पुनरुत्थान

पुनरुत्थान
यो बाइबलको गवाही हो, कि ख्रीष्ट आफ्ना जनहरुको पापको लागि मर्नु मात्र भएन, तर तेस्रो दिनमा उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियानमतको आधारभूत जग हो। यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता, हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरुको विश्वास पनि व्यर्थ हुन्छ १ कोरिन्थी १५ः१४ । वास्तवमा ख्रीष्टको पुनरुत्थान एउटा ऐतिहासिक तथ्य भएको कारण यसले उहाँले हाम्रो पक्षमा दाबी गर्नुभएका सबै कुरालाई प्रमाणित गर्दछ।
पुनरुत्थान येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुराको प्रमाण हो। यूहन्ना २ः१८–१९ मा, यहूदीहरुका अगुवाहरुले येशूसँग परमेश्वरको मन्दिर शुद्ध पार्ने अधिकार छ भने एउटा चिन्ह देखाउन माग गरे। येशूले तिनिहरुलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र, म तीन दिनमा यसलाई खडा गर्नेछु।” रोमी १ः४ मा पावलले “येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरुबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो” भनी लेखे। यसको अर्थ येशू पुनरुत्थानको समयमा पुत्र हुनुभयो भन्ने होइन, तर पुनरुत्थान येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने पिताको प्रमाणीकरण थियो।
पुनरुत्थान परमेश्वरले ख्रीष्टको मृत्युलाई हाम्रो पापको पूर्ण भुक्तानिको रुपमा स्वीकार्नुभयो भन्ने कुराको प्रमाण हो। रोमी ४ः२५ ले भन्छ, कि ख्रीष्ट “हाम्रा अपराधहरुका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।” यस पदको अर्थ यही हुन्छ कि येशू ख्रीष्टको मृत्युले परमेश्वरको न्यायलाई सन्तुष्ट पारेको र विश्वासीहरुको निम्ति क्षमा र परमेश्वरको सामु धर्मी ठहरिएको (Justification) कुरा सुनिश्चित गरेको कारण परमेश्वरले येशू ख्रीष्टलाई जीवित पार्नुभयो।
पुनरुत्थान विश्वासीहरुको भविष्यमा हुने पुनरुत्थानको प्रमाण हो। यूहन्ना ११ः२५ मा येशूले तीनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।” यदि ख्रीष्ट चिहानमा नै रहनुभएको भए यो प्रतिज्ञा निरर्थक साबित हुने थियो। येशूले मृत्युमाथि पनि अधिकार गर्नुहुन्छ भन्ने कुरा उहाँको आफ्नै पुनरुत्थानले प्रमाणित गरिदियो। यसले उहाँमा विश्वास गर्ने सबैलाई पुनर्जीवित पार्ने शक्ति उहाँसँग छ भनेर प्रमाणित गर्दछ। १ कोरिन्थी ६ः१४ मा प्रेरित पावलले लेखेः “परमेश्वरले आफ्नै शक्तिले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।”
पुनरुत्थान संसारमा प्रभु र न्यायकर्ता हुनुहुन्छ भन्ने कुराको प्रमाण हो। बाइबलले हामीलाई यो सिकाउँछ, कि ख्रीष्ट जीवित मात्र हुनुभएन तर परमेश्वरले उहाँलाई सारा सृष्टिमाथि प्रभु र न्यायकर्ता हुन उचाल्नु पनि भयो। पुनरुत्थानपछि प्रचार गरिएको पहिलो प्रवचनमा प्रेरित पत्रुसले यहूदीहरुलाई घोषणा गरे, “यसकारण इस्राएलको सारा परिवारले यो पक्का गरि जानोस्, कि येशू, जसलाई तपाईंहरुले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो” प्रेरित २ः३६। प्रेरित पावलले पनि यो सत्यको घोषणा गरेः
त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ। कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ। फिलिप्पी २ः९–१०
परमेश्वरले प्रत्येक ठाउँमा सबै मानिसहरुलाई पश्चात्ताप गर्न आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरुलाई यसको प्रमाण दिनुभएको छ। प्रेरित १७ः३०–३१
पुनरुत्थानको सुसमाचारले ख्रीष्टियानमत केवल नियमहरुको सूची वा जीवनसम्बन्धी दर्शनशास्त्र मात्र होइन भनेर देखाउँछ। ख्रीष्टियानमत एक बहसको विषय वा मानिसले धारण गर्ने दृष्टिकोण मात्र होइन। ख्रीष्टियानमतको केन्द्रमा जीवित येशू ख्रीष्ट हुनुहुन्छ। प्रभु येशू आज आफ्नो वचनद्वारा, अर्थात् बाइबलबाट बोल्नुहुन्छ र पापीहरुलाई शक्तिशाली रुपमा बचाउनुहुन्छ। के तपाईंले उहाँलाई भेट्नुभएको छ? के उहाँले आफ्नो मृत्यु र पुनरुत्थानको महिमामय उपलब्धिद्वारा तपाईंलाई बचाउनुभएको छ?
-पावल वशर