
सुमाचारको शक्ति
मैले कलेजको पढाई पूरा गर्नु अघि, म र मेरा दुईजना मिल्ने साथीहरूले ख्यालख्यालमै पूर्वी टेक्सासको हाम्रो गृहनगरदेखि यल्लोस्टोन राष्ट्रिय निकुञ्ज हुँदै एउटा सडकयात्रामा निस्कने निर्णय गर्यौँ । त्यो अति नै रमाइलो यात्रा थियो, छिटै नै वयस्क अवस्थामा प्रवेश गर्न लागेका तीनजना केटाहरूका लागी यो लगभग वयस्क हुने
औपचारिक प्रक्रिया जस्तै थियो ।
तपाईंले अनुमान लगाउनु भयो होला, त्यो यात्रा पहाडहरू, तातो पानीका मूलहरू, तातो गन्धकका मुहानहरूका दृश्यले भरिएको थियो, र मूस भनिने एक प्रकारको हरिणजस्तो जनावर जताततै देखिन्थ्यो । एक बिहान, हामीले त्यो दिन पैदल हिँडेर बिताउने निधो गर्यौँ, र अझ रमाइलो होस् भनेर नक्सा नबोकी हिँड्ने कुरामा सहमत भयौँ । त्यो बाटोले कहाँसम्म पुर्याउँदा रहेछन् भनेर हामी जान्न चाहन्थ्यौँ । त्यसैले झोलामा केही खानेकुरा र आफ्नोआफ्नो मोबाइल फोन बोकेर हामी निस्कियौँ ।
त्यो एउटा लामो हिँडाइ थियो । केही बेरपछि हामीहरू यल्लोस्टोन राष्ट्रिय निकुञ्जमा आइपुग्यौँ भन्दै एकअर्कासँग ठट्टा गर्न थाल्यौँ । तर त्यो ठाउँ हामी हुर्केका पूर्वी टेक्सासका जङ्गलहरू भन्दा त्यति फरक देखिँदैनथ्यो । चारैतिरबाट ठूलाठूला सल्लाका रूखहरूले हामीलाई घेरेका थिए, अनि कहिलेकाहीँ बाटोमा भेटिने ससाना नदीनालाहरूलाई हामीले नाघ्दै हिँड्नुपर्याे । तर त्यहाँ हेर्नको लागी खासै केही थिएन र हाम्रो जोस अलिअलि सेलाउँदै गएको थियो ।
तर अचानक, हामीले ख्याल गर्नुभन्दा पहिला नै, जङ्गल नभएको एउटा खुला ठाउँ देखापर्यो र हामीले आफूहरूलाई यल्लोस्टोनको चर्चित घाटी ग्राण्ड क्यान्योनको किनारमा उभिइरहेको पायौँ । हामीभन्दा तल कोसौँ परसम्म, पृथ्वीमा गहिरो चिरा परेकोजस्तो त्यो भव्य घाटी तन्किएको थियो । त्यसको पिँधमा एउटा खोला
बगिरहेको थियो, सूर्यको प्रकाश त्यसमा परेकोले त्यो चम्किरहेको थियो । हामीभन्दा तलतिर चराहरू उडिरहेका थिए, अनि सायद, त्यो घाटीबाट भएर आएको हावाको तेज बहावले गर्दा होला, तल झुन्डिरहेका बादलहरू हामीमाथि बतासिदै थिए ।
त्यस क्षणमा, मभन्दा तल फैलिएको रिङ्गटा छुटाउने गहिराइलाई हेरिरहँदा अनि फेरि विशाल आकाशमा हेर्दा, मलाई आफू कति सूक्ष्म छु भन्ने अद्भूत आभाष भयो । केही समयका लागी, हामी तीनैजना पहिलो पटक निःशब्द भयौँ । त्यसपछि मेरो एकजना साथीले गाउन थाल्यो,
महान् ईश्वर बिचार्छु काम तपाईंको
अचम्मको जो सृष्टि गर्नुभो
ऊ राम्रो गायक थिएन परमेश्वरले उसलाई आशिष् दिनुभएको होस्, तर उसको हृदय पूर्णरूपमा सही थियो ! त्यसपछि केही मिनेटसम्म, अवाक् हुँदै त्यस यल्लोस्टोनको ग्राण्ड क्यान्योनको किनारमा उभिएर हामीले सर्वोत्कृष्ट सृष्टि गर्नुहुने परमेश्वरको प्रशंसा गर्यौँ ।
किन हामी यसलाई बेवास्ता गर्छौँ ?
मेरो बिचारमा, यदि हामीले सुसमाचारको विषयलाई पनि त्यसरी नै समय दिएर सोच्ने हो भने, हामीमाथि यसको उदेकको प्रभाव हुन्थ्यो होला । जीवनको सांसारिक उतारचढावहरूबाट नजर उठाएर परमेश्वरले सुसमाचारमा हाम्रो लागी गर्नुभएका ती सबै महान् कुराहरूसित तपाईं आमनेसामने हुनुभएको कति समय भयो होला ?
उहाँको विरुद्ध विद्रोह गरेका मानिसहरूप्रति उहाँले देखाउनुभएको अथाह कृपा, तिनीहरूको सट्टामा कष्ट भोग्न र मर्नको लागि आफ्नो पुत्रलाई पठाउने उहाँको उदेकको योजना, सिद्ध धार्मिकताको राज्यमाथि पुनर्जीवित हुनुभएका येशूको सिंहासन स्थापना, अनि उहाँको रगतद्वारा बचाइएका र उद्धार गरिएकाहरूलाई नयाँ स्वर्ग र नयाँ पृथ्वीमा ल्याउने काम जहाँ पाप दुष्टता सधैँको लागी पराजित भएको हुनेछ !
कसरी मैले सुसमाचारको त्यो सुन्दरता, शक्ति अनि व्यापकतालाई मेरो मस्तिष्कबाट बारम्बार त्यति लामो समयसम्म बाहिरै रहन दिएँ होला ? किन मेरा विचारहरू अनि मेरा भावनाहरूमाथि ती महिमामय सत्यहरू भन्दा प्रायः व्यर्थ कुराहरू नै बढी हाबी हुन्छन् ? जस्तै मेरो कार सफा छ कि छैन, अथवा सी.एन.एनमा अहिले के खबर आइरहेको होला वा आज मलाई खाना मनपर्छ कि पर्दैन ? किन प्रायः म आफ्नो जीवनको बारेमा सोच्दा वा जीवनलाई व्यवस्थित गर्दा, अनन्तको प्रकाशमा भएको जस्तो होइन तर पर्दाले ढाकेको जस्तो ठान्छु ? किन यो सुसमाचारले हरसमय हरतरिकामा मेरी श्रीमती अनि नानीहरू, मेरा सहकर्मीहरू, साथीहरू अनि मेरा चर्चका सदस्यहरूसँग मेरो सम्बन्धलाई गहिराइसम्मै पूर्णरूपमा ढाक्दैन ?
मलाई थाहा छ, किन ? किनभने म पापी हुँ र सांसारिकताले मेरो हृदयमा हलचल ल्याइरहनेछ र येशू फर्की नआएसम्म म विरुद्ध लडाइँ गरिरहनेछ । तर त्यतिन्जेलसम्म म त्यसको विरुद्ध लड्न चाहन्छु । म आत्मिकी आलस्यपन विरुद्ध लड्न चाहन्छु— यस संसारका लठ्ठै पार्ने कुराहरूको विरुद्धमा— म सुसमाचारलाई बेस्सरी अङ्गाल्न चाहन्छु अनि सबथोकमा— मेरा कामहरू, आशक्तिहरू, भावनाहरू, चाहनाहरू, विचारहरू अनि इच्छामा— यसको प्रभाव पर्न दिनेछु ।
म आशा गर्छु कि तपाईंले पनि त्यही चाहनुहुनेछ । र म आशा गर्छु, यो छोटो लेखले ती रूखहरूलाई थोरै भए पनि हटाउन सहायता गरेको छ जसले गर्दा हाम्रा खातिर परमेश्वरले येशूमा जे गर्नुभएको छ, त्यसको वैभव हामीले देख्न सक्नेछौँ । तर यसपछि के त ? येशूको सुसमाचारले हाम्रो जीवनमा कसरी प्रभाव पार्नुपर्छ भन्ने विषयमा मलाई केही कुराहरू उल्लेख गर्न दिनुहोस्— अरू लाखौँ कुराहरू पनि छन् तर म अहिले सबै उल्लेख गर्दिनँ ।
पश्चाताप गर्नुहोस् र विश्वास गर्नुहोस्
पहिलो यदि तपाईं ख्रीष्टियान हुनुहुन्न भने, यो लेखलाई यहाँसम्म पढ्नुभएको लागि धन्यवाद ! म प्रार्थना गर्छु कि सुसमाचार तपाईंको मनको गहिराइसम्मै पुग्न सकेको होस् । मेरो विचारमा, तपाईंको लागी “अब के” भन्ने प्रश्न खासमा सजिलो भएको छ । तपाईंले लाखौँ कुराहरू गर्नुपर्ने छैन । एउटा मात्र कुरा गर्नुपर्ने हुन्छ— तपाईंको पापको प्रायश्चित गर्नुहोस् र येशूमा विश्वास गर्नुहोस् । त्यसको अर्थ तपाईंको आत्मिकी दरिद्रतालाई चिन्नु हो, आफूलाई बचाउन नसक्ने तपाईंको पूर्ण असक्षमतालाई स्वीकार गर्नु हो, र क्षमा गरिन अनि परमेश्वरको अघि सही साबित हुनका लागी एकमात्र विकल्प येशूकहाँ आउनु हो ।
ख्रीष्टियान हुनु कुनै कठिन प्रक्रिया होइन । अब कमाउनु पर्ने कुरा केही पनि छैन, तपाईंलाई चाहिने सबै कुरा येशूले कमाइ सक्नुभएको छ । सुसमाचारले तपाईंलाई तपाईंको हृदय पापबाट हटाएर विश्वासमा येशूतर्फ फर्काउन लगाउँछ— विश्वास र भरोसा गर्नको लागि। उहाँकहाँ आउनका लागि यसले तपाईंलाई बोलाउँछ र यसो भन्न
अनुरोध गर्दछ, “म जान्दछु कि म आफूलाई बचाउन सक्दिनँ, त्यसैले येशू, तपाईंले नै मलाई बचाउनुहुन्छ भन्ने विश्वास मैले लिएको छु ।”
त्यसपश्चात् पूरै संसार तपाईंको सामु खुला हुन्छ । तर पापको प्रायश्चित र येशूमाथि विश्वास गर्नाले मात्र ती सबै कुराहरूको सुरुआत हुन्छ ।
विश्राम गर्नुहोस् र आनन्द मनाउनुहोस्
यदि तपाईं ख्रीष्टियान हुनुहुन्छ भने, सबैभन्दा पहिलो कुरा, सुसमाचारले तपाईंलाई येशू ख्रीष्टमा विश्राम गर्न र तपाईंको लागी उहाँले ल्याउनुभएको अतुलनीय मुक्तिमा आनन्द मनाउन आह्वान गर्दछ । येशूको कारणले, र विश्वासद्वारा म उहाँसित एकतामा छु भन्ने मलाई थाहा भएको कारण, मेरो मुक्ति कुनै प्रकारले पनि नाजुक र क्षणिक छ भन्ने सोच राख्ने परीक्षाको विरुद्ध म लड्न सक्छु । म जान्दछु कि म येशूको हुँ र कसैले पनि मलाई उहाँको हातबाट खोस्न सक्दैन । किनभने सुसमाचारले मलाई बताएको छ कि परमेश्वरको अघि मेरो धर्मी उपस्थिति कुनै आत्मिकी चिठ्ठाको कार्डमा चिह्न लगाउनुमा आधारित छैन । चाहिनेजति फलहरू ? छन् । शान्त समय ? छ । आत्मिकी वार्तालाप ? छ, छ, छ ! हो ! आज म साँच्चै बाँचेको महसुस गर्दैछु !
सुसमाचारले येशूको बारेमा बताउने कुराको अगाडि यो कुरा कस्तो हाँसोउठ्दो देखिन्छ ! परमेश्वरलाई धन्यवाद, उहाँसँगको मेरो सम्बन्ध मेरो कमजोर इच्छामा वा धर्मी भएर जिउने मेरो क्षमतामा अडिएको छैन । अहँ, परमेश्वरले पहिले नै ममाथि उहाँको फैसला सुनाई सक्नुभएको छ, र त्यो हो “क्षमा !” अर्को कुरा, त्यो फैसला कहिल्यै पनि परिवर्तन हुनेछैन किनभने त्यो सधैँको लागि केवल येशूमा आधारित छ— मेरो सट्टामा क्रूसमा उहाँको मृत्यु र परमेश्वरको सिंहासन अघि उहाँको मध्यस्थतामा आधारित छ ।
यदि तपाईं ख्रीष्टियान हुनुहुन्छ भने येशूको क्रूस तपाईंको जीवनमा एउटा स्फटिकको पहाडजस्तै खडा भएको छ, जसले परमेश्वरको प्रेम र उहाँको उपस्थितिमा तपाईंलाई सुरक्षासाथ ल्याउने उहाँको अठोटको अचल गवाही दिन्छ । यो रोमीको पुस्तकमा पावलले भनेझैँ हो— “यदि परमेश्वर हामीतर्फ हुनुहन्छ भने, हाम्रो विरुद्ध को हुन्छ ? जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैको निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र ?” (रोमी ८ः३१–३२) ।
ख्रीष्टका मानिसहरूलाई प्रेम गर्नुहोस्
ख्रीष्टियानहरू सुसमाचारले तपाईंलाई परमेश्वरका मानिसहरू अर्थात् चर्चप्रति साथै गहन र जीवित प्रेमतर्फ डोर्याउनुपर्छ । कुनै पनि ख्रीष्टियानले परमेश्वरले हाम्रो निम्ति राख्नुभएको उत्तराधिकारसम्म पुग्ने बाटो आफै आर्जन गरेका छैनन् । हामी राज्यको “स्वनिर्मित” नागरिक होइनौँ । हामी परमेश्वरको प्रतिज्ञामा यसकारण सामेल छौँ किनकि हामी उद्धारको लागी येशू ख्रीष्टमा निर्भर छौँ, र विश्वासद्वारा हामी उहाँसित एकतामा छौँ ।
तर अप्ठ्यारो कुरा यहाँनेर छ । त्यही कुरा तपाईंको चर्चका दाजुभाइ तथा दिदीबहिनीमा पनि लागू हुन्छ जसले तपाईंलाई चिढाउँछन् । ती व्यक्तिले पनि त्यही प्रभु येशूलाई विश्वास र प्रेम गर्दछन् जसलाई तपाईंले गर्नुहुन्छ, र तिनी पनि उही प्रभुबाट बचाइएका र क्षमा गरिएका छन् जसले तपाईंलाई बचाउनुभयो र क्षमा गर्नुभयो । त्यो दाजु वा बहिनीको बारेमा सोच्नुहोस् जसलाई बुझ्न तपाईंले त्यति समय दिनुभएको छैन, किनभने तपाईंलाई लाग्छ कि तपाईंहरूको बीचमा कुरा नै मिल्दैन । त्यो व्यक्तिको बारेमा सोच्नुहोस् जो सँग तपाईंको सम्बन्ध टुटेको छ र तपाईंले बिग्रेको सम्बन्ध सुधार्न इन्कार गर्नुभएको छ । अब मान्नुहोस् कि ती व्यक्तिले पनि तपाईंले प्रेम अनि विश्वास गर्ने परमेश्वरमा नै भरोसा गर्दछन् । याद गर्नुहोस् कि तपाईंको लागी मर्नुभएको येशू , उसको लागी पनि मर्नुभयो ।
म सोच्ने गर्छु, येशू ख्रीष्टको सुसमाचारबारे तपाईंको बुझाइ— तपाईं योग्य नभए पनि येशूले तपाईंलाई बचाउनुभयो भन्ने सुसमाचार— साँच्चै तपाईंका दाजुभाइ तथा दिदीबहिनीप्रति भएको सानो आलोचनालाई सहन सक्ने जति गहिरो छ कि छैन होला ? म सोच्ने गर्छु, तपाईं विरुद्ध तिनीहरूले गरेका अपराधहरू र सबैभन्दा पीडादायी अपमानहरू डुबाउन सक्ने जतिको गहिरो छ कि छैनहोला? र येशू स्वयम् ले तपाईंहरू दुवैको लागि गर्नु भएजस्तै तपाईंमा तिनीहरूलाई क्षमा गर्न र प्रेम गर्नतिर डोर्याउन सक्ने क्षमता छ कि छैन होला ?
म सोच्ने गर्छु, तपाईंप्रति परमेश्वरले गर्नुभएको अथाह प्रेमको कारण अरूहरूप्रति तपाईंको प्रेम वृद्धि भएको छ कि छैन होला ?
संसारलाई सुसमाचारको बारेमा बताउनुहोस्
त्यति मात्र होइन, परमेश्वरले तपाईंमा देखाउनुभएको अनुग्रहले आफ्नो वरिपरिको संसारलाई अझ प्रेम गर्न र मानिसहरूले येशूलाई चिनेको अनि येशूमा विश्वास गरेको देख्न तपाईंलाई आतुर बनाएको छ कि छैन होला ? यदि परमेश्वरले देखाउनुभएको कृपालाई हामी साँच्चै बुझ्छौँ भने, त्यो कृपा अरूमाथि देख्नका लागि हाम्रा हृदयहरू जल्नेछन् ।
उहाँको पुनरुत्थानपछि, येशू आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो र तिनीहरूलाई यसो भन्नुभयोः “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाता र पाप–क्षमाको प्रचार हुनुपर्छ ।”— आफ्नो लागि मानिसहरूलाई बचाउने परमेश्वरको महान् योजना चेलाहरूको अगाडि स्पष्ट रूपमा राखिएको छ । अनि फेरि, आश्चार्यजनक रूपमा, येशूले यो कुरा थप्नुभयो— “तिमीहरू यी नै कुराका साक्षी हौ” (लूका २४ः४६–४८) । म जहिले पनि यही कल्पना गर्छु कि जब चेलाहरूले त्यो कुरा सुने, तिनीहरूको अनुहारबाट रङ्ग उडेको हुनुपर्छ ! परमेश्वरको उद्देश्य संसारको उद्धारभन्दा कत्ति पनि कम थिएन र यहाँ येशू तिनीहरूलाई भन्दै हुनुहुन्थ्यो कि त्यो उद्देश्य तिनीहरूद्वारा पूरा हुनेछ !
मलाई तपाईंको बारेमा त थाहा छैन, तर त्यो बिचारले मलाई अति नै अपर्याप्त महसुस गराउँछ । परमेश्वरले आफ्ना उद्देश्यहरूलाई यस संसारमा हामी मार्फत पूरा गर्न चाहनुहुन्छ ? कति अद्भूत कुरा ! यदि तपाईं अयोग्य र असक्षम महसुस गर्नुहुन्छ भने, म तपाईंलाई केही उत्साह दिन चाहन्छु । तपाईं अयोग्य हुनुहुन्छ, र तपाईं निश्चित रूपमा असक्षम हुनुहुन्छ ! कस्तो लाग्यो त प्रोत्साहन ? आफैँलाई हेरौँ— कमजोर, दुर्बल मानवजाति जो अझैपनि हरेक दिन पाप विरुद्ध सङ्घर्ष गरिरहन्छ । र पनि येशू हामीलाई भन्नुहुन्छ, “तिमीहरू मेरा गवाही हुनेछौ”। हाम्रो सुसमाचार घोषणाद्वारा नै— चाहे त्यो प्रचारद्वारा होस् वा शिक्षणद्वारा, परिवारका सदस्यहरूद्वारा होस् वा सहकर्मीहरूसँग खाना खाँदै गर्दा बातचितद्वारा— परमेश्वरले पापीहरूलाई बचाउने निर्णय गर्नुभएको छ ।
प्रेरित १० अध्यायमा किन कर्नेलीयससँग बोल्ने स्वर्गदूतले उसलाई सुसमाचारको बारेमा बताएनन् भनी तपाईंले कहिल्यै सोच्नुभएको छ ? किन कर्नेलीयसलाई त्यत्रो दुःख गरेर अर्कै सहरमा रहेका पत्रुसलाई बोलाउन अह्राए ? साँच्चै ती सबै कुरा भन्न सक्ने स्वर्गदूतले पक्कै पनि उसलाई सुसमचारबारे भन्न सक्थे ! तर होइन, परमेश्वरले निर्णय गर्नुभएको थियो कि उहाँका मानिसहरूबाट बोलिएका वचनद्वारा नै सुसमाचार फैलनेछ— अर्थात्, तिनीहरूको मुखबाट जसले आफैले येशूको बारेमा सुसमाचार ग्रहण गरेका थिए र उहाँबाट आउने क्षमालाई बुझेका थिए ।
यदि तपाईं ख्रीष्टियान हुनुहुन्छ भने, ख्याल गर्नुस् कि तपाईंले आफ्नो हातमा संसारले सुन्न सक्ने एक मात्र साँचो मुक्तिको सन्देश बोक्नुभएको छ । अब फेरि कहिल्यै पनि अर्को सुसमाचार हुनेछैन, अनि पापदेखि बच्नका लागि मानिसहरूसँग अरू कुनै उपाय हुनेछैन । यदि तपाईंका साथीसङ्गी, परिवार, र सहकर्मी उनीहरूका पापबाट बचाइन्छन् भने, कसैले उनीहरूलाई येशू ख्रीष्टको सुसमाचार बताएको कारण त्यो हुनेछ । त्यसकारण, येशूले हामीलाई सारा संसारमा गएर प्रचार गर्न र शिक्षा दिनका लागी नियुक्त गर्नुभएको छ । रोमी १० अध्यायमा पावलको आशय पनि यस्तै थियो, जब उनी प्रश्न गर्छन्, “जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने ? र प्रचारबिना तिनीहरूले कसरी सुन्ने ?” (पद १४) । ख्रीष्टियान भएकै कारण हामीले गर्न सक्ने राम्रा कुराहरू धेरै छन्, तर साँचो कुरा के हो भने ती राम्रा कामहरू अरू मानिसहरूद्वारा पनि हुनेछन् जो ख्रीष्टियान होइनन् । तर ख्रीष्टियानहरू येशूको सुसमाचार घोषणा गर्नदेखि चुक्यो भने त्यो अरू कसले गर्छ ? कोही पनि छैन ।
त्यसैले सुसमाचारका सत्यताहरूलाई तपाईंको हृदय छेड्न दिनुहोस् अनि येशूलाई नचिन्नेहरूका लागि त्यसलाई तोड्न पनि दिनुहोस् । तपाईंका साथीसङ्गी, परिवार र सहकर्मीहरू येशू ख्रीष्टबिना धर्मी न्यायाधीश परमेश्वरको अघि उभिँदा के हुनेछ भनी कल्पना गर्नुहोस् । याद गर्नुहोस्, परमेश्वरको कृपाले तपाईंको आफ्नो जीवनमा के गरेको छ र कल्पना गर्नुहोस् उहाँले तिनीहरूको जीवनमा के गर्न सक्नुहुन्छ । त्यसपछि लामो सास लिनुहोस्, परमेश्वरको आत्मालाई काम गर्नको लागि प्रार्थना गर्नुहोस्, अनि आफ्नो मुख खोल्नुहोस् र बोल्नुहोस् !
उहाँको चाह गर्नु
अन्तमा, सुसमाचारले हामीलाई त्यसदिनको उत्कट चाहना गर्ने बनाउनुपर्छ जुन दिनमा हाम्रा राजा येशू सधैँका लागि आफ्नो राज्य स्थापना गर्न आउनुहुनेछ । त्यो चाह परमेश्वरको राज्यमा जिइरहेका कारण मात्र पैदा भएको होइन; दुष्टता पराजित भएको र न्यायको शासन भएको संसारमा हामी बस्नेछौँ भनेर मात्र पनि हामी येशूको पुनरागमनको चाह गर्दैनौँ ।
ती सबै उदेकका प्रतिज्ञाहरू हुन्, तर ती पनि पर्याप्त छैनन् । यदि हामीले सुसमाचारलाई सही ढङ्गमा बुझेका छौँ भने, हामी राज्यको लागि त्यति चाहना गर्दैनौँ जति राजाको लागि गर्दछौँ । सुसमाचारले हामीलाई उहाँलाई चिन्ने, प्रेम गर्ने र उहाँको उत्कट चाह गर्ने बनाएको छ । “म इच्छा गर्छु कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्” येशूले भन्नुभयो (यूहन्ना १७ः२४) । र हामी पनि उहाँसँग रहने करोडौँ अन्य मानिसहरूसँग उहाँको आराधना गर्ने इच्छा गर्दछौँ ।
प्रकाशको पुस्तकमा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार गर्नुभएको अद्भूत दर्शन पाइन्छ । त्यो एउटा सङ्केत मात्र हो, तैपनि उद्धार गरिएकाहरूले येशू ख्रीष्टको आराधना गरिरहेको त्यो चित्रमा तपाईंले त्यो विजय, आनन्द, विश्राम अनि पूर्णताको गहिरो आभाष पाउनुहुनेछ ।
“यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो
हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट
थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई
सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें । तिनीहरू
उच्च सोरले, कराए “सिंहासनमा विराजमान हुनुहुने हाम्रा
परमेश्वर र थुमामा मुक्ति छ !” (प्रकाश ७ः९–१०) ।
त्यो त्यही दिन हो, जसको चाह गर्न सुसमाचारले हामीलाई डोर्याउँछ। हामी परीक्षाहरू, सतावटहरू, लालसाहरू, व्याकुलताहरू, उदासीनता र संसारको शिथिलताबाट गुज्रिएर सङ्घर्ष गर्दा, सुसमाचारले स्वर्गतिर औँल्याउँछ, जहाँ हाम्रा राजा— येशू हाम्रो सट्टामा क्रूसमा टाँगिएका र मृतकहरूबाट महिमित रूपमा बौरी उठाइएका परमेश्वरका थुमा— अहिले हाम्रो पक्षमा मध्यस्थता गर्दै हुनुहुन्छ । त्यति मात्र होइन, यसले हामीलाई त्यस अन्तिम दिनतिर पनि औँल्याउँछ, जहाँ क्रूसमा टाँगिएका उद्धारक र बौरी उठेका राजाको रूपमा उहाँलाई जयजयकार गर्ने पाप क्षमा पाएका करोडौँ मानिसहरूको स्वरले स्वर्ग गुन्जायमान हुनेछ ।
– ग्रेग गिल्बर्ट