्च समुदायलाई केको खाँचो छ भनी चर्च समुदायलाई भन्दा बाइबललाई राम्रोसँग थाहा छ। अनि खुलेर भन्नुपर्दा, हाम्रो पतित अवस्था र सीमिततामा, हामीमध्ये कसैले पनि बाइबलमा राम्रा शीर्षकहरू वा विषयवस्तुहरू छान्दैनौं । कहिलेकाहीँ प्रचारकहरूले यसो भन्छन, असल प्रचारकले बाइबल २ उसका श्रोताहरू दुवैलाई व्याख्या गर्छन । यो साँचो हो कि आफ्ना श्रोताहरूलाई चिन्नाले प्रचार बलियो हुन्छ । मेरो आफ्नै चर्चमा प्रचार गर्नुभन्दा अगाडि कहिलेकाहीँ म बिस्तारै र प्रार्थनापूर्वक चर्च निर्देशिकाको पानाहरूलाई पल्टाउँछु चर्च सदस्यको अनुहारका तस्बिरहरू देख्दा मलाई उनीहरूको विशेष कष्टहरू, परीक्षाहरू, र अनुग्रहको प्रमाणहरू याद हुन्छ । यसले मलाई उनीहरूको लागि त्यस वचन खण्ड अर्थपूर्ण बनाउन सहायता गर्छ । अस्टेलियन पास्टर फिलिप जेनसनले हामीलेभन्दा परमेश्वरको वचनले हाम्रा मानिसहरूको व्याख्या राम्ररी गर्न सक्छ भन्दा, उनी साँच्चै सही छन । यसले उनीहरूलाई व्याख्या गर्न सक्छ । उनीहरूलाई साँच्चै केको खाँचो छ भनी यसलाई थाहा हुन्छ ।
तर, विषयगत शृङ्खलाहरूमा, परमेश्वर र उहाँको सर्व-बुद्धिमान् वचनले चर्च समुदायले के सिक्छन् भन्ने कुरा निर्धारण गर्दैन। यो त प्रचारकको बुद्धि, उसका मनपर्ने र मन नपर्ने कुरा, उसका सबैभन्दा मनपर्ने विषयहरू, उसले सक्षम अनुभव गर्ने क्षेत्रहरू, र उसका सिमितताहरूले निर्धारण गर्छ । तर, जब प्रचारकले सिधै बाइबलको पुस्तकबाट प्रचार गर्छन्, तब परमेश्वरले मुख्य कुरा स्थापित गर्नुहुन्छ । अनि प्रचारकले चर्च समुदायसँगै सिक्नेछ ।
म यो सबै कुरालाई यसरी सारांशित गर्छु, कि विषयगत प्रचार समय समयमा उपयोगी हुन सक्छ। तर, चर्चको निरन्तरको भोजनमा त्यस्तो प्रचार शृङ्खला हुनुपर्छ, जसले सुव्यवस्थित रूपमा बाइबलको पुस्तकहरूलाई चाहे ठुलो वा सानो खण्डहरूमा प्रचार गर्छ। किन यस्तै प्रचार शृङ्खला हुनुपर्ने ? किनकि, एकपछि अर्को पुस्तक गर्दै व्याख्यात्मक प्रचार गर्दाः
-यसले प्रचारकको बुद्धिलाई होइन, तर परमेश्वरलाई र परमेश्वरको बुद्धिलाई एजेण्डा तय गर्न दिन्छ;
-यसले प्रचारकलाई उनीहरूको सबैभन्दा मनपर्ने विषयहरूमा मात्र केन्द्रित हुने परीक्षाबाट जोगाउँछ;
-यसले चर्च समुदायलाई प्रचारकलाई पहिले नै थाहा भएको कुरामा सीमित पार्नुभन्दा प्रचारकलाई पनि समुदायसँगै सिक्ने अनुमति दिन्छ;
-यसले प्रचारक र चर्च समुदायलाई उनीहरूले चाहेको तरिकामा होइन, तर परमेश्वरले आफैलाई प्रकट गर्नुभएको तरिकामा परमेश्वरलाई जान्न लगाउँछ ।
-यसले प्रचारकलाई बाइबलको सजिलो र कठिन भागहरूलाई प्रचार गर्न लगाउँछ ।
राजाको पत्र पुर्याइदिनु
मलाई मैले सम्बन्धविच्छेदको बारेमा प्रचार गर्छु जस्तो लाग्दैन । तर, यदि तपाईं मर्कुसको सुसमाचारबाट प्रचार गर्दै हुनुहुन्छ भने, तपाईसँग त्यसको बारेमा प्रचार गर्नुबाहेक अरू कुनै विकल्प हुँदैन । अध्याय ९ प्रचार गरेर सिध्याउनुहोस्, र अध्याय १० को सुरूमै त्यसले तपाईंलाई मृत माछाको पलकहिन आँखाले जस्तै घुरेर हेरिरहन्छ ।
अनि म अर्को चर्चमा अस्थायी पास्टरको रूपमा सेवा गर्दैगर्दा, मर्कुसको सुसमाचारबाट प्रचार गर्दै थिएँ। एल्डरहरूले मलाई बताउनु भएअनुसार, म त्यस चर्चमा आउनुभन्दा अगाडि उक्त चर्चले कहिल्यै पनि बाइबलको कुनै एक पुस्तकबाट क्रमशः प्रचार गरेको थिएन । तर, पनि सामान्यतया मानिसहरूले राम्रो नै प्रतिक्रिया दिइरहेका थिए। मलाई लाग्छ, सबैजना थोरै भए पनि अचम्मित थिए, कि मर्कुसको पुस्तक उनीहरूको जीवनमा एकदमै उपयुक्त र उत्साहपूर्ण भयो ।
मलाई सबैभन्दा उत्तेजित पार्ने कुरा भनेको चर्च समुदायले आइतवारको भेलालाई फरक तरिकाले हेर्न सुरू गरेको देख्नु थियो। जसै हामीले मर्कुस ९ अध्यायलाई सिध्यायौँ, थोरै मानिसहरूले बाइबलको उपशीर्षक ‘सम्बन्धविच्छेद’ वा ‘सम्बन्धविच्छेदबारे शिक्षा’ लाई ध्यान दिए भनी म अनुमान गर्छु, किनकि पछिल्लो हप्ता थुप्रै मानिसहरूले यसको बारेमा सोधिरहेका थिए। एल्डरहरूले भन्नु भएअनुसार, सम्बन्धविच्छेदको बारेमा योभन्दा पहिले कसैले पनि प्रचार गरेका थिएनन् । चर्चले परमेश्वरबाट सुन्ने आशा गर्न सिक्दै थियो ।
अनि पछिल्लो आइतवार, मैले यसो भर्ने, परमेश्वर भन्नुहुन्छः ‘सम्बन्धविच्छेद गर्नु पाप हो, यसको अर्थ तपाईंहरूमध्ये कोहीले पश्चात्ताप गर्नुपर्छ । त्यसै हप्ता मैले एउटा पत्र पाएँ, जसमा उक्त व्यक्तिले त्यो चर्च उसको लागि होइन भन्ने घोषणा गरेकी थिइन् । तर, सम्बन्धविच्छेद गर्ने श्रीमानको अनुरोधमा सहमत हुन लागेकी एक अधबैंसे महिला मेरो नजिक आइन् र भनिन्, ‘मलाई अझ धेरै कुरा भन्नुहोस् । प्रचार सकिए लगत्तै, एकजना तिस वर्षे मानिस मकहाँ आएर यसो भन्नुभयो, ‘म केही महिना अघि मात्रै खीष्टियान भएको हुँ, र म अहिले मलाई प्रभुमा अगुवाइ गर्ने स्त्रीलाई विवाह गर्न चाहन्छु, तर म सम्बन्धविच्छेद गरेको व्यक्ति हुँ। अब मैले के गर्ने ? के हामी सँगै खाना खाँदै कुरा गर्न सक्छौं ?”
साँच्चै भन्दा यी प्रश्नहरू कठिन छन्, तर अद्भुत रूपमा यी मानिसहरू परमेश्वरको वचनतिर त्यसरी फर्किरहेका थिए, जसरी उनीहरू पहिले कहिल्यै फर्केका थिएनन् । उनीहरू परमेश्वरतिर फर्किंदै थिए । मेरो संलग्नता के थियो ? मैले त केवल राजाको पत्र पुर्याइदिएको थिएँः ‘हेर, राजाले भन्नुभएको कुरा यहाँ छ । अनि पवित्र आत्माले साँचो काम गर्न थाल्नुभयो ।
-जोनाथन लीमन