ख्रीष्टलाई स्वीकार्नु

ख्रीष्टलाई स्वीकार्नु
झुटो को हो ? झुटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ । पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न । जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ । जुन कुरा तिमीहरूले सुरूदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस् । यदि सुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ । -१ यूहन्ना २:२२-२४
प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै भुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन् । यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा ‘त्यो आउँछ’ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ । – १ यूहन्ना ४:१-३
उहाँले हामीलाई आफ्ना आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौ कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ । हामीले देखेका छौं, र गवाही दिन्छौ, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ । जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा । -१ यूहन्ना ४:१३-१५
यूहन्नाको पहिलो पत्रको उद्देश्य भनेको विश्वासीहरूलाई ख्रीष्टद्वारा परमेश्वर गाँसिएको उनीहरूको सम्बन्ध र उनीहरूको अनन्त अवस्थाको विषयमा बाइबलीद निश्यचयतामा आउन सहायता गर्नु हो। तर, जसै हामी उनको पत्र पढ्छौं, त्यहाँ हामी ख्रीष्टियान समुदायमा झुटो शिक्षा पसेको र उनीहरूले ख्रीष्टियानमतको आधारभूत सत्यता सम्बन्धी शङ्का उब्जाइरहेको कुरा पत्ता लगाउन सक्छौं । हामी यस अध्यायको सुरूको खण्डहरूमा भुटा शिक्षकहरूले फैलाएको केही गल्तीहरूलाई देख्न सक्छौ
- उनीहरूले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सत्यतालाई इन्कार गर्थे ।
- उनीहरूले येशू ख्रीष्ट शरीरमा आउनुभयो भन्ने सत्यतालाई इन्कार गर्थे।
- उनीहरूले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने सत्यतालाई इन्कार गर्थे।
यी तीन इन्कारहरूबाट र यस पत्रमा भएको अरू प्रमाणहरूबाट यी झुटा शिक्षकहरू प्रज्ञानवादीहरू जस्तो देखिन्छ, वा नभए तापनि, उनीहरूको शिक्षा त्यो धर्मसँग सहमत हुन्छ, जुन अन्ततः प्रज्ञानवादको रूपमा चिनियो । ग्रीक शब्द नोसिस बाट प्रज्ञानवाद शब्द आएको हो, जसको अर्थ ‘ज्ञान’ हो। ज्ञान ख्रीष्टियानमतको महत्त्वपूर्ण पक्ष भए तापनि, प्रज्ञानवादीहरूले धर्मशास्त्र बाहिर र धर्मशास्त्र विपरित ज्ञानको दाबी गरे । उनीहरूको मुख्य शिक्षा आत्मा असल हुन्छ, तर भौतिक कुरा चाहिँ खराब छ भन्ने थियो। यस अबाइबलीय द्वैतवादबाट विभिन्न डरलाग्दो त्रुटिहरू उत्पन्न भयो, जसले सुरुका चर्चहरूले सामना गर्नुपर्ने खतरनाक झुटा शिक्षाहरूमध्ये एक प्रज्ञानवादलाई जन्म दियो।
प्रज्ञानवादले विश्वास गर्ने पहिलो तथ्य यो हो, कि मानिसको शरीर भौतिक हो, त्यसैले यो खराब छ । यसको विपरित, परमेश्वर शुद्ध आत्मा हुनुहुन्छ, त्यसैले उहाँ असल हुनुहुन्छ ।
दोस्रो, उद्धार पाउन ख्रीष्टमाथिको विश्वासद्वारा नभएर विशेष प्रकाशद्वारा उक्त व्यक्ति शरीरबाट उम्किनुपर्छ र त्यस रहस्यको बारेमा केवल प्रज्ञानवादीहरूलाई मात्र थाहा हुन्छ ।
तेस्रो, शरीर दुष्ट भएको कारण केही प्रज्ञानवादीहरूले सन्यासी जीवनशैली अपनाएर यो शरीर वर्जित गर्नुपर्छ भनी दाबी गरे। तर, अरूहरूले यस्तो विश्वास गर्थे, कि शरीरको केही महत्त्व नभएको कारण तिनीहरू कुनै संयमविना जुनै पनि अनैतिकतामा संलग्न हुन्छन् ।
प्रेरित पावलले कलस्सीको पुस्तकमा गरे जस्तै, यूहन्नाले पनि आफ्नो पहिलो पत्रभरि यी विभिन्न झुटा शिक्षकहरूलाई सम्बोधन गर्छन् । सबै झुटा शिक्षाहरूको बारेमा विस्तृत रूपमा अध्ययन गर्न नसके तापनि, हामी दुई विशेष झुटा शिक्षाहरूको बारेमा अध्ययन गर्नेछौं । यसमा हामी उद्धार पाउनको लागि येशु ख्रीष्टको व्यक्तिको स्वभाव र उहाँको बारेमा के विश्वास गर्नुपर्छ भन्ने विषयमा उनीहरूको विश्वासबारे अध्ययन गर्नेछौं ।
पहिलो, प्रज्ञानवादी झुटा शिक्षालाई मन्यवाद (डोसेटिजम) भनिन्छ । जुन ग्रीक क्रियापद डोकियो बाट आएको हो, जसको अर्थ ‘देखिनु’ वा ‘देखा पर्नु’ भन्ने हुन्छ । प्रज्ञानवादीहरूले भौतिक शरीर पूर्णरूपमा दुष्ट हुन्छ भनी विश्वास गरेका कारण उनीहरूले येशूको देहधारणलाई इन्कार गर्छन् र ईश्वरीय ख्रीष्ट शरीरमा केवल ‘देखिनु मात्र भयो’ वा ‘देखा मात्र पर्नुभयो’ भनी सिकाउँछन् । दोस्रो शिक्षा पनि यस्तैयस्तै छ । जसलाई सेरिन्थियनवाद भनिन्छ, जुन शिक्षा सेरिन्थसले वकालत गरेका थिए । उनको शिक्षा यस्तो थियो, नासरी येशूको बप्तिस्मामा ईश्वरीय खीष्टको आत्मा स्वर्गबाट ओर्लियो र येशू कलवरीमा मर्नु अघि खीष्टले उहाँलाई छोड्दिनुभयो र स्वर्गमा चढिजानुभयो । सारांशमा भन्नुपर्दा, प्रज्ञानवादले परमेश्वरको अनन्त पुत्रको देहधारणलाई इन्कार गर्छ, र मानव येशू र ईश्वरीय ख्रीष्ट दुई फरक व्यक्तिहरू हुन् भन्ने कुरा मानिलिन्छ। तसर्थ, उनीहरूले येशू, ख्रीष्ट र परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने सत्यतालाई इन्कार गर्छन् ।
हामीले अहिलेसम्म सिकेको सबै कुराको समकालीन व्यावहारिक प्रयोग यही हन्छः कि जबसम्म कुनै व्यक्तिले नासरी येशू परमेश्वरको अनन्त पुत्र हुनुहुन्छ, जसले स्वर्गीय महिमा त्याग्नुभयो, जो पवित्र आत्माद्वारा कन्या मरियमको गर्भमा गर्भधारण हुनुभयो; देहधारी परमेश्वरको रूपमा येरूशलेममा जन्मिनुभयो; जो पूर्णरूपमा परमेश्वर र पूर्णरूपमा मानिस हुनुहुन्छ; उहाँ नै व्यवस्था र अगमवक्ताहरूद्वारा भविष्यवाणी गरिएको ख्रीष्ट हुनुहुन्छ; र उहाँ नै सारा संसारको उद्धारकर्ता हुनुहुन्छ भनी विश्वास गर्दैन, तबसम्म ऊ ख्रीष्टियान हुन सक्दैन । ख्रीष्टको व्यक्तिसँग सम्बन्धित यी महत्त्वपूर्ण सत्यताहरूबाट कोही विचलित हुन्छ भने, जतिसुकै इमानदार र असल कार्यहरूको लागि ऊ उत्सुक भए तापनि, ख्रीष्टियान हुँ भन्ने उसको स्वीकार अयोग्य हुन्छ ।
तिमी ख्रीष्टको बारेमा के सोच्छौ ? जोन न्युटनले ओल्ने, इङ्गल्याण्डमा पास्टरीय सेवकाइ गर्नुहुँदा ‘तिमी ख्रीष्टको बारेमा के सोच्छौ ? भन्ने भजन लेख्नुभयो, जुन भजन १ यूहन्ना ४ अध्यायको अनुप्रयोगको आधारमा लेखिएको छः
ख्रीष्टको बारेमा तिमी के सोच्छौ, त्यो जाँच हो, तिम्रा अवस्था र योजना दुवै जाँच्ने जाँच; जबसम्म उहाँलाई सही तरिकाले बुझ्दैनौ । तिमी बाँकी कुरामा सही हुन सक्दैनौ तिम्रो नजरमा येशू कस्तो हुनुहुन्छ, प्रिय हुनुहन्छ वा हुनुहुन्न, त्यसकै आधारमा परमेश्वरले तिमीलाई प्रतिक्रिया दिनुहुन्छ, र उहाँको कृपा वा त उहाँको क्रोध तिम्रो गन्तव्य हुन्छ । कसैले उहाँलाई एक प्राणीको रूपमा हेर्छन्, मानिस वा स्वर्गदूतको रूपमा, तर तिनीहरूमा मेरा जस्ता भावनाहरू छैनन्, आफू दुःखी र हराएको भन्ने उनीहरूलाई थाहा छैन । कति दोषी, कति असहाय छु म, उनी ईश्वर भनी निश्चित नभएसम्म उहाँको रगतमा विश्वास गर्ने साहस छैन, न उहाँको सुरक्षामा भरपर्ने साहस नै छ ।
हामी एउटा घोषणाबाट सुरु गरौं, जुन सुसमाचारवादी समुदायको लागि आधार वा साहसिक मान्न सकिन्छ ख्रीष्टियान विश्वास येशू ख्रीष्टको व्यक्ति र कार्यको बारेमा हो । यदि सुसमाचारवादी चर्च स्वस्थ चर्च वा धर्मशास्त्र केन्द्रित भएको भए, यो कथन अनुचित हुने थियो। यद्यपि, यो आवश्यक छ र सुधार र जागृति चाहने प्रत्येक चर्चका मानिसहरूका लागि निरन्तर विषय हुनुपर्छ। यो हाम्रो एकदमै प्रिय र सबैभन्दा दोहोरिने कथन हुनुपर्छः कि ख्रीष्टियान विश्वास साँचो रूपमा ख्रीष्टमाथि बसालिएको र उहाँ मै केन्द्रित धर्म हो छः ‘किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन’ (१ कोरिन्थी ३:११)।
आज चर्चले जोन न्युटनको भजनको शब्दहरूमा ध्यान दिनु आवश्यक छ; ती शब्दहरू अहिलेको हाम्रो अस्तव्यस्त अवस्थाको निम्ति आवश्यक छ । ख्रीष्टको सर्वोच्चताको सम्बन्धमा न्युटन हर तवरले सही थिए। ख्रीष्ट परमेश्वरको सर्वोच्च प्रकाश हुनुहुन्छ र उहाँको महान् कार्यको विजेता हुनुहुन्छ । त्यसैले,ख्रीष्ट प्रतिको हाम्रो धारणा त्यो जाँच हो, जसद्वारा ख्रीष्टियान विश्वासको हाम्रो दाबी प्रमाणित हुन्छ । हाम्रो स्वीकार, पहिचान, वा कुनै पनि कामहरूको केही अर्थ हुँदैन, जबसम्म ख्रीष्टप्रतिको हाम्रो धारणा सही हुँदैन । वास्तवमा, हामीप्रति परमेश्वरको सम्पूर्ण मनोवृत्ति, उहाँको पुत्रप्रतिको हाम्रो मनोवृत्तिमा निहित हुन्छ ।
धर्मशास्त्रमा ख्रीष्टको व्यक्तिको दुई पक्षहरू स्पष्टरूपमा प्रस्तुत गरिएको छ, जसलाई इन्कार गर्नु भनेको धर्मशास्त्रलाई नै इन्कार गर्नु हो, र ख्रीष्ट विरोधी हुनु हो। यी दुई विशेषताहरू दिन र रातभन्दा पनि धेरै फरक छन्, तिनीहरू ध्रुवीय विपरीत कुरा हुन्, र ख्रीष्टको व्यक्तिमा भएको सम्बन्ध बाहेक तिनीहरूमा कुनै सम्बन्ध छैन । केवल उहाँमा मात्र ईश्वरत्व र मानवत्व सँगै वास गर्नसक्छ र उहाँमा यी दुई स्वभावहरू एकले अर्कोलाई ओझेलमा नपारि वा कति पनि नघटाइकन वास गर्छ ।
उद्धारक मानिस नै हुनुपर्थ्यो, किनभने मानिसले नै परमेश्वरको व्यवस्था भङ्ग गरेको थियो र मानिस नै मर्नुपर्थ्यो । अहिलेसम्म जन्मिएका सबै पशुहरूलाई उनीहरूको शुद्ध अवस्थामा नै बलि चढाए तापनि, ती सबैको रगतले हाम्रो पापको दाग मेटाउन सक्दैनथ्योः ‘किनकि साँढे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ’ (हिब्रू १०:४) । यदि स्वर्गका सबै स्वर्गदूत मिलेर सित्तैमा र पूर्णरूपमा उनीहरूको जीवन दिए भने पनि, त्यसले केही सहायता पुन्याउँदैनथ्यो, किनभने उद्धारक हाम्रै वंशबाट आउनुपर्थ्यो हाम्रै मासुको मासु र हाडको हाडबाट । ख्रीष्ट हाम्रो नातेदार उद्धारक हुनलाई उहाँ हाम्रो नातेदार हुनैपर्थ्यो ।
तसर्थ, हाम्रो उद्धारक पूर्णरूपमा मानिस हुनुहुन्थ्यो, तर उहाँ मानिस मात्र पनि हुनुहुन्नथ्यो । उहाँ हरेक अर्थमा, हरेक दृष्टिकोणमा र अपवादविना परमेश्वर पनि हुन आवश्यक थियो। हामी यस आवश्यकताको सबै कारणहरू दिन सक्दैनौं, तर पनि हामी यसको तीन कारणहरू विचार गर्नेछौं। पहिलो, केवल परमेश्वर मात्र उद्धारक हुनुहुन्छ र उहाँले यो ओहदा कसैसँग पनि बाँड्नुहुन्न । यशैया अगमवक्ताद्वारा परमेश्वरले उद्धार उहाँको विशेषाधिकार हो भनी घोषणा गर्नुभयो, ‘म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन (यशैया ४३:११) । त्यसैले, यदि ख्रीष्ट हाम्रो उद्धारक हुनुहुन्छ भने, उहाँ परमेश्वर हुनुपर्छ। यदि उहाँ परमेश्वर हुनुहुन्न भने, उहाँ हाम्रो उद्धारक पनि हुनुहुन्न, र हामी अझै पनि पापमा हराएका हुन्छौँ र सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौं ।
दोस्रो, उद्धारको कामको परिणामले ईश्वरत्त्वको माग गर्यो । शुन्यताबाट नै सबै थोक सृष्टि गर्नलाई हाम्रो कल्पनाभन्दा बाहिरको प्रतिभा र शक्तिको आवश्यकता पर्छ, तर पनि यो कुरा हाम्रो उद्धारको तुलनामा केही होइन । शुन्यताबाट नै यस संसारलाई सृष्टि गर्न परमेश्वरको लागि कुनै परिश्रम वा बलिदानको खाँचो परेन । उहाँले कुनै शक्ति खर्चिनुभएन, र काम पूरा भएपछि कुनै थकान पनि अनुभव गर्नुभएन । उहाँले जे गर्नुभयो, सबै परिश्रमविना नै गर्नुभयो । अपूरो कामलाई पूरा गर्न नभएर सृष्टि भएको थोकमा आनन्दित हुन सातौं दिनमा उहाँले विश्राम लिनुभयो-उहाँले केवल वचनद्वारा नै शुन्यताबाट असल र सुन्दर नयाँ संसार सृष्टि गर्नुभयो ।
तर, क्रूसमा, ईश्वरले महान् बलिदान गर्नुभयो, जहाँ शरीरमा देहधारी सृष्टिकर्ता प्रयोग हुनुभयो र खर्चिनुभयो । ईश्वरले धेरै परिश्रम गर्नुभयो र मोल तिर्नको लागि स्वर्ग नै टाट पल्टियो । परमेश्वरले बाहेक कसले त्यस्तो काम गर्न सक्छ ? परमेश्वर बाहेक कसले त्यस्तो मोल तिर्न सक्छ ? हाम्रो व्यवस्था भङ्गको पापले सारा संसार र त्यसमा भएका सबै थोकको मोलभन्दा पनि परको भुक्तानीको माग गर्यो । ईश्वरीय न्यायको अघि सराफको फौजको मृत्युले पनि हाम्रो गन्तव्यलाई सुधार्न सक्दैन थियो। व्यवस्थाको श्राप र सजायबाट हामीलाई छुट्याउन असीमित मूल्य भएको व्यक्तिको बलिदानको खाँचो थियो । यदि ख्रीष्ट पूर्णरूपमा ईश्वर नहुनुभएको भए, उहाँले त्यस्तो मूल्य तिर्न सक्नुहुन्न थियो ।
तेस्रो, हाम्रो पूर्ण भ्रष्टताले ईश्वरीय उद्धारकर्ताको माग गर्यो । यसले यो प्रमाणित गर्छ, कि हामीलाई मानवीय समाधान वा कुनै नैतिक निर्देशनभन्दा बढी नै केही कुरा चाहिन्छ । हामीलाई परमेश्वर चाहिन्छ। यदि कसैले उसको उद्धार परमेश्वर बाहेक अरू व्यक्तिद्वारा हुन सक्छ भनी सोच्छ भने, उसलाई आफ्नो भ्रष्टता र व्यवस्था भङ्गको गहिराइको ज्ञान छैन। ऊ आफ्नो पापको अँध्यारो वास्तविकताप्रति अन्धो छ र उसको अन्तस्करणमा भएका कुराप्रति बहिरो छ । उसलाई दुष्ट स्वभावको रोग लागेको छ, जुन परमेश्वरले बाहेक कसैले निको पार्न सक्दैन, किनकि उहाँको निम्ति कुनै कुरा असम्भव छैन।
यदि हामी इमानदार भएर आफूलाई मूल्याङ्कन गर्छौँ भने, हाम्रो भित्री सोचहरू, लुकेका कामहरू, र गोप्यमा बोलिएका शब्दहरूलाई लिएर हामी नम्र र लज्जित हुन्छौं । हामीले सुसमाचारको भयलाई तब मात्र जान्नेछौं, जब हामी हाम्रो अपराध निष्पक्ष मानव न्यायाधीश वा न्यायसभा अगाडि दोषमुक्त हुन सक्दैन भनी महसुस गर्छौँ। यदि हामीले इतिहासलाई नजरअन्दाज गर्नु वा परिवर्तन गर्नुको साटो हाम्रा पुर्खाहरूले गरेका पापहरू स्वीकार्न थाल्यौ भने ती पापहरूलाई हामीले अझ जटिल तरिकाले निरन्तरता दिइरहेकाछौं भन्ने महसुस गर्नेछौ। यदि हामीले पनि आफ्नो चाप्लुसी गर्न एकअर्काको अपूर्ण क्षमताको प्रशंसा गर्न छोड्यौ भने, हाम्रो आशा माकुराको जालो जस्तै कमजोर जगमा बसालिएको रहेछ भनेर हामीले बुझ्न सक्नेछौं। यदि हामीले मृत्यु र चिहान हामीलाई लिन आउँदैछ भनी स्वीकार गछौँ भने, हामीलाई बचाउन र हाम्रो संसारलाई ठिक बनाउनको लागि मानव महात्माको नैतिक शिक्षाभन्दा बढी नै चाहिन्छ भन्ने कुरा हामीलाई थाहा हुने थियो । हाम्रो उद्धारको मोल तिर्न हामीलाई परमेश्वर नै चाहिन्छ, जसको विरुद्धमा हामीले पाप गरेका छौं। हामीलाई बनाउनुहुने परमेश्वरले नै हामीलाई फेरि नयाँ सृष्टि बनाउनुपर्छ ।
ओह, सारा संसारले आफूलाई धर्मशास्त्रको चश्माबाट हेरेर न्युटन र प्रेरित पावलको मानवशास्त्रलाई अपनाए त हुनेथियो, जसले आफूलाई परमेश्वरको उद्धार र परिवर्तन गर्ने अनुग्रहबिना नैतिक रूपमा भ्रष्ट देखे। तब मानिसहरूले देख्नेछन् कि ख्रीष्ट पूर्ण अर्थमा परमेश्वर नभएसम्म उहाँसँग तिनीहरूलाई उद्धार गर्न पर्याप्त योग्यता वा शक्ति हुनेछैन ।
उहाँ को हुनुहुन्छ भनी तपाईं भन्नुहुन्छ ?
येशूले आफ्नो सेवकाइको दौरानमा आफ्ना चेलाहरूलाई सोध्नुभयो, ‘मानिसहरूले म को हुँ भनी भन्छन् ? यस प्रश्नको प्रतिक्रिया स्वरूप, प्रेरित पत्रुसले यस्तो घोषणा गर्छन्, ‘तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र’ (मत्ती १६:१३-१७) । यसबाट हामी यो बुझ्न सक्छौं, कि येशूले सिद्धयाउनु भएको कामलाई सही तरिकाले बुझ्नु र विश्वास गर्नु महत्त्वपूर्ण भए तापनि, उहाँ को हुनुहुन्थ्यो र हुनुहुन्छ भन्ने पनि सही तरिकाले बुझ्नु र विश्वास गर्नु आवश्यक छ । यस सत्यता र १ यूहन्ना ४ अध्यायको सारलाई जोड्दा यो निष्कर्ष आउँछ, कि यदि हामीले मानव येशूलाई ख्रीष्ट र देहधारी परमेश्वरको रूपमा विश्वास गर्दैनौं भने, हामी ख्रीष्टियान होइनौं ।
साँचो चर्च परिपक्व र अपरिपक्व, विद्वान्हरू र व्यापारीहरू, शिक्षकहरू र विद्यार्थीहरू सबै प्रकारका विश्वासीहरूले भरिएको हुन्छ । कोही व्यक्तिहरू अरूहरूभन्दा ख्रीष्टको व्यक्ति सम्बन्धी महान् सत्यताहरूमा बढी जानकार हुन्छन् र ती सत्यताहरूलाई व्याख्या गर्न निपुण हुन्छन् । तर, परमेश्वरका मानिसहरूमध्ये सबैभन्दा कमजोर व्यक्तिले पनि येशू इतिहासकै अद्धितीय व्यक्ति हुनुहुन्छ, जो परमेश्वरको अनन्त पुत्र हुनुहुन्छ, र उहाँ देहधारी हुनुभयो र हाम्रा बिचमा वास गर्नुभयो भन्ने सत्यतालाई बुझेका हुन्छन्, किनकि नयाँ करारका प्रतिज्ञाहरूमध्ये एक र नयाँ जन्मको परिणाम यो हो, कि सानादेखि ठुला सबै परमेश्वरका मानिसहरूलाई परमेश्वरको बारेमा सिकाइनेछ र उनीहरूले उहाँलाई चिन्नेछन् ।
ख्रीष्टियानमत बाहेक अन्य प्रत्येक धर्म र आफूलाई ख्रीष्टियानको रूपमा दाबी गर्ने अतिवादी समूहलाई एउटा चिन्हले छुट्टयाउँछ, कि उनीहरूले ख्रीष्टको व्यक्ति सम्बन्धी केही कुरालाई इन्कार गर्छन् । तर, परमेश्वरले त्यस्तो किसिमको भुटा शिक्षाहरूलाई उहाँका मानिसहरूमा रहन दिनुहुन्न । संसारको सबैभन्दा दुर्गम ठाउँमा भएका विश्वासीले पनि स्पष्ट र दृढ रूपमा ख्रीष्ट परमेश्वर र मानिस दुवै हुनुहुन्छ भनी बुझेका हुन्छन् । उनीहरूले कसरी एक व्यक्तिमा दुई स्वभावहरू एकैचोटी अस्तित्वमा आउन सक्छ भनी स्पष्टसँग व्याख्या गर्न नसके तापनि, उनीहरूलाई थाहा छ कि येशू पूर्णरूपमा मानिस र पूर्णरूपमा परमेश्वर हुनुहुन्छ र योभन्दा फरक शिक्षा सिकाउनेलाई उनीहरूले इन्कार गर्छन् ।
यस अध्ययनलाई टुङ्ग्याउनु अघि, हामीले हाम्रो ध्यान आफैमाथि केन्द्रित गर्नुपर्छ र उपयुक्त अनुप्रयोग ल्याउनुपर्छः ख्रीष्टको बारेमा तपाईं के सोच्नुहुन्छ र उहाँको बारेमा तपाईं के भन्नुहुन्छ ? यदि तपाईंले उहाँको ईश्वरत्व र मानवत्वलाई बुझ्नुभयो र उहाँलाई उच्च आदर दिनुभयो भने मात्र, तपाईंसँग मुक्तिको निश्चयता हुनेछ ।
हामीले ख्रीष्टको बारेमा हाम्रो क्षमताभन्दा बढी उच्च विचार राख्न वा प्रशंसा गर्न सक्दैनौं। तर, ख्रीष्टलाई विश्वास गर्ने र आफैलाई ख्रीष्टियान भनी दाबी गर्नेहरूलाई ख्रीष्टप्रतिको उनीहरूको नीच विचारले धोखा दिइएको छ । उनीहरूले उहाँको ईश्वरत्व र मानवत्व दुवैलाई स्वीकार गरे तापनि, उहाँप्रतिको उनीहरूको चरित्र बेपरवाह हुन्छ र बोली असभ्य हुन्छ । यदि हामीलाई ख्रीष्ट साधारण लाग्छ भने, हामी सावधान हुनुपर्छ। यदि उहाँप्रति हाम्रो कुनै डर वा श्रद्धा छैन भने, हामी हाम्रो प्राणलाई लिएर चिन्तित हुनुपर्छ ।
यदि कुनै व्यक्तिले ख्रीष्टको बारेमा धर्मशास्त्र विपरित सोच राख्छ भने, उसलाई परमेश्वरको बारेमा सिकाइएको छ भन्ने कुराको प्रमाण थोरै नै हुन्छ । यदि ख्रीष्टको बारेमा भएको महान् सत्यताले कुनै व्यक्तिलाई प्रेम, श्रद्धा र व्यावहारिक ईश्वरभक्तिमा प्रेरित गर्दैन भने, ऊ पवित्र आत्माद्वारा नयाँ गरी जन्मिएको छ भन्ने कुराको प्रमाण हुँदैन । यो भनाइ पूर्णरूपमा विश्वासयोग्य र ग्रहणयोग्य छ, कि नयाँ जन्मले सधैं ख्रीष्टप्रति सही विचार राख्न र उहाँको आदर गर्न अगुवाइ गर्छ ।
-पावल वशर