
परमेश्वर धर्मी सृष्टिकर्ता
म तपाईंलाई कुनै देवतासँग परिचय गराउँछु ।
भित्र जानुभन्दा अघि तपाईंले आफ्नो स्वर अलि सानो पार्नुपर्छ होला । अहिले उनी सुतिरहेका होलान् । उनी वृद्ध छन् र यो तडकभडकयुक्त आधुनिक संसारलाई त्यति बुझ्दैनन् वा भनौँ मन पराउँदैनन् । उनी आफ्ना सुनौला दिनहरूको बारेमा कुरा गर्छन्— उनी हामी जन्मिनुभन्दा पहिले, लामो समयदेखि नै थिए । त्यो यस्तो समय थियो जब मानिसहरू उनले कुन विषयमा के सोच्छन् भनेर चासो राख्दथे, अनि उनी मानिसहरूका निम्ति निक्कै महत्वपूर्ण थिए ।
साँच्चै, अहिले त्यो सबै परिवर्तन भएको छ र बिचरा देवता कहिल्यै पनि राम्ररी घुलमिल हुन सकेनन् । जीवन अगाडि बढिसक्यो र उनलाई उछिनेर गइसक्यो । अहिले, उनी आफ्नो धेरैजसो समय पछाडिको बगैँचामा बिताउँछन् । म कहिलेकाहीँ उनलाई भेट्न जान्छु र फूलबारी छेउछाउमा हिँड्दै, सुस्तरी, कोमलतासाथ कुरा गर्दै समय कटाउँछु…
जे भएपनि, धेरै मानिसहरूले उनलाई अझै पनि मन पराउँछन् जस्तो देखिन्छ वा भनौँ उनी आफ्नो लोकप्रियतालाई कायम राख्न सफल छन् । कतिपय मानिसहरू भेट्नका लागि आउँछन् र कहिलेकाहीँ तिनीहरूले केके कुराहरू माग्छन् भन्ने कुरा थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला । तर उनलाई केही फरक पर्दैन । उनी सहायता गर्नको लागि तयार रहन्छन् ।
तपाईंले कहिलेकाहीँ उनको पुरानो किताबमा पढ्ने गरेको सन्किपना— जस्तैः पृथ्वीलाई मान्छे निल्न लगाउने, शहरहरूमा आगो बर्साउने खालका कुरा— यी सबै, उनको बुढ्यौलीमा हराउँदै गएकोजस्तो लाग्छ । अहिले त उनी एक असल स्वभावको, सहज साथीजस्ता छन् जोसँग कुरा गर्न एकदमै सजिलो हुन्छ— किनकि उनी कहिल्यै पनि जवाफ फर्काउँदैनन्, फर्काए पनि अनौठो “चिन्ह” हरू मार्फत फर्काउँछन् र मैले केही भनिहाले पनि उनलाई कुनै आपत्ति हुँदैन । असल खालको साथी, होइन त ?
उसको सबैभन्दा राम्रो कुरा के हो थाहा छ ? उनले मेरो इन्साफ गर्दैनन् । कुनैपनि कुराको इन्साफ गर्दैनन् । मलाई थाहा छ, भित्रभित्रै उनी चाहन्छन् कि म अझ राम्रो बनूँ – बढी स्नेही, कम स्वार्थी र अझ असल— तर उनी यथार्थवादी छन् । म मानव हुँ र कोही पनि सिद्ध छैन भनी उसलाई थाहा छ । अनि मलाई लाग्छ, निश्चय नै उनी त्यस कुरासँग सन्तुष्ट छन् । त्यसमाथि, मानिसहरूलाई क्षमा गर्नु उनको काम नै हो । उनले गर्ने नै त्यही हो । आखिरमा, उनी प्रेम हुन्, होइन त ? र म प्रेमलाई “कहिल्यै इन्साफ नगर्ने र क्षमा मात्र गर्ने” रूपमा सोच्न चाहन्छु । मैले चिनेको देवता यही हो । र मलाई अरू कुनै किसिमको देवता चाहिँदैन ।
ठीक छ, एक सेकेन्ड रोकिनुस्…हामी भित्र जान सक्छौँ । चिन्ता नलिनोस्, धेरैबेर बस्नु पर्दैन । साँच्चै । हामीले जेजति समय दिए तापनि त्यसका लागि उनी आभारी छन् ।
परमेश्वरको बारेमा धारणाहरू
हो, यो सानो कथा अलि हास्यास्पद छ । तर म सोच्दैछु, धेरै मानिसहरू अर्थात् आफूलाई ख्रीष्टियान भन्नेहरू समेतले परमेश्वरको बारेमा राखेको सोच योभन्दा कत्ति भिन्न होला र ? प्रायजसोले उहाँको बारेमा यसरी सोच्छन्— उहाँ दयालु, मिलनसार, अलि अचम्मित र खाँचोमा परेको दयालु हजुरबुवा जस्तो हुनुहुन्छ जोसँग इच्छाहरू छन् तर मागहरू छैनन्, जसलाई समय नभएको खण्डमा सजिलै नजरअन्दाज गर्न सकिन्छ; जसले मानवजातिले गल्ति गर्छन् भन्ने कुरा बुझिदिन्छन् ।
आफूलाई ख्रीष्टियान नभने तापनि कतिपय मानिसहरूमा परमेश्वर र उहाँको स्वभाववारे बाइबलीय शिक्षाको आधारभूत ज्ञान हुन्थ्यो । यो त मानिसहरूले सास फेर्ने वातावरणको एउटा पाटो जस्तै थियो, र – प्रेरितहरूले यहूदीहरूसँग गरेझैँ – तपाईंले मानिसहरू समक्ष सुसमाचार प्रस्तुत गर्नुहुँदा, उनीहरूले केकति जानेका छन्
भनेर अनुमान लगाउन सकिन्थ्यो ।
आजकल संसारका अधिकांश ठाउँहरूमा त्यस्तो हुँदैन । म पूर्वी टेक्सासमा रहेको सानो शहरमा हुर्किएँ, र मानिसहरूलाई सुसमाचार सुनाउँदा उनीहरूले हजार चोटी सुनिसकेका सन्देशलाई दोहोर्याएको जस्तो हुन्थ्यो । जब मैले न्यू ह्याभेन कनेक्टिकटमा कलेज पढ्न सुरु गरेँ, त्यहाँ भने पूरै अलग दुनियाँ थियो । अचानक, म
यस्ता मानिसहरूले घेरिएँ जुन मानिसहरू परमेश्वरको बारेमा सुनेर हुर्किएका थिएनन्, जसले यो विचारमा सुरुवातीदेखि नै मलाई चुनौती दिन्थ्यो । मलाई याद छ, पहिलो चोटी मैले परमेश्वरको बारेमा उल्लेख गर्दा “तिमी पक्कै पनि हामीसँग मजाक गरिरहेछौ । तिमी त्यस्तो विश्वास गर्छौ र ?” भन्दै तिनीहरू गललल हाँसे । त्यो घटना केही वर्षसम्म दर्जनौँपटक दोहोरियो, अनि मैले पछि गएर “हो, म गर्छु” भन्न सिकेँ । तर मैले छिट्टै यो पनि सिकेँ
कि मानिसहरूले परमेश्वरको बारेमा के सोच्छन् भनेर म अनुमान लगाउन सक्दिनँ । यदि आज म येशू ख्रीष्टको सुसमाचार घोषणा गर्न गइरहेको छु भने, मैले निक्कै अगाडिबाट सुरुवात गर्नुपर्छ– परमेश्वर स्वयम्बाट ।
पक्कै पनि, परमेश्वरले आफ्नो बारेमा हामीसमक्ष के प्रकट गर्नुभएको छ भनेर अध्ययन गर्दै तपाईंले आफ्नो पूरा जीवन बिताउन सक्नुहुन्छ (र साँच्चै बिताउनु !), अनि सुसमाचारलाई विश्वासिलो ढङ्गमा प्रस्तुत गर्नका लागि, तपाईंले परमेश्वरको बारेमा के जान्नुभएको छ भनी सम्पूर्ण कुरा भनिरहनु पर्दैन । तर परमेश्वरसम्बन्धी केही आधारभूत सत्यताहरू छन् जसलाई ख्रीष्टियानहरूले प्रचार गर्ने सुसमाचारमा कसरी प्रस्तुत गरिएको छ भनी बुझ्न आवश्यक छ । यहाँ दुईवटा मुख्य बुँदाहरू छन् जसलाई हामीले शुरुबाटै स्पष्ट पार्नुपर्छ— परमेश्वर सृष्टिकर्ता, पवित्र र धर्मी हुनुहुन्छ ।
सृष्टिकर्ता परमेश्वर
ख्रीष्टियान सन्देशको सुरुवात— वास्तवमा भन्ने हो भने ख्रीष्टियान बाइबलको सुरुवात— यही हो कि “परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो ।” सबैथोक त्यही विन्दुबाट सुरु हुन्छ, यदि तपाईंले यो कुरालाई ठीकसँग बुझ्नुभएन भने त्यसपछिका बाँकी सबै कुराहरू पनि गलत हुनेछन्, गलत निशाना लगाइएको धनुषबाट छोडिएको तीरजस्तै ।
उत्पत्तिको पुस्तक परमेश्वरले संसार सृष्टि गर्नुभएको घटनाबाट सुरु हुन्छ— यसका पहाडहरू अनि उपत्यकाहरू, जनावरहरू अनि माछाहरू, चराहरू अनि सरीसृपहरू, सबैथोक । परमेश्वरले बाँकी रहेको सम्पूर्ण जगतलाई पनि सृष्टि गर्नुभयो— ताराहरू र चन्द्रमा, ग्रहहरू र तारापुञ्जहरू अर्थात् आकाशगंगाहरू । यी सबैथोक उहाँको
वचनद्वारा हुन आए, र यी सबै शून्यबाट हुन आए । अस्तित्वमा रहेको कुनै सामग्री लिएर माटोलाई आकार दिए जसरी, परमेश्वरले संसारमा भएका थोकहरूलाई आकार दिएकोले गर्दा यो हुन आएको होइन । उत्पत्तिको पुस्तकले हामीलाई भन्छ कि उहाँ बोल्नुभयो र त्यो अस्तित्वमा देखापर्यो। उहाँले भन्नुभयो “उज्यालो होस्” तब उज्यालो भयो ।
सृष्टिले परमेश्वरको महिमा र शक्तिको गवाही कसरी दिन्छ भनी बाइबलका खण्डहरूले हामीलाई बताउँछन् । “आकाशले परमेश्वरका महिमाको वर्णन गर्छु,” भजनसंग्रह १९ः१ ले भन्छ, “तारा– मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ ।” रोमी १ः२० मा पावल भन्छन् कि परमेश्वरको “अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै सबथोकहरूमा छर्लङ्गै देखिएको छ ।” यदि तपाईंले कुनै गहिरो छाँगाको छेउमा चराहरूलाई अचानक तल डुबुल्की मारिरहेको अनि बादललाई तपाईंको शिरमाथि मडारिरहेको देख्नुभएको छ भने, अथवा तपाईंले कुनै खेतमा उभिएर पर क्षितिजमा आँधीबेहरी मडारिरहेको हेरिरहँदा डरको तीव्र आभाष गर्नुभएको छ भने, त्यसको अर्थ के हुन्छ भनेर तपाईंलाई थाहा छ । सृष्टिको वैभवले मानिसको हृदयलाई बताउँछ कि “तिमी मात्र सबैथोक होइनौ !” उत्पत्तिमा सृष्टिको वर्णनलाई हेर्यौं भने प्रत्येक नयाँ दिनसँगै व्यापक र महत्वपूर्ण रूपमा विस्तार हुँदै जान्छ । पहिले उज्यालोको सृष्टि, त्यसपछि समुन्द्र, भूमि, चन्द्रमा र सूर्य, चराहरू, माछाहरू र जनावरहरू, र परमेश्वरको सृष्टिको अत्यन्त महत्वपूर्ण कार्यको रूपमा— नर र नारी ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा,हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू,आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्नेसबै जन्तुहरूमाथि अधिकार गरून् ।”
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै
स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै
प्रतिरूपमा उहाँले तिनलाई सृष्टि
गर्नुभयो । नर र नारी नै गरी उहाँले
तिनीहरूलाई सृष्टि गर्नुभयो”
(उत्पत्ति १ः२६–२७) ।
सृष्टिको बारेमा तपाईंले जे सोच्नु भए तापनि, परमेश्वरले संसार सृष्टि गर्नुभयो; विशेषगरी परमेश्वरले तपाईंलाई सृष्टि गर्नुभयो – भनी दाबी गरिनुको अर्थ ज्यादै असाधारण छ । संसार आफैँमा सिद्ध छैन, यो कसैको विचार, वचन वा हातबाट फुत्त हुन आयो भनी भन्दा आमूल परिवर्तनकारी विचार जस्तो लाग्छ । कैयौँ मानिसहरूको सोचाइमा प्रभुत्व जमाइरहेका शून्यवादको तुलनामा, यसको मतलब यही हुन्छ कि यस जगतमा भएका मानवजाति सहित सबै कुराको निम्ति एउटा उद्देश्य छ । हामी कुनै अनियमित संयोग र आनुवंशिक उत्परिवर्तन, जीनको काटछाँट वा क्रोमोजोमको दुर्घटनाको परिणाम होइनौँ । हामी सृष्टि गरिएका हौँ ! हामी हरेक व्यक्ति परमेश्वर स्वयम्को विचार, योजना र कार्यका परिणाम हौँ । अनि त्यसले मानवजीवनमा अर्थ र जिम्मेवारी दुवै ल्याउँछ (उत्पत्ति १ः२६–२८) ।
हामी कोही पनि स्वायत्त छैनौँ, सुसमाचार बुझ्ने चाबी भनेकै यो तथ्यलाई बुझ्नु हो । अधिकार र स्वतन्त्रताको विषयमा अनवरत कुराकानी गरे तापनि, वास्तवमा हामीले चाहे जति हामी स्वतन्त्र छैनौँ । हामी सृष्टि गरिएका हौँ । हामी बनाइएका हौँ, त्यसकारण हामी अधीनमा छौँ । किनकि उहाँले हामीलाई सृष्टि गर्नुभयो, हामीले कसरी जिउनुपर्छ भनेर भन्ने अधिकार उहाँमा छ । त्यसैले अदनको बगैँचामा, उहाँले आदम र हव्वालाई कुन रूखको फल खाना हुन्छ र कुन रूखको फल खाना हुँदैन भनी भन्नुभयो (उत्पत्ति २ः१६–१७) । आफूभन्दा साना भाइलाई दादागिरी देखाउँदा के हुँदोरहेछ त भनेर मनलाग्दो नियमहरू बनाउँदै आफ्नो शक्ति देखाउनका लागि, परमेश्वरले बालकजस्तो व्यवहार गर्नुभएको होइन । बाइबलले हामीलाई बताउँछ कि परमेश्वर असल हुनुहुन्छ । आफ्ना मानिसहरूका निम्ति सबैभन्दा असल के हुन्छ भनेर उहाँ जान्नुहुन्छ, र उहाँले तिनीहरूलाई व्यवस्थाहरू दिनुभयो
जसले तिनीहरूको खुसी र भलाईलाई सुरक्षित राख्छ र बढाउँछ ।
यदि कोही व्यक्ति ख्रीष्टियान सुसमाचार बुझ्न चाहन्छ भने यस सम्बन्धमा केही ज्ञान हुनु आवश्यक छ । पापको खराब समाचारप्रति परमेश्वरको जवाफ नै सुसमाचार हो, र पापचाहिँ सृष्टिकर्ता परमेश्वरको कुनै व्यक्तिमाथिको अधिकारलाई इन्कार गरेको अवस्था हो । यसर्थ, मानव अस्तित्वको आधारभूत सत्यता भनेको त्यो इनार हो जहाँबाट सबथोक बग्छ, यही कि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र हामी उहाँको स्वामित्वमा छौँ ।
पवित्र र धर्मी परमेश्वर
यदि तपाईंले परमेश्वरको स्वभावलाई थोरै शब्दहरूमा बयान गर्नुपर्यो भने के भन्नुहुन्छ ? उहाँ स्नेही र असल हुनुहुन्छ ? उहाँ टिठ्याउनमा भरिपूर्ण अनि क्षमाशील हुनुहुन्छ ? हो, सबै साँचो हो । जब मोशाले परमेश्वरलाई उहाँको महिमा देखाउन र उहाँको नाउँ घोषणा गर्न आग्रह गर्दछन्, तब परमेश्वर यसो भन्नुहुन्छ :
“परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर,जो
क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनहुन्छ ।
उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह
र पाप क्षमा गर्नुहुन्छ” (प्रस्थान ३४ः६–७) ।
कति अच्चमलाग्दो छ ! जब परमेश्वरले हामीलाई उहाँको नाम भन्न र उहाँको महिमा देखाउन चाहनुहुन्छ – जुनचाहिँ खासमा उहाँको हृदय देखाउनको लागि हो– उहाँले के भन्नुहुन्छ त ? यही कि उहाँ स्नेही र टिठ्याउनमा भरिपूर्ण, क्रोध गर्नमा ढिलो र प्रेममा प्रशस्त हुनुहुन्छ ।
तर त्यस खण्डमा अर्को पनि एउटा कुरा छ जसलाई प्रायः वास्ता गरिन्न, र त्यो त्यति सान्त्वना दिने खालको छैन । तपाईंलाई थाहा छ परमेश्वरले मोशालाई उहाँ टिठ्याउनमा भरिपूर्ण र प्रेमिलो हुनुहन्छ भन्ने बित्तिकै के भन्नुहुन्छ ? तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ (पद ७) ।
त्यसमा फेरि हेर्नुहोस्, किनभने त्यसले परमेश्वरसम्बन्धी रहेको मानिसहरूको धारणाको ९० प्रतिशत हिस्सालाई गलत साबित गर्छु । प्रेमिलो र टिठ्याउनमा भरिपूर्ण परमेश्वरले दोषीलाई सजाय नदिईकन छोड्नुहुन्न ।
परमेश्वरप्रतिको सामान्य हेराइ यस्तो छ कि उहाँ एक गैरजिम्मेवार पिउन जस्तै हुनुहुन्छ । संसारको मैला– यसको पाप, खराबी, अनि दुष्टतालाई – तह लगाउनुको सट्टामा, उहाँले खाली त्यसलाई बढारेर गलैँचामुनि लुकाउनुहुन्छ, त्यसलाई बेवास्ता गर्नुहुन्छ अनि कसैले नदेखोस् भन्ने आशा गर्नुहुन्छ । वास्तवमा, धेरै मानिसहरूले यस्तो परमेश्वरको कल्पना नै गर्न सक्दैनन् जसले त्यो बाहेक अरू केही गर्दछन् । “परमेश्वरले पापको न्याय गर्नुहुन्छ ?” र
उनीहरू भन्छन् । “दुष्टताको निम्ति मलाई सजाय दिने ? पक्कै पनि उहाँले त्यसो गर्नुहुन्न । त्यो त प्रेमिलो भएन नि।”
प्रस्थान ३४ः६–७ मा – कसरी परमेश्वर जसले “दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ” अनि फेरि “दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्न”— सुल्झाउन नसकिने विरोधाभासलाई क्रूसमा येशूको मृत्युद्वारा समाधान गर्नुहुन्छ । तर त्यहाँ पुग्नुभन्दा धेरै अगाडि, हामीले बुझ्नुपर्छ कि यस वरिपरि रहेका सबै विरोधका बावजुद पनि,
परमेश्वरको प्रेमचाहिँ उहाँको न्याय र धार्मिकताबाट रद्द हुँदैन । वचनले पटकपटक घोषणा गर्छु कि हाम्रो परमेश्वर सिद्ध, न्यायी र अटुट धार्मिकताका परमेश्वर हुनुहुन्छ । भजनसंग्रह ११ः७ ले भन्छ,
परमप्रभु धर्मी हुनुहुन्छ;
धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ
भजनसंग्रह ३३ः५ ले यसरी घोषणा गर्छ, “परमप्रभुले धार्मिकता र न्यायलाई मन पराउनुहुन्छ ।” अनि भजनका दुईवटा खण्डले यस्तो घोषणा गरेका छन्, “धार्मिकता र न्याय उहाँको सिंहासनका जग हुन्” (भजन. ८९ः१४; ९७ः२) ! यी दुईवटा पदले के भनिरहेका छन् भनी तपाईंले देख्नुभयो ? संसारमा परमेश्वरको शासन, सृष्टिमा उहाँको सार्वभौम प्रभुत्व, उहाँ पूर्णरूपमा धर्मी र न्यायी रहने जगमा आधारित छ ।
त्यसैले परमेश्वरलाई गैरजिम्मेवार पिउनको रूपमा विचार गर्नु अनुपयुक्त हुन्छ । त्यस्तो सोचले परमेश्वरलाई अन्यायी र अधर्मी बनाउँछ । त्यसले उहाँलाई एउटा यस्तो परमेश्वर बनाउँछ जसले पापलाई नष्ट गर्नुको सट्टामा त्यसलाई लुकाउँछ वा पापदेखि लुक्नुहुन्छ । त्यसले उहाँलाई नैतिक रूपमा कायर देखाउन खोज्छ ।
आखिर कसले त्यस्तो परमेश्वर चाहन्छ र ? परमेश्वरले कहिल्यै पनि मेरो न्याय गर्नुहुन्न भनेर जोड दिने मानिसहरूलाई, इन्कार गर्न नसकिने दुष्टताको आमनेसामने भएको हेर्नु चाखलाग्दो हुन्छ । भयानक दुष्टताको सामना गर्नुपर्दा मात्र तिनीहरू न्यायको परमेश्वर चाहन्छन्— र उत्तिनैखेर परमेश्वरलाई चाहन्छन् । परमेश्वरले
तिनीहरूको पाप नदेखेजस्तो गरिदिए हुन्थ्यो भन्ने तिनीहरू चाहन्छन्, तर आतङ्कवादीहरूको चाहिँ होइन । “मलाई क्षमा गर्नुहोस्” तिनीहरू भन्छन्, “तर उसलाईचाहिँ क्षमा गर्न मिल्दैन है !” हेर्नुहोस्, कसैले पनि त्यस्तो परमेश्वर चाहदैनन् जसले दुष्टसँग सरोकार राख्न इन्कार गर्दछ । तिनीहरू यस्तो परमेश्वर चाहन्छन् जसले तिनीहरूको
दुष्टतालाई चाहिँ वेवास्ता गरिदिउन् ।
तथापि, वचनले हामीलाई भन्छ कि, किनकि उहाँ सम्पूर्णताः न्यायी र धर्मी हुनुहुन्छ, परमेश्वरले निर्णायक रूपमा सबै दुष्टताहरूको सामना गर्नुहुन्छ । हबकूक १ः१३ ले भन्छ,
तपाईंको दृष्टि यति शुद्ध छ कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न;
खराबी देखेर तपाईं सहन सक्नुहुन्न ।
त्यसो गर्नु भनेको उहाँको सिंहासनको जगलाई नै त्याग्नु हो । त्यो त उहाँले स्वयम्लाई त्याग्नु जस्तै हो, र परमेश्वरले त्यसो गर्नु हुनेछैन । परमेश्वर प्रेमिलो र टिठ्याउनमा भरिपूर्ण हुनुहुन्छ भनी सोच्न धेरैजसो मानिसहरूका लागि समस्या हुँदैन । परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भनी संसारलाई विश्वास दिलाउनका लागि ख्रीष्टियानहरूले उत्कृष्ट ढङ्गमा काम गरेका छन् । यदि हामी येशू ख्रीष्टको सुसमाचार कति महिमित र जीवनदायी छ भनेर बुझ्छौँ भने, हामीले प्रेमिलो र करुणामयी परमेश्वर पवित्र र धर्मी पनि हुनुहुन्छ भनेर बुझ्नुपर्दछ । साथै उहाँ कहिले पनि पापलाई नदेखेझैँ नगर्न, बेवास्ता नगर्न र त्यसलाई नसहन प्रतिबद्ध हुनुहन्छ ।
हाम्रो पापलाई पनि उहाँले बाँकी राख्नुहुन्न । पक्कै पनि यसले हामीलाई खराब समाचारमा ल्याएको छ ।
-ग्रेग गिल्बर्ट