सुसमाचारको अपरिहार्य विषयवस्तु

सुसमाचारको अपरिहार्य विषयवस्तु
सुसमाचार शब्द ख्रीष्टियान शब्दावलीमा प्रायः प्रयोग गरिने शब्दहरूमा पर्छ। तर पनि, यस शब्दको साँचो शक्तिको प्रदर्शन तब मात्र हुन्छ, जब हामी यसको बाइबलीय अर्थ बुझ्छौँ। एक अर्थमा सुसमाचार धर्मशास्त्रको पृष्ठ-पृष्ठमा भेटिन्छ, अर्को अर्थमा, यो एउटा बेग्लै किसिमको, विशेष सन्देश हो जुन परमेश्वरको पुत्र, येशू खीष्टको व्यक्ति र उहाँको छुटकाराको काममा केन्द्रित हुन्छ। यस अध्ययनमा म सुसमाचार शब्दलाई पछिल्लो अर्थमा प्रयोग गर्नेछु।
धर्मशास्त्रका पानाहरू भएर जाँदैगर्दा हामी यो बुझ्नेछौं, कि सुसमाचार धेरै सन्देशहरूमध्येको एक नभएर ती सबै सन्देशहरू माथिको एक मात्र सन्देश हो। यसलाई मानिस समक्ष परमेश्वरको सबैभन्दा महान् प्रकटीकरण, मुक्तिको लागि मानिसलाई दिइएको एउटै मात्र सन्देश, र ख्रीष्टियानलाई रूपान्तरण र परमेश्वरको स्वरूप र इच्छाअनुरूप बनाउने महान् माध्यमको रूपमा अध्ययन, मान र घोषणा गर्नुपर्छ ।
शब्दावलीहरूको परिभाषा
सुसमाचार शब्दको उत्पत्ति पुरानो अङ्ग्रेजी शब्द गडस्पेल (गड (असल) स्पेल [समाचार, कथा]) बाट भएको हो । लोकप्रिय रायको विपरीत, पुरानो अङ्ग्रेजी शब्द गडमा लामो ओ (0) प्रयोग भएको छ, जसले परमेश्वरलाई नभएर असल कुरालाई सङ्केत गर्दछ । यसको अर्थ “परमेश्वरको समाचार” नभएर “असल समाचार” भन्ने हुन्छ। नयाँ करारमा, सुसमाचार ग्रीक शब्द युआनगेलियन (यु[असल] + अग्गेलो [घोषणा गर्नु]) बाट अनुवादित भएर आएको हो। यसले असल समाचार, आनन्दित पार्ने समाचार, अथवा खुसीको समाचारलाई जनाउँछ । चर्चमा प्रयोग गरिने ल्याटिन भाषामा, सुसमाचारलाई बोना अन्नुनसियातियो (असल सूचना) वा बोनस नुन्तियुस (असल समाचार) भनेर अनुवाद गरिएको छ।
हामी यो अध्यायमा सुसमाचारका अपरिहार्य तत्त्वहरूलाई सङ्क्षेपमा हेर्नेछौँ, ताकि हामी हाम्रो अध्ययन आधारभूत परिभाषाका साथ सुरु गर्न सकौँ। तर, अगाडि बढ्नुअगि पाठकले एउटा परम सत्यता बुझ्नुपर्छः कि सुसमाचार भनेको असल खबर हो र यो असल खबरकै रूपमा घोषणा गरिनुपर्छ। सुसमाचारको बाइबलीय प्रस्तुतिले पाप, ईश्वरीय क्रोध, दोष, र मृत्युजस्ता गहन विषयवस्तुहरू सम्बोधन गरे तापनि, यी विषयवस्तु नै केन्द्र होइन, तर परमेश्वरबाटको अनुग्रह र मुक्तिः देखाउने एउटा माध्यम हुन् ।
नयाँ करारका दुईवटा खण्डले सुसमाचारको सन्देशका अन्तर्निहित भलाइ र आनन्दलाई एकदमै राम्रोसँग सारांशित गर्दछ । पहिलो खण्डलाई हामी लूका २:९-१० मा भेट्टाउँछौंः “प्रभुका एउटा स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू सारै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, ‘नडराओ, किनभने हेर, म तिमीहरूलाई ठूलो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ ।”‘
पवित्र परमेश्वर चाहे किन दूतकै स्वरूपमा पापी मानिसकहाँ नजिकिनु नहोस्, त्यहाँ डराउने कारण हुन्छ । परमेश्वर शान्तिसाथ आउनुभएको छ, कि न्यायको तरवारका साथ ? जब शमूएल अगमवक्ता बेथलेहेम गए, “शहरका धर्मगुरुहरूले तिनलाई भेट्दा थर्थराए। तिनीहरूले सोधे, ‘तपाई शान्तिसाथ आउनुभयो ?” (१ शमूएल १६:४-५) । यदि त्यो सहरका अगुवाहरू तिनीहरूजस्तै मानिसको अगाडि यसरी डराए भने, परमेश्वरको दूतको सामु गोठालाहरूले महसुस गरेको डर हामी केवल कल्पना मात्र गर्न सक्छौँ। परमेश्वरबाटको दूत तिनीहरूका लागि “ठुलो आनन्दको सुसमाचार” लिएर आउनुभएको हो भन्ने सुन्दा तिनीहरूलाई कति राहत मिलेको थियो होला । सुसमाचारको सेवामा बोलाइएका हामी सबैले सधैं यो याद गर्नुपर्छ, कि हामी पनि यही “ठुलो आनन्दको सुसमाचार” का साथ पठाइएका छौं। पीडादायी र दर्दनाक गम्भीर विषयहरू सम्बोधन गर्नुपरे तापनि, हामीले पश्चात्ताप र विश्वास गर्ने सबैको सामु मुक्तिको प्रतिज्ञा पुऱ्याउनैपर्छ। हाम्रो सन्देश अस्वीकार गर्नेहरूका लागि मात्र निन्दनीय हुन्छ ।
सुसमाचारको भलाइ र आनन्दलाई शक्तिशाली तवरले व्यक्त गर्ने दोस्रो खण्ड रोमी १०:१५ मा पाइन्छ, जहाँ प्रेरित पावलले यशैया ५२:७ बाट उद्धृत गर्छन्ः “शान्तिको सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर [वा राम्रा] छन्।”
पहिले, यहाँ दोहोरिएको भाषालाई ध्यान दिनुहोस् । सही व्याकरणलाई ध्यानमा राख्दै सुसमाचारको भलाइलाई जोर दिन यशैया वा पावलको निम्ति निकै गाह्रो कुरा थियो। सुसमाचारलाई सबैभन्दा असल समाचारको रूपमा व्यक्त गर्न उनीहरूले भाषालाई त्यसको सीमासम्मै तन्काएका छन् । दोस्रो, सुन्दर वा राम्रा शब्दलाई ध्यान दिनुहोस्। सुसमाचार ग्रहण र विश्वास गर्ने हृदयको लागि यो यति असल समाचार हो, कि यसले सन्देशवाहकका कडा र फोहोर खुट्टालाई समेत “सुन्दर” वा “राम्रा” बनाउँछ ।
एक कैदीले आफ्नो मृत्युदण्डको केही क्षण अघि महसुस गर्ने डर र निराशालाई कल्पना गर्नुहोस् । तर, जब जल्लाद (फाँसी दिने मानिस) ले फाँसीको डोरी कस्दै गर्दा, एक जना सन्देशवाहक हतारिँदै आउँछ र यसरी चिच्याउँछ, “खुसीको खबर ! खुसीको खबर! राजाले माफी दिनुभएको छ!” त्यस सन्देशवाहक सडकको धुलोले पुरिएको र पसिनाले लुत्रुक्कै भिजेको भए तापनि, उसले ल्याएको सन्देशद्वारा ऊ सुन्दर हुन्छ र उक्त कैदीले उसलाई बिनासङ्कोच अँगाल्छ ।
अथवा एउटा सानो प्रान्तीय राज्यको कल्पना गर्नुहोस्, जसको सीमामा ठुलो सेना हत्या र लुटपाट गर्ने उद्देश्यले भेला भएको छ। यसरी आउँदै गरेको सेनाको सामाना गर्न राजाले आफ्नो सेना भेला गर्छन् । कुनै खबर नआउने हरेक दिनले सहरको विनाशको सुनिश्चितता दिन्छ। त्यसपछि, टाढाबाट एक जना सन्देशवाहक नजिक आउँछ। नगरवासीहरू आतङ्कित हुन्छन् । “के राजा र तिनका सबै सेना नाश भए ? के नगरसम्म मृत्युको सन्देश पुऱ्याउनको लागि एक जना मात्र उम्केको छ ?” जब आशाको सबै किरणहरू हराउँछ, तब अचानक सन्देशवाहकको आवाज गुन्जिन्छ : “असल खबर! असल खबर! राजा विजयी भएका छन्! शत्रु परास्त भएको छ! तपाईहरू बाँच्नुहुनेछ र मर्नुहुनेछैन!”
सन्देशवाहक युद्धको रगत र दुर्गन्धले मैलिएको हुन्छ, तर उसले ल्याएको सन्देशले उसलाई सुन्दर बनाइदिन्छ। अनि उसको स्वागत उमङ्गको चर्को स्वर र न्यानो अँगालोको साथ हुन्छ ।
परमेश्वरले उहाँको पुत्रको उद्धारको कामलाई वर्णन गर्न सुसमाचारभन्दा अर्को उत्तम शब्द प्रयोग गर्न सक्नुहुन्न । मृत्यु, नरक र चिहानमाथि विजय हासिल गरिएको छ, त्यसैले त्यस विजय र आफ्ना जनहरूका लागि जित्नुभएको मुक्तिको सुसमाचार घोषणा गर्न उहाँले आफ्ना सन्देशवाहकहरूलाई संसारको पल्लो छेउसम्मै पठाउनुहुन्छ ।
अपरिहार्य तत्त्वहरू
पुरानो र नयाँ दुवै करारभरि, पवित्र-धर्मशास्त्रमा सुसमाचारको विषयवस्तुबारे विभिन्न सारांश विवरणहरू समावेश गरिएको पाइन्छ। तीमध्ये केही महत्त्वपूर्ण विवरणहरू उत्पत्ति ३:१५; यशैया ५३:१-१२; यूहन्ना ३:१६-१७, रोमी ३:२५-२६; १ कोरिन्थी १५:३-४; र २ कोरिन्थी ५:२१ मा पाउन सकिन्छ। यस पुस्तकमा हामी यी खण्ड लगायत अरू खण्डहरूलाई गहिराइमा हेर्नेछौँ। तर, अहिले केवल परिचयको लागि म धर्मशास्त्रमा भएका सुसमाचारका मुख्य वा अपरिहार्य तत्त्वहरूलाई छोटकरीमा उल्लेख गर्नेछु।
परमेश्वरको चरित्र
परमेश्वर को हुनुहुन्छ भनेर नबुझिकन हामीले वास्तविकतालाई बुझ्न सक्दैनौँ । यसैले, हामी हितोपदेश ९:१० मा पढ्छौँ, “परमपवित्रको ज्ञान नै समझशक्ति हो ।” यो विशेष गरी येशू ख्रीष्टको सुसमाचारमा लागु हुन्छ । परमेश्वरको चरित्रको बारेमा अनभिज्ञ रहेर हामी सुसमाचारलाई सही रूपमा बुझ्न सक्दैनौँ। ख्रीष्ट किन मर्नैपर्छ ? किनभने परमेश्वर पवित्र र धार्मिक हुनुहुन्छ ।
खीष्ट किन मारिनुभयो ? किनकि परमेश्वर प्रेम हुनुहुन्छ । हामी दुवै प्रश्नका जवाफ परमेश्वरको चरित्रमा पाउँछौं।
मानिसको सबैभन्दा ठुलो समस्या पाप हो भनी अक्सर भन्ने गरिन्छ। यो भनाइ गलत छैन, तर पूर्ण पनि छैन। परमेश्वर अनैतिक वा नैतिकताहीन हुनु भएको भए, उहाँसँगको सङ्गतिमा पाप बाधा बन्ने थिएन । पाप समस्याजनक छ, किनकि परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ । वास्तवमा, सम्पूर्ण सुसमाचार दोषीलाई सजायको माग गर्ने परमेश्वरको धार्मिकतालाई (प्रस्थान ३४:७) दुष्टको मृत्युमा नरमाउने परमेश्वरको कृपासँग (इजकिएल १८:२३; ३३:११) मिलाप गराउने बारेमा हो । कृपा देखाउँदा देखाउँदै परमेश्वरले कसरी दुष्टलाई सजाय दिनुहुन्छ ? उहाँ कसरी प्रेम र न्यायी दुवै बन्न सक्नुहुन्छ ? यस प्रश्नको जवाफ केवल ख्रीष्टको व्यक्ति र काममा भेट्टाउन सकिन्छ, जसले उहाँका मानिसहरूको पाप बोक्नुभयो, तिनीहरूको सट्टामा परमेश्वरको क्रोध सहनुभयो र तिनीहरूको विरुद्धमा भएको परमेश्वरको न्यायको मागलाई सन्तुष्ट पार्नुभयो। यो नै सुसमाचारको मुटु हो, तर यसलाई परमेश्वरको चरित्रको प्रकाशको ज्योतिमा मात्र बुझ्न सकिन्छ।
मानिसको भ्रष्टता
सुसमाचारलाई राम्ररी बुझ्न, हामीले मानिसको नैतिक भ्रष्टता र परमेश्वर विरुद्धको निरन्तर विद्रोहसम्बन्धी धर्मशास्त्रको गवाहीलाई पनि बुझ्न र स्वीकार गर्न आवश्यक हुन्छ । आदम इमागो डेई, अर्थात् परमेश्वरको स्वरूपमा बनाइएको थियो (उत्पति १:२७) । तथापि, परमेश्वर विरुद्धको उसको विद्रोह र सुरुको धार्मिकताको अवस्थाबाटको पतनले फलस्वरूप मानवजातिको पतन भयो र भौतिक ब्रह्माण्डमा भ्रष्टता ल्यायो (रोमी ५:१२; ८:२०-२२)।
मानवजातिमा परमेश्वरको स्वरूपको केही भाग रहे तापनि (याकूब ३:९), तिनीहरूमा आदमको दोष र उसको नैतिक भ्रष्टता रहन्छ, र उसको विद्रोहमा स्वेच्छाले सहभागी हुन्छन् (उत्पत्ति ५:३; ८:२१; रोमी ३:१०-२३; एफिसी २:१-३; ४:१७-१९) । त्यसैले, मानवजाति परमेश्वरको सङ्गतिबाट अलग र उहाँको धार्मिक क्रोध मुनि छ (यूहन्ना ३:३६; रोमी १:१८) । हाम्रो पक्षबाट परमेश्वरसँगको पुनर्मिलाप पूर्ण रूपमा असम्भव छ, तर “मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ (लूका १८:२७) ।” उहाँले आफ्नो पुत्रको मृत्यु र पुनरुत्थानद्वारा उद्धार प्रदान गर्नुभएको छ ।
येशू ख्रीष्टको सुसमाचारले पापलाई नजरअन्दाज गर्दैन वा सानो बनाउँदैन, बरु यसको वास्तविक कुरूपता प्रकाशमा ल्याउँछ, र क्रूसमा त्यसको समाधान गर्छ (यशैया ५३:४-६, १०; १ पत्रुस २:२४; ३:१८) । यदि हामीले सुसमाचारको यो महत्त्वपूर्ण तथ्यलाई हटाउँछौँ या अवहेलना गछौँ भने, हामीले यसको विषयवस्तुलाई भ्रष्ट पार्नेछौँ, यसको शक्तिलाई निष्क्रिय पार्नेछौँ अनि आफैमाथि न्याय थुपार्नेछौँ (गलाती १:८-९)।
खीष्टको व्यक्ति र देहधारण अघिको महिमा
सुसमाचार भनेको पुत्र परमेश्वर देहधारी हुनुभएको (यूहन्ना १:१), पापी मानिसको बिचमा वास गर्नुभएको (यूहन्ना १:१४), र उहाँका मानिसहरूको निम्ति कष्ट भोग्नुभएको र प्रतिस्थापनको मृत्यु मर्नुभएको (मत्ती २७:५०; मर्कुस १५:३७; लूका २३:४६; यूहन्ना १९:३०) ऐतिहासिक विवरण हो। यस अद्भुत कार्यलाई प्रायः होच्याइनु वा आफैलाई रित्त्याउनु भनिन्छ। तर, हामीले देहधारण अघिको पुत्रको महिमालाई पहिले बुझेनौँ भने, यी शब्दहरूले पुत्रको विनम्रताको (उपेक्षा वा त्यागको) महानतालाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैन । कलवरीमा कष्ट भोग्नुहुने र मर्नुहुने, न एक साधारण मानिस हुनुहुन्थ्यो, न एक प्रधान दूत, न त कुनै अर्धदेवता नै। तर, उहाँ त्यही परमधन्य हुनुहुन्थ्यो, जसलाई यशैयाले “उच्च र उच्च सिंहासनमा विराजमान हुनुभएको” देखे र “उहाँको वस्त्रको छेउले (स्वर्गीय] मन्दिरलाई ढाकेको थियो,” र जसलाई सराफहरूले घेरेका थिए, र आफ्नो मुख ढाकेका सराफहरूले यसो भन्दै पुकारे, “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ!” (यशैया ६:१-३; अनि यूहन्ना १२:४१ हेर्नुहोस्) ।
एउटा मानिसले अर्को मानिसको निम्ति जीवन दिनु महान् कुरा हो। तर, सम्पूर्ण ब्रह्माण्डका सृष्टिकर्ता र पालनकर्ता परमेश्वरको पुत्रले पापी मानिसको निम्ति आफ्नो जीवन दिनु भनेको बुझ्नै नसकिने कुरा हो। रोमी ५:७-८ मा पावल यसरी तर्क गर्छन्, “धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला । तर परमेश्वरले हाम्रा निम्ति आफ्नो प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।” जति धेरै हामी पुत्रको असीम, अनन्त महिमालाई बुझ्छौँ, त्यति नै धेरै हामी उहाँले भोग्नुभएको अपमानको महानतालाई बुझ्छौं र उहाँलाई झन् बढ्ता आदर दिन्छौं। अनि मात्र हामी चार्ल्स वेस्लीका शब्दहरू हृदयदेखि गाउन सक्छौं, “अचम्मको प्रेम! हे मेरो परमेश्वर, तपाई मेरो लागि मर्नु कसरी सम्भव भो ?”
ख्रीष्टको देहधारण
देहधारण शब्दले परमेश्वरको पुत्र पवित्र आत्माको शक्तिद्वारा कन्या मरियमको कोखमा गर्भधारण हुनुभएको (लूका १:३५) र परमेश्वर-मानिस, नासरतका येशू जन्मनुभएको कुरालाई जनाउँछ । देहधारणमा, अनन्तको पुत्र साँचो अर्थमा मानिस बन्नुभयो, तैपनि उहाँ पूर्ण रूपमा परमेश्वर रहनुभयो। जसै प्रेरित पावल भन्छन्, “किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ” (कलस्सी २:९) । देहधारण सुसमाचारको एकदमै महत्त्वपूर्ण सिद्धान्त र यसको महानतम महिमाको भण्डार हो। एकातर्फ, ख्रीष्ट मानिस हुनु जरुरी थियो। मानिसले पाप गरेको छ र ऊ मर्नैपर्छ। जुन स्वरूपमा अपराध गरिएको छ, त्यही स्वरूपमा बलि चढाइनुपर्छ, “किनकि साढे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ” (हिब्रू १०:४) ।
अर्कोतर्फ, खीष्ट परमेश्वर हन् जरुरी थियो। एउटा साधारण मानिस, वा स्वर्गदत, वा कुनै अर्धदेवता पर्याप्त हुँदैनथ्यो । असीम मोल र सिद्ध अन्तर्निहित धार्मिकता भएको बलिको खाँच थियो जुन मूल्य र धार्मिकता परमेश्वरसँग मात्र हुन्छ । त्यसैले, पावल गवाही दिन्छन्, कि ख्रीष्टमा परमेश्वरले “उहाँको आफ्नै रगतले” (प्रेरित २०:२८) चर्चलाई किन्नुभयो, र “स्वयम् खीष्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो” (२ कोरिन्थी ५:१९) । देहधारणमा भएको महिमालाई बुझ्न अनन्त अनन्त लाग्नेछ, तर पनि योभन्दा महान् र उत्तम काम अरू कुनै छैन। जति धेरै हामी परमेश्वर मानिस बन्नुको अर्थ के हो र त्यस मानिस इम्मानुएल (परमेश्वर हामीसँग) हुनुको अर्थ के हो भन्ने बुझ्दै जान्छौं, त्यति धेरै हाम्रो भक्ती गहिरो हुनेछ, हाम्रो आज्ञाकारिता पूर्ण र स्थिर हुनेछ, र त्यति नै धेरै हाम्रो घोषणा र आराधना जीवन्त हुनेछन् ।
ख्रीष्टको सिद्ध आज्ञाकारिता
धेरै ईश्वरशास्त्रीहरूले खीष्टको सिद्ध आज्ञाकारितालाई उहाँको सबैभन्दा महान् आश्चर्यकर्मको रूपमा हेरेका छन्, तर पनि यसलाई सुसमाचारको अत्यावश्यक सिद्धान्तको रूपमा नजरअन्दाज गरिएको छ । ख्रीष्टको सिद्ध आज्ञाकारिता अधर्मीहरूको पापको निम्ति मर्न मात्र आवश्यक थिएन, तर अनाज्ञाकारीहरूमाथि उहाँको सिद्ध जीवन खन्याउनका निम्ति पनि जरुरी थियो। भजनसंग्रह १५:१ मा भजनकार प्रश्न गर्छन्, “हे परमप्रभु, तपाईको पवित्रस्थानमा कसले वास गर्न पाउँछ ? तपाईको पवित्र पर्वतमा को बस्न पाउँछ?” पद दुईमा यसको जवाफ पनि दिइएको छः “त्यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीकठीक काम गर्छ, र हृदयबाट सत्य बोल्छ।” फेरि, भजनसंग्रह २४:३ मा पनि त्यही प्रश्न गरिएको छः “परमप्रभुको डाँडामा को उक्लन सक्छ ? र उहाँको पवित्रस्थानमा को उभिन सक्छ ?” पद ४ मा फेरि एउटै जवाफ भेटिन्छः “त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, र जसले झूटो कुरा माथि शपथ खाएको छैन।”
परमेश्वरका मानिसहरू उहाँसामु पूर्ण रूपमा स्वीकारिएको अवस्थामा खडा हुनको लागि पाप क्षमा वा नयाँ सुरुवात मात्र पर्याप्त हुँदैन। हामीसँग सिद्ध धार्मिकता हुनुपर्छ – पूर्ण रूपमा परमेश्वरको स्वरूप र इच्छा अनुरूप जिएको प्रमाण। तर, यो कसरी प्राप्त गर्ने ? धर्मशास्त्रले गवाही दिन्छ, कि “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०) अनि “हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझै छन्” (यशैया ६४:६)। खीष्टले आफ्नो सिद्ध जीवन हाम्रा पापको प्रायश्चितको निम्ति बलिको रूपमा दिनुभयो भन्ने मात्र असल समाचार होइन, तर असल समाचार यो पनि हो, कि हामीले विश्वास गरेको क्षण उहाँको सिद्ध जीवन हामीमा खन्याइयो। हामी जो व्यक्तिगत धार्मिकतामा नाङ्गा थियौँ, अब ख्रीष्टको सिद्ध धार्मिकताले पहिरिएका छौं। जसरी प्रेरित पावलले लेखेका छन्, “हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रै खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१), अनि फेरि “[ख्रीष्टलाई] नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो” (१ कोरिन्थी १:३०) । उहाँ नै “परमप्रभु हाम्रो धार्मिकता” (यर्मिया २३:६) हुनुहुन्छ ।
ख्रीष्टको मृत्यु
ख्रीष्टको मृत्यु सुसमाचारको अपरिहार्य तत्त्वहरूमध्ये सबैभन्दा अपरिहार्य तत्त्व हो। यद्यपि, ख्रीष्ट मर्नुभयो भनी विश्वास र प्रचार गर्नु मात्र पर्याप्त हुँदैन; हामीले धर्मशास्त्रमा प्रकट गरिएअनुसार, उहाँको मृत्युको उद्देश्य र अर्थ बुझ्न र स्वीकार गर्न जरुरी हुन्छ। यो इन्कार गर्न नसकिने ऐतिहासिक तथ्य हो, कि नासरतका येशू पन्तियस पिलातको अधीनमा यरूशलेम सहर बाहिर मर्नुभयो। तर पनि, हामीसँग तब मात्र बाइबलीय विश्वास हुन्छ, जब हामी उहाँको मृत्युको प्रतिस्थापनीय स्वरूप र उद्धारको उद्देश्य बुझ्छौँ। खीष्ट सहीद भएर मर्नुभएको थिएन, न त उहाँको मृत्यु, ईश्वरीय प्रेमको दाबी, वा चेलाहरूले अनुकरण गर्नुपर्ने उदाहरण मात्र थियो। खीष्ट उहाँका मानिसहरूको निम्ति, उहाँका मानिसहरूको साटोमा, उहाँका मानिसहरूको ठाउँमा, अनि उहाँका मानिसहरूको प्रतिस्थापनको रूपमा मर्नुभयो ।
कलवरीमा उहाँले हाम्रा पापहरू बोक्नुभयो, हाम्रो विरुद्धमा दन्केको परमेश्वरको क्रोध सहनुभयो, र व्यवस्थाअनुसार मृत्युदण्ड पाउनुभयो। यसरी, उहाँले हाम्रो विरुद्ध उभिएको परमेश्वरको धार्मिकताको मागलाई सन्तुष्ट पार्नुभयो, परमेश्वरको क्रोध शान्त पार्नुभयो, अनि परमेश्वरको धार्मिकताको अलिकति पनि उल्लङ्घन नगरी हाम्रो पापको क्षमादान सम्भव तुल्याउनुभयो । ख्रीष्टले क्रूसमा अतुलनीय शारीरिक कष्ट सहनुभयो। तर, हाम्रो मुक्ति केवल ती पिठ्यूँका चोटहरू, उहाँको शिरमा भएको काँडाको मुकुट, र उहाँको हात र पाउमा ठोकिएका काँटीले मात्र खरिद गरेको होइन । हामी केवल मानिसहरूले ख्रीष्टलाई जे गरे, त्यसको कारणले मात्र बाँचेका होइनौं, हामी परमेश्वर पिताले आफ्ना एकलौटे पुत्रलाई जे गर्नुभयो, त्यसको कारण बाँचेका हौं। उहाँले हाम्रो पाप ख्रीष्टमाथि खन्याउनुभयो अनि उहाँलाई दोषीलाई झैँ व्यवहार गर्नुभयो (यशैया ५३:६; २ कोरिन्थी ५:२१)।
पिताले ख्रीष्टबाट उहाँको अनुग्रही उपस्थिति हटाउनुभयो (मत्ती २७:४६) अनि हामीमाथि आउनुपर्ने ईश्वरीय क्रोध उहाँमाथि राख्नुभयो। जसरी यशैया अगमवक्ताले यसलाई वर्णन गरेका थिए, “तरै पनि उसलाई चोटैचोट पार्नु परमप्रभुलाई इच्छा लाग्यो, उहाँले उसलाई कष्टमा पार्नुभयो; जब तपाईले उसको प्राणलाई पापबलि तुल्याउनुहुन्छ” (यशैया ५३:१० टिबिएस)। ख्रीष्टको मृत्युको विषयमा मानिस वा स्वर्गदूतका कुनै पनि मनगढन्ते कुरा मान्नु भनेको सुसमाचारलाई इन्कार गर्नु हो र आफैलाई अनन्त दण्डका लागि दोषी ठहराउनु हो। गलाती १:८-९ मा पावलले स्पष्टसँग यसरी जोर दिन्छन्ः “तर हामीले प्रचार गरेको सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस् । हामीले अघि नै भने जस्तै म फेरि अहिले पनि भन्छु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस् ।” यसैकारण यस पुस्तकको अधिकांश विषयवस्तुहरू ख्रीष्टको मृत्युलाई प्रस्तुत गर्न र व्याख्या गर्नमा केन्द्रित छ । हाम्रो लक्ष्य विशेष दईवटा छन्ः पहिलो, “सन्तहरूलाई सदाकालका निम्ति सम्पिएको विश्वास” मा हामी दरिला हनसकौँ (यहूदा ३), र दोस्रो, कलवरीको सबैभन्दा मधुर स्वरले पनि हाम्रो ठूलो प्रेमलाई उजागर गरोस, अनि हामीलाई खीष्टप्रतिको इमानदार र साँचो भक्तिको निम्ति प्रेरित गरोस् ।
ख्रीष्टको पुनरुत्थान
खीष्टको मृत्युमाथि विश्वास गर्नु अनि यसलाई बाइबलीय रूपमा प्रचार गर्नु मात्र पर्याप्त छैन। तर, जुन शरीरमा मर्नुभयो, त्यही शरीरमा उहाँ तेस्रो दिनमा बौरिउठ्नुभयो भनेर पनि हामीले विश्वास गर्नुपर्छ र प्रचार गर्नुपर्छ (यूहन्ना २०:२७)। यो सत्यता सुसमाचार र ख्रीष्टियान विश्वासका लागि अत्यन्तै जरुरी छ। यसको लागि कुनै सम्झौताको ठाउँ नै छैन। यदि ख्रीष्ट मृतकबाट जीवित हुनुभएको थिएन भने, सम्पूर्ण ख्रीष्टियानमत एउटा झुट मात्र हो। प्रेरित पावल लेख्छन्, “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भने त हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ… र ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्नै पापमा नै छौ” (१ कोरिन्थी १५:१४, १७)। यसैकारण प्रेरितको पुस्तकको मुख्य विषयवस्तु नै ख्रीष्टको पुनरुत्थानको घोषणा हो। नासरतका येशू नाम गरिएको मानिसलाई यरूशलेमको द्वारबाहिर क्रूसमाथि टाँगिएर मारिएको कुरा प्रेरितीय युगका सबै मानिसहरूलाई राम्रोसँग थाहा थियो, तर उहाँको मृत्यु परमेश्वरको उद्धारको सबैभन्दा महान् कार्य थियो भन्ने कुराको प्रमाण उहाँको पुनरुत्थानको ऐतिहासिक तथ्यमा आधारित थियो, जसलाई सुरुका ख्रीष्टियानहरूले गिल्ला र जोखिमको बिचमा पनि विश्वास र घोषणा गरे।
धर्मशास्त्रअनुसार, येशू ख्रीष्टको पुनरुत्थान उहाँको पुत्रत्वसम्बन्धी परमेश्वरको सार्वजनिक घोषणा (रोमी १:४), हाम्रो धर्मिकरणको पुष्टि (४:२५), हाम्रो विश्वासको प्रमाण (१ कोरिन्थी १५:१३-१४), भविष्यमा हुने हाम्रो पुनरुत्थानको प्रतिज्ञा (यूहन्ना १४:१९), र परमेश्वरले सबै मानिसलाई न्याय गर्नुहुनेछ भन्ने कुराको प्रमाण (प्रेरित १७:३१) हो।
ख्रीष्टको शारीरिक पुनरुत्थानको पूर्ण आवश्यकतामाथि धर्मशास्त्रले दिएको विशेष जोरको प्रकाशमा, आफैलाई ख्रीष्टियानमतसँग जोड्नेहरूले पनि यसलाई बारम्बार इन्कार वा “संसोधन” गर्छन् भन्ने कुरा आश्चर्यजनक छ। यद्यपि, यदि हामी प्रेरितीय सुसमाचारमा विश्वासयोग्य रहन चाहन्छौं भने, हामीले कलवरीमा भएको ख्रीष्टको प्रतिस्थापनको मृत्यु र मृतकबाट भएको उहाँको शारीरिक पुनरुत्थानको घोषणा गर्नैपर्छ। यसलाई घटाउनु भनेको सुसमाचारको परिवर्तन गर्नु मात्र होइन, तर त्यसलाई ठाडै अस्वीकार गर्नु हो !
ख्रीष्ट उच्च पारिनुभयो
धर्मशास्त्रले केवल खीष्ट मारिनुभयो, गाडिनुभयो र बौरिउठ्नुभयो भनेर मात्र सिकाउँदैन, तर पुनरुत्थान भएको चालिस दिनपछि उहाँ स्वर्गारोहण हुनुभयो र पिताको दाहिने बाहुलीमा विराजमान हुनुभयो भनेर पनि सिकाउँछ । हिब्रूका लेखकका अनुसार, “पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च्च स्थानमा उहाँ विराजमान हुनुभयो” (१:३)। प्रेरित पावल लेख्छन्, “उहाँले (अर्थात् परमेश्वरले] खीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो । सबै शासन, र अधिकार, र शक्ति र राज्यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाम छन्, ती सबैमाथि उहाँलाई राख्नुभयो” (एफिसी १:२०-२१) र “परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाम प्रदान गर्नुभयो, जो हरेक नामभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएका हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताको महिमाका निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ” (फिलिप्पी २:९-११)।
मसीहको विषयमा भएको पुरानो करारको अगमवाणीहरू पनि यी प्रेरितीय आह्वानसँग मेल खान्छन् । परमेश्वरले भजनकारद्वारा घोषणा गर्नुभयो, “मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नै राजालाई नियुक्त गरेको छु” (भजनसंग्रह २:६) र यशैयाद्वारा पनि, “महान्-हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लुटेको माल सामर्थीहरूसँग बाँड्नेछ” (यशैया ५३:१२)। दानिएल अगमवक्ता झन् प्रष्ट छन्ः “उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्व अनन्तसम्म रहिरहने प्रभुत्व छ, जुन कहिल्यै टल्नेछैन, र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुने छैन” (दानिएल ७:१४) ।
परमेश्वरको पुत्र, जो मनुष्य भएर जन्मनुभयो र क्रूसको मृत्युसम्म आज्ञाकारी रहनुभयो (फिलिप्पी २:७-८), उहाँ अहिले सार्वभौम प्रभु, सबैका न्यायकर्ता र उहाँका मानिसहरूको मुक्तिदाता र मध्यस्थकर्ताको रूपमा उच्च पारिनुभएको छ। ख्रीष्टको मृत्यु र पुनरुत्थानसँगै यस महान् सत्यताले प्रेरितहरूको प्रचारमा प्रमुख स्थान ओगटेको थियो, र हाम्रो प्रचारमा पनि यसले समान स्थान ओगट्नुपर्छ । परमेश्वरले सियोनमा आफ्नो राजा नियुक्त गरिसक्नुभएको छ। उहाँले जातिहरूलाई उहाँको उत्तराधिकारी र सम्पूर्ण पृथ्वीलाई उहाँको निजी सम्पत्ति तुल्याइदिनुभएको छ। अझ, परमेश्वरले उहाँलाई सबै थोकमाथि पूर्ण सार्वभौमसत्ता दिनुभएको छ (भजनसंग्रह २:६-९) । यसर्थ, सुसमाचारीय सन्देशले सबैलाई मुक्तिको सित्तैंको प्रस्ताव मात्र राख्दैन, तर तिनीहरूलाई गम्भीर चेतावनी पनि दिन्छ, चाहे त्यो सर्वोच्च राजाहरू नै किन नहुन्, या पृथ्वीका जातिहरू नैः “यसकारण हे राजा हो, बुद्धिमान बन। हे पृथ्वीका शासक हो, सावधान बन। भय मानेर परमप्रभुको सेवा गर, र कम्पसाथ आनन्द मनाउ। पुत्रलाई चुम्बन गर, नत्र उहाँ रिसाउनहुनेछ, र तिमीहरू बाटोमै नष्ट हुनेछौ, किनभने उहाँको क्रोध चाँडै दन्कन्छ। ती सबै धन्य छन्, जो उहाँको शरणमा पर्छन्” (भजनसंग्रह २:१०-१२)।
ख्रीष्टको पुनरागमन
धर्मशास्त्रअनुसार, मानव इतिहास क्रमबद्ध छ जसको एक निश्चित र उद्देश्यपूर्ण सुरुवात र अन्त्य छ। सृष्टिको पहिलो दिनदेखि नै परमेश्वरले प्रत्येक मानिस र घटनालाई एउटा विशेष समापन, वा चरमोत्कर्ष हाम्रा प्रभु र मुक्तिदाता येशू खीष्टको दोस्रो आगमन, संसारको न्याय, र नयाँ आकाश र पृथ्वीको स्थापनातर्फ निर्देशित गरिरहनुभएको छ । सुसमाचारको हाम्रो घोषणामा यस महान् सत्यतालाई विशेष स्थान दिनुको उद्देश्य दुईवटा छ।
पहिलो विश्वासीहरूलाई विश्वासमा स्थिर रहन र वर्तमान समयका सीमाहरूले बुझ्न नसक्ने भावी अनुग्रह र महिमाको आशामा जिउनलाई प्रेरणा दिन “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका” (१ कोरिन्थी २:९)।
दोस्रो, अविश्वासीहरूलाई सावधान गराउनु। हामीले सधैं याद गर्नुपर्छ, कि सुसमाचारको सही घोषणाले सबै मानिसहरूलाई तिनीहरूका परमेश्वरसित भेट्न आह्वान गर्छ (आमोस ४:१२)। प्रेरित पावलले मार्स हिलमा दार्शनिकहरूमाझ यस्तो घोषणा गरेः “[परमेश्वरले] एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जनाद्वारा धर्मिकतामा संसारको न्याय गर्नुहुनेछ । उहाँलाई मृतकबाट जीवित पारेर परमेश्वरले सबै मानिसलाई यसका लागि प्रमाण दिनुभएको छ” (प्रेरित १७:३१)।
दोस्रो आगमन विवादले भरिएको सिद्धान्त हो। कसैका लागि, त्यो मुक्तिको दिन हुनेछ- “अवर्णनीय र गौरवमय आनन्द” को दिन (१ पत्रुस १:८) । तर, कसैको लागि, त्यो विनाशको दिन हुनेछ, जहाँ उनीहरू गुफा र चट्टानभित्र लुक्नेछन् ।” [उनीहरूले] पहाडहरू र चट्टानहरूलाई भन्नेछन्, हामीमाथि खस, र सिंहासनमा बिराजमान हुनुहुनेको मुखबाट, र थुमाको क्रोधबाट हामीलाई लूकाओ। किनभने उहाँको क्रोधको ठूलो दिन आएको छ, र यसअघि को उभिन सक्छ?” (प्रकाश ६:१६-१७) । यसैकारण, सुसमाचारको सन्देशवाहक पनि एक प्रकारले विवादास्पद नै हुन्छ । विश्वास गर्नेहरूका लागि यो “जीवनको सुगन्ध” हो भने, विश्वास नगर्नेहरूका लागि यो “मृत्युको दुर्गन्ध” हो। यही गम्भीर वास्तविकताले प्रेरित पावललाई यसरी पुकार्ने बनायो, “यी कुराका निम्ति को योग्य छ ?” (२ कोरिन्थी २:१६)।
केवल सुसमाचारमा मात्र उद्धारको शक्ति छ (रोमी १:१६) भन्ने थाहा गर्दा, के हामीले यी कुराहरू मनन गर्नु, र आफैलाई यिनीहरूमा समर्पित गर्नुपर्दैन, ताकि तिम्रो प्रगति सबैकहाँ देखा परोस् ? (१ तिमोथी ४:१५) । के हामीले “शर्माउन नपर्ने र सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दुर प्रयास” गर्नुपर्दैन (२ तिमोथी २:१५) १
पश्चात्ताप र विश्वासको लागि आह्वान
सुसमाचारको सन्देश तबसम्म पूर्ण हुँदैन, जबसम्म सबै मानिसहरूलाई उनीहरूको पापबाट पश्चात्ताप गर्न र येशू ख्रीष्टको व्यक्ति र काममा भरोसा राख्न आह्वान गरिँदैन। मर्कुसको सुसमाचारमा हामीलाई येशूको सेवकाइको पहिलो विवरण दिएको छ। मर्कुस लेख्छन्, “येशू परमेश्वरको सुसमाचार प्रचार गर्दै गालीलमा आउनुभयो र भन्नुभयो, ‘समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आएको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर” (मर्कुस १:१४-१५)।
एथेन्सका दार्शनिकहरू सामु प्रेरित पावलले यसरी घोषणा गरे, ‘यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्न आज्ञा दिनुहुन्छ” (प्रेरित १७:३०) । एफिसीमा भएको चर्चलाई पावलले भने, “तपाईहरूको लाभहुने कुरा तपाईहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू खीष्टमाथि विश्वास राख्नू भन्ने कुराको गवाही मैले दिएको छु” (प्रेरित २०:२०-२१)।
सुसमाचारको यी दुई पक्षीय बोलावटलाई चर्च इतिहासकै उत्कृष्ट विश्वासको स्वीकारहरूमा पनि दाबी गरिएको पाइन्छ । वेस्टमिन्स्टर विश्वासको स्वीकारले भन्छ, ‘जीवनमा प्रवेश गराउने पश्चात्ताप सुसमाचारद्वारा प्राप्त अनुग्रह हो, जुन सिद्धान्तलाई ख्रीष्टमाथिको भरोसालाई जस्तै सुसमाचारको प्रत्येक सेवकले प्रचार गर्नुपर्छ।” त्यसैगरी, न्यू ह्याम्प्सर विश्वासको स्वीकारले भन्छ, “हामी विश्वास गर्छौँ, कि पश्चात्ताप र विश्वास पवित्र अनि छुट्याउन नसकिने कर्तव्य हुन् ।”
सुसमाचार प्रचार केवल सूचना सञ्चार गर्नु मात्र होइन। यो मानिसहरूलाई पश्चात्ताप र ख्रीष्टमाथिको विश्वासद्वारा अनन्तको विनाशबाट बच्नलाई गरिएको गम्भीर र जरुरी आह्वान हो । यस सत्यतालाई सबैभन्दा उत्कृष्ट तरिकाले प्रेरित पावलको प्रचारमा चित्रण गरिएको छ, जसले कोरिन्थीको चर्चलाई यी शब्दहरू लेखेः “यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं, र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ” (२ कोरिन्थी ५:२०)।
-पावल वशर