सर्वप्रथम त तपाईंलाई नयाँ वर्ष २०६९ सालको शुभकामना दिन चाहन्छु । हामीले सञ्चालन गरेको पोडकास्टले दशकौँ पार गर्नेछ भनी मैले कल्पनासमेत गरेको थिइनँ । यस नयाँ वर्षलाई मूर्तिसम्बन्धी रहेको प्रश्नसँगै सुरु गरौँ । आफ्नो परिचय खुलाउन नचाहेका एक जना श्रोताले सोध्नुभएको छ “जयमसीह पास्टर जोन” वास्तवमा मूर्ति भनेको के हो ? ख्रीष्टियानहरूले प्रायः यस शब्दको प्रयोग गर्ने गर्छन् । विशेषगरी वचनहरूमा । बाइबलमा हेर्दा मैले यो पाए कि मूर्ति भनेको सुन, चाँदी, काँस, फलाम, काठ वा ढुङ्गाबाट बनाइएका वा कुँदिएका आकृतिहरू हुन् जसको अघि आराधकहरूले दण्डवत् गर्ने गर्दछन्, (दानिएल ५ः४) । बाइबलमा कहिलेकाहीँ खराब शक्तिहरूबाट बच्नका लागि प्रयोग गरिने बुटी वा जन्तर जस्तो वस्तुहरूलाई पनि मूर्तिको संज्ञा दिइएको छ । जस्तै १ शामुएल ५ः६,७ः२ मा रुढीको नमुनाको रूपमा प्रयोग गरिएको सुनका गिर्खा र पाँचओटा सुनका मुसाहरू । तर वर्तमान समयका मूर्तिहरू फरक छन् । तिनीहरू हृदयका इच्छाहरू जस्तैः पैसा, यौन, शक्ति, र अन्य वस्तुहरूको रूपमा देखिन्छन् । यी सब कसरी भए ? मूर्तिहरू कुँदिएका वस्तुहरू हुने गर्दथे तर अब तिनीहरू हृदयको इच्छा र चाहनामा परिवर्तन भएका छन् । म मूर्ति र हृदयका आकृतिहरू बीचको सम्बन्धलाई बुझ्दिनँ । वास्तवमा भन्नुपर्दा पुरानो करारमा प्रयोग गरिएको गिर्खा र मुसाहरूको कुरा पनि म बुझ्दिनँ । के तपाईंले मूर्तिहरूका यी दुवै रूपहरूको बारेमा, यी दुवै एकअर्कामा कसरी जोडिएका छन् भनी बताइदिन सक्नुहुन्छ ?”
म यस प्रश्नको जवाफ दिनलाई सक्दो प्रयास गर्नेछु । पहिलो, मूर्ति भनेको के हो भन्ने परिभाषाबाट सुरु गरौँ । मलाई लाग्छ, मूर्ति भनेको ती कुराहरू हुन् जसमाथि हामी आशिष्, सहयोग वा निर्देशनको निम्ति भर पर्दछौँ । मैले दिने मूर्तिको परिभाषा यही हो । र मलाई लाग्छ यही नै बाइबलीय परिभाषा हो । तपाईंले देख्न सक्नुहुन्छ कि यस परिभाषाले विभिन्न कुराहरू जस्तैः तपाईंले आफ्नो घाँटी वा कम्मरमा बाँध्नुभएको जन्तर, तपाईंको कोठाको भित्तामा झुन्ड्याइएको येशूको तस्विर, चित्र वा अन्य कुनै थोक वा वस्तुहरू जसलाई तपाईंले पवित्र ठान्नुहुन्छ (जस्तैः इस्राएल देशको माटो, यर्दन नदिको पानी वा ढुङ्गालाई समेट्दछ) ।
परमेश्वर पितामा सम्पूर्ण हृदयले भरपर्नुबाट हामीलाई यी कुराहरूले बहकाउने भएको कारण, यी वस्तुहरू मूर्तिहरू हुन् । हामी जन्तर, चित्र वा अन्य वस्तुहरूमाथि सुरक्षा, आशिष् र मार्ग निर्देशनका निम्ति भर परिरहेका हुन्छौँ किनकि हामी विचार गर्छौँ कि यी सबै कुराहरू परमेश्वरमा भर परेर पाउन सकिँदैन ।
हाम्रा मित्र जसले यो प्रश्न सोध्नुभएको छ उहाँ सही हुनुहुन्छ । मलाई लाग्छ बाइबलमा “मूर्ति” शब्द प्राकृतिक वा मानव हातले बनाएका वास्तविक वस्तुहरूको निम्ति प्रयोग गरिएको छ । आफ्ना श्रीमती, जग्गा जमिन, पैसा वा अन्य बस्तुहरूलाई गरिने अधिक प्रेमलाई मूर्तिको रूपमा बाइबलले व्याख्या गरेको छैन । त्यसैकारण, बाइबल वस्तुहरूमाथि लालसा राख्ने कुरामा भन्दा मानव निर्मित वस्तु वा अन्य प्राकृतिक थोकहरूमाथि बढी केन्द्रित छ भन्ने कुरामा उहाँ सही हुनुहुन्छ ।
दोस्रो आज्ञाले यस विषयमा ठिकसँग बताउँछ :
आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ । मेरो अवहेलना गर्ने पिता–पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, (प्रस्थान २०ः ४–५) ।
अर्को शब्दमा भन्नुपर्दा, उहाँ हाम्रो प्रत्यक्ष निर्भरता, आदर र उपासनाको निम्ति ईष्र्यालु हुनुहुन्छ, र उहाँले मूर्तिले प्रतिनिधित्व गर्ने कुनै किसिमका देवहरूमात्र नभएर स्वयम् उहाँलाई नै प्रतिनिधित्व गर्ने कुनै पनि प्रकारका मूर्तिहरूलाई पनि अस्वीकार गर्नुहुन्छ । ्हामीले उहाँ किन प्रत्यक्ष निर्भर र उपासनाको कुरालाई लिएर ईर्ष्यालु हुनुहुन्छ भनेर विचार गर्ने हो भने, मलाई लाग्छ यसको उत्तर भजनसंग्रह ९६ः५ मा पाउन सक्छौँ— “किनकि जाति–जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो ।”
मूर्तिहरूको समस्या भनेको तिनीहरूले सृष्टिकर्ताको रूपमा परमेश्वरको सर्वोच्च स्वभावको विरोध गर्छन् । परमेश्वरको प्रतिनिधित्व गर्न बनाइएका कुनै पनि मानव निर्मित मूर्तिहरूले उहाँको सर्वोच्चताको गलत बुझाइतर्फ डो¥याउँछ । यसले परमेश्वर हाम्रो शक्तिको अधीनमा हुनुहुन्छ— हामीले उहाँलाई कुँदेर, चित्र कोरेर, उहाँलाई हाम्रो गोजीमा राखेर जहाँ पनि लान सक्छौँ भन्ने कुराको चेतना दिन्छ । भजन लेखकले भन्छन्, “परमेश्वरले स्वर्ग बनाउनुभयो ।” उहाँ सर्वोच्च परमेश्वर हुनुहन्छ र हामीले उहाँलाई कुनै पनि तरिकाले आकृति दिन वा नियन्त्रण गर्न सक्दैनौँ ।
परमेश्वरले किन अन्य देवहरू वा स्वयम् उहाँकै प्रतिनिधित्व गर्ने मूर्तिहरूको विरोध गर्नुहुन्छ भन्ने कुराको अर्को कारण हामी भजनसंग्रह ११५ः४–८ मा देख्दछौँ ।
“तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका,
सुन र चाँदीका कलाहरू मात्र हुन् ।
तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन् ।
आँखा छन्, तर देख्न सक्दैनन् ।
कान छन्, तर सुन्न सक्दैनन् ।
नाक छन्, तर सुँघ्न सक्दैनन् ।
हात छन्, तर छाम्न सक्दैनन् ।
खुट्टा छन्, तर हिँड्न सक्दैनन् ।
तिनीहरू आफ्ना गलाबाट कुनै आवाजै निकाल्न सक्दैनन् ।
तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्।”
अर्को शब्दमा, मूर्तिहरूले परमेश्वरको स्वभावको गलत व्याख्या मात्र नभएर तिनीहरूले मानिसको स्वभावलाई पनि नष्ट गर्छन् । तिनीहरूले मानिसहरूलाई विवेकहीन र शक्तिहीन मासुको थुप्रोमा परिणत गर्दछ । हामीहरू ती मूर्तिझैँ हुन्छौँ । ती मूर्तिहरूको मूल्यहीनताले मानिसहरूलाई पनि मूल्यहीन बनाउँछ ।
मूर्तिहरूका निम्ति परमेश्वरको महिमालाई साट्नु
अब, हामी हाम्रा मित्रको प्रश्नमा आउनेछौँ । उहाँ भन्नुहुन्छ कि बाइबलले ती कुराहरूलाई मूर्तिको रूपमा बताएको छ, तर वर्तमान समयको मूर्तिहरू धेरै भिन्न छन् । वर्तमान समयमा तिनीहरू पैसा, यौन, शक्ति र अनेकन वस्तुप्रति लोभिएका छन् । यो सब कसरी हुन आए ? मूर्तिहरू केवल हृदयको आकांक्षा मात्र नभएर बनाइएका आकृतिहरू हुने गर्दथे ।”
यो असल प्रश्न हो । यी सब कसरी भए ? पहिलो कुरा, म यो भन्न चाहन्छु कि मूर्तिपूजाको परिभाषालाई परिवर्तन गर्ने एउटा वास्तविक कारण भनेको पश्चिमी संस्कृति हो । जहाँ धार्मिक आराधनाको निम्ति मूर्तिहरूको प्रयोग अन्य संस्कृतिको तुलनामा कमै मात्रमा गरिन्छ । तब प्रश्न यो उठ्छ कि मूर्तिको बारेमा बाइबलले दिने शिक्षाले यस संस्कृतिसँग के कुनै सान्दर्भिकता राख्छ र जहाँ बनाइएका मूर्तिहरूको आराधना कमै मात्रामा गरिन्छ ?
यस प्रश्नको उत्तर यही हो कि, हो राख्छ । बाइबलले बताउने मूर्तिहरूको विभिन्न प्रकारहरूको बारेमा हेर्ने हो भने, मलाई लाग्दैन कि कसैले परमेश्वरको अनादर गर्ने तरिकामा पैसा, शक्ति र यौनप्रति मोह राख्नुलाई मूर्तिको संज्ञा दिनु गलत हो । नयाँ करारमा हामी केही यस्ता कुराहरू पाउँछौँ जसले मूर्ति शब्दको प्रयोग गर्नु ठिक ठहर गर्दछ ।
पहिलो, रोमी १ः२१–२३ ले ती मानिसहरूलाई अङ्कित गर्दछ जससँग सुसमाचारको बारेमा प्रत्यक्ष ज्ञान छैन । तर प्रकृतिबाट साधारण प्रकाश भने पाएका हुन्छन् जसले तिनीहरूलाई परमेश्वरलाई महिमा दिन र उहाँलाई धन्यवाद चढाउन जिम्मेवार बनाउँछ ।
यसरी लेखिएको छ :
“किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो । बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे ।”
मलाई लाग्छ यी पदहरूले मूर्तिपूजाको बाह्य प्रदर्शनको आन्तरिक समस्यालाई दर्शाउँछ । हामी मूर्तिहरूसँग परमेश्वरको महिमालाई साटफेर गर्दछौँ । पावलले उल्लेख गरेको पहिलो मूर्ति भनेको मानिसलाई प्रतिबिम्बित गर्ने मूर्तिहरू हुन् । मलाई लाग्छ परमेश्वरलाई प्रतिस्थापन गर्ने पहिलो मूर्ति भनेकै हामीले ऐनामा देख्ने हाम्रो प्रतिविम्ब हो । हामी आफैलाई महिमा दिन रुचाउँछौँ जसले परमेश्वरलाई महिमा दिने हाम्रो चाहनालाई निरन्तर चेतावनी दिन्छ, त्यसैकारण प्रतिस्थापनलाई मूर्तिपूजाको नाम दिनु ठिक हो ।
मूर्तिहरूबाट आफैलाई सुरक्षित राख्नु
म पुनः मेरो परिभाषातर्फ फर्कन चाहन्छु । जुन यसप्रकार छ : आशिष, मद्दत र निर्देशनको निम्ति परमेश्वरमा सम्पूर्ण हृदयले भर पर्नुको सट्टामा अन्य कुनै पनि वस्तुहरूमा भरपर्नु भनेको मूर्ति पुजा हो । परमेश्वरमा बाहेक सबै अन्य कुराहरूमा भरपर्दा, मूर्ति पूजाले जे गर्दछ हामीले त्यही गरिरहेका हुन्छौँ ।
परमेश्वरप्रतिको हाम्रो प्रेमसँग प्रतिस्पर्धा गर्ने कुनै पनि सांसारिक कुरा मूर्ति हुन् ।
म तपाईंलाई १ यूहन्ना ५ः२१ पदमा केन्द्रित गर्न चाहन्छु । यो यूहन्नाको पत्रको सबैभन्दा अन्तिम पद हो । यसले यसरी भन्छ : “साना बालकहरू, आफू–आफूलाई मूर्तिहरूबाट जोगाएर राख ।” यूहन्नाले आफ्नो पत्रलाई किन यसरी अन्त्य गरे ? जब कि उनले आफ्नो सम्पूर्ण पत्र र सुसमाचारको पुस्तकभरि मूर्तिको बारेमा उल्लेख नै गरेका छैनन् । तर पत्रलाई अन्त्य गर्दा अचानक मूर्ति शब्दलाई प्रयोग गरेका छन् जसले साधारण रूपमा परमेश्वरलाई प्रतिस्थापन गर्न कुदिएका वा बनाइएका कुनै पनि आकृतिलाई अङ्कित गर्दछ । “मूर्तिहरूबाट आफैलाई जोगाएर राख ।”
किन यूहन्नाले यसरी अन्त्य गरे त ? मेरो उत्तर यसप्रकार छ— उनले १ यूहन्ना २ः२५–१६ मा भनेका छन्, “संसारलाई वा संसारमा भएका कुनै पनि थोकहरूलाई प्रेम नगर । यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन । किनकि संसारमा भएका सबैथोक अर्थात शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन् ।”
हुनसक्छ प्रेरित यूहन्नाले “आफैलाई मूर्तिहरूबाट अलग राख” भन्दा उनको दिमागमा वस्तुगत चित्र वा मूर्तिहरू थिए । तर मलाई यो पनि लाग्छ कि साधारण रूपमा उनको दिमागमा यस संसारमा भएका अन्य घातक समस्याहरू पनि थियो, जसले परमेश्वरको प्रेमसँग प्रतिस्पर्धा गर्दछ । त्यसैकारण मूर्तिहरूबाट आफैलाई अलग राख । परमेश्वरलाई सबै कुराभन्दा बढी, उहाँ ख्रीष्टमा जो हुनुहुन्छ ती सम्पूर्ण कुराको निम्ति उहाँलाई प्रेम गर ।
जोन पाइपर -@JohnPiper) desiringGod.org_ का संस्थापक, शिक्षक र बेथलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ । उहाँले ३३ वर्षसम्म बेथलेहेम ब्याप्टिस्ट चर्च मिनियापोलिस मिनेसोटामा पास्टरको रूपमा सेवा गर्नुभएको थियो । उहाँ डिजाइरिङ्ग गडः मेडिटेसन अफ ए क्रिस्चियन हेडोनिस्ट र हालसालै प्रकाशित प्रोभिडेन्स नामक पुस्तक साथै अन्य ५० भन्दा बढी पुस्तकहरूका लेखक हुनुहुन्छ ।