विश्वासको चिन्हहरू
अगाडि बढ्नुभन्दा पहिले, हामीले यो कुरा जान्नु आवश्यक छ, कि पापप्रतिको संवेदनशीलता, पश्चाताप र पाप स्वीकार केवल ख्रीष्टियान परिपक्वताको चिन्ह मात्र होइन, तर यो त साँचो परिवर्तनको चिन्ह हो । भर्खरै नयाँ गरी जन्मेको विश्वासीले पनि पापप्रति नयाँ र प्रतिकूल स्वभाव देखाउनेछ र पश्चाताप र पाप स्वीकारको अभ्यास गर्नेछ । यसको विपरीत, पश्चाताप र पाप स्वीकारको कमीले त्यो व्यक्ति अझै पनि नयाँ गरी जन्मेको छैन भन्ने कुराको प्रमाण दिन सक्छ । यसको बारेमा प्रेरित यूहन्नाले यस्तो लेख्छन्, “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन (यसको मतलब, हामी ख्रीष्टियान होइनौँ) । यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ (यसको मतलब, हामी ख्रीष्टियान हौँ) । यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन” (यसको मतलब, हामी ख्रीष्टियान होइनौँ) (१ यूहन्ना १:८-१०) ।
कोहीले गलत रूपमा बुझेझैँ साँचो परिवर्तनको सबैभन्दा ठुलो प्रमाण पापरहित सिद्धता होइन । बरु, पापप्रति संवेदनशील हुनु, पापलाई त्याग्नु, खुलेआम रूपमा पाप स्वीकार्नु र पाप क्षमामा आनन्द महसुस गर्नुचाहिँ साँचो परिवर्तनको सबैभन्दा ठुलो प्रमाण हो । यसकारण, साँचो ख्रीष्टियानहरू संसारका मानिसहरूभन्दा फरक रूपमा आफूलाई प्रस्तुत गर्छन् । एकतर्फ, तिनीहरूलाई “शोक गर्नेहरू” (मत्ती ५:४) को रूपमा वर्णन गरिन्छ भने, अर्कोतर्फ तिनीहरू “अवर्णनीय र गौरवमय आनन्द” द्वारा चिनिन्छन् (१ पत्रुस १:८) ।
जब विश्वासीहरू परमेश्वरको चरित्र र उहाँको इच्छाको ज्ञानमा वृद्धि हुँदै जान्छन्, तब तिनीहरू आफ्नो पाप र परमेश्वरको स्वरूपमा नभएको कुरा अझ स्पष्ट रूपमा देख्न थाल्छन् । यसले तिनीहरूलाई पापमाथिको अझ गहिरो दुःख र शोकतर्फ डोऱ्याउँछ । त्यसकारण, तिनीहरूलाई “शोक गर्नेहरू” भनेर राम्ररी चिन्न सकिन्छ । साथै, जब तिनीहरू परमेश्वरको ज्ञानमा वृद्धि हुँदै जान्छन्, तिनीहरूले ख्रीष्टको व्यक्ति र उद्धारको कामद्वारा प्रकट भएको उहाँको दया र अनुग्रहलाई अझ बढी देख्नेछन् । यसले तिनीहरूको मुक्तिको परेमश्वरमा अझ बढी आनन्दित हुने बनाउँछ । यसकारण, समय बित्दै जाँदा, तिनीहरूको शोक र आनन्द पनि जीवनको अन्तसम्म सँगसँगै बढ्दै जान्छ, र पूर्णतया टुटेको भए तापनि, त्यस दिन तिनीहरू “अवर्णनीय र गौरवमय आनन्द” ले भरिनेछन् । एउटै व्यक्तिमा एकै साथ कसरी शोक र आनन्द भेट्टाउन सकिन्छ भनेर प्रश्न गर्दा उनीहरू यस्तो जवाफ दिन्छन्, “म एक महान् पापी हुँ, तर ख्रीष्ट अझ एक महान् उद्धारकर्ता हुनुहुन्छ ।” यहाँ भएको महान् परिवर्तनलाई ध्यान दिनुहोस् । तिनीहरूको आनन्द तिनीहरूको असिद्ध गुण वा परिवर्तनशील व्यवहार होइन, तर ख्रीष्टको क्रूस र त्यसबाट बगि आउने परमेश्वरको अनुग्रहमा पाइन्छ ।
-पावल वशरद्वारा लिखित अनुग्रहका अत्यावश्यक माध्यमहरूबाट साभार गरिएको।