बन्दवाद भनेको के होइन ?

बन्दवादलाई धेरै पटक गलत रूपमा बुझिन्छ र प्रस्तुत गरिन्छ । हामीलाई प्रायः परमेश्वरले अब आश्चर्यकर्म गर्नुहुन्न भन्ने विश्वास गरेको आरोप लगाइन्छ— तर यो सत्यबाट धेरै टाढा छ । एक पास्टरको रूपमा, मेरो सबैभन्दा ठुलो आनन्द भनेको परमेश्वरले नयाँ जन्ममा गर्नुहुने अद्भुत आश्चर्यकर्म नियमित रूपमा देख्न पाउनु हो— जहाँ परमेश्वरले आफ्नो सार्वभौम र अनुग्रहपूर्ण कार्यद्वारा आत्मिक रूपमा मरेको पापीलाई जीवन दिनुहुन्छ (एफिसी २:१–१०) । परमेश्वरको अनार्जीत अनुग्रहले ल्याएको नयाँ जन्मभन्दा ठुलो आश्चर्यकर्म केही पनि छैन ! अनि जब परमेश्वरले उहाँका जनहरूको प्रार्थनाको उत्तर स्वरूप बिरामीलाई चिकित्सा क्षेत्रको निदान र पूर्वानुमानको विरुद्धमा गएर शारीरिक रूपमा निको पार्नुहुन्छ, यो पनि एउटा आश्चर्यकर्म नै हो ।

तर, हामीले परमेश्वरले प्रत्यक्ष रूपमा, पूर्णतया मानव उपकरणबिना आश्चर्यकर्म गर्न सक्ने क्षमता र उहाँले आफ्नो खुसीअनुसार विश्वासीहरूलाई दिनुहुने पवित्र आत्माको आश्चर्यकर्म गर्ने वरदान बिचको भिन्नता स्पष्ट रूपमा छुट्याउनुपर्छ । भजनकार लेख्छन्, “हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ” (भजनसंग्रह ११५:३) । परमेश्वरले कुनै पनि क्षणमा आश्चर्यकर्म गर्न सक्नुहुन्छ (दानिएल ४:३५) । उहाँको शक्ति उहाँको आफ्नै इच्छा र चरित्रबाहेक अरू कुनै कुराले बाँधेको छैन वा सीमित पारेको छैन । रोबर्ट एल. ससीले यस भिन्नतालाई स्पष्ट पार्दै लेख्छन्, “बन्दवादको मुद्दा … परमेश्वरले अझै पनि आश्चर्यकर्महरू गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने होइन, तर प्रारम्भिक नयाँ करारको चर्चमा देखा परेका आश्चर्यकर्महरू गर्ने आत्मिक वरदानहरू सम्पूर्ण चर्च युगका लागि सामान्य हुन् कि होइनन् भन्ने हो ।”

बन्दवादीहरू विश्वास गर्छन्, कि परमेश्वरले आफ्नो नाउँको महिमा गर्न चाहनुभएमा आश्चर्यकर्म गर्न सक्नुहुन्छ, तर यो परमेश्वरले मानिसलाई दिनुहुने आश्चर्यकर्म गर्ने आत्माको वरदानभन्दा पूर्ण रूपमा भिन्न छ । पहिलो अवस्थामा, परमेश्वरले मानिसको सहभागिताबिना नै यस जीवनका कुराहरूमा प्रत्यक्ष रूपमा हस्तक्षेप गर्नुहुन्छ । दोस्रो अवस्थामा, परमेश्वरले मानिसहरूलाई नयाँ प्रकाशको लागि आफ्नो मुखपत्रको रूपमा प्रमाणित गर्दै तिनीहरूलाई आश्चर्यकर्म गर्ने वरदान दिनुहुन्छ ।

बन्दवादले यो पनि सिकाउँदैन, कि पवित्र आत्मा आज कसैलाई आश्चर्यकर्म गर्ने क्षमता दिन असमर्थ हुनुहुन्छ । आत्मा परमेश्वर हुनुहुन्छ— उहाँले जे गर्न चाहनुहुन्छ, जहिले गर्न चाहनुहुन्छ, गर्न सक्नुहुन्छ ! हामी परमेश्वरले के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर सीमित गरिरहेका छैनौँ । यदि उहाँले आफ्नो महिमाका खातिर कसैलाई आश्चर्यकर्म गर्ने क्षमता दिन चाहनुभयो भने, त्यो आश्चर्यकर्म हुनेछ, तर त्यो नयाँ करारको वरदानभन्दा पूर्ण रूपमा फरक हुनेछ । उदाहरणका लागि, कुनै पनि क्षणमा परमेश्वरले कसैलाई पहिले कहिल्यै नजानेको वा अध्ययन नगरेको मानव भाषा बोल्न सक्षम बनाउन सक्नुहुन्छ (जुन नयाँ करारको अन्य भाषासम्बन्धी वरदानको परिभाषा हो) । तर, नयाँ करारको यो वरदान नयाँ करार लेखिँदै गर्दा पहिलो शताब्दीका चर्चहरूको लागि परमेश्वरको ईश्वरीय प्रकाश सञ्चार गर्ने माध्यमको रूपमा प्रयोग भएको थियो (अध्याय ६ हेर्नुहोस्) । त्यसैले, दुवै अवस्थामा भाषाहरूको परिभाषा समान हुनेछ, तर उद्देश्यहरू पूर्ण रूपमा फरक हुनेछ । यहाँ वास्तविक मुद्दा भनेको आत्माको शक्ति वा क्षमता होइन, तर आत्माको योजना हो ।

अन्तमा, बन्दवादले यो शिक्षा दिँदैन, कि परमेश्वर आज बोल्नुहुन्न वा मौन हुनुहुन्छ । परमेश्वर आजको दिनमा पनि बोल्नुहुन्छ भनी हामी विश्वास गर्छौँ । तर पुरानो र नयाँ कराको युगमा झैँ अझै परमेश्वर श्रवणीय रूपमा बोल्नुहुन्छ भन्ने कुराचाहिँ हामी विश्वास गर्दैनौँ । हामी यो पनि विश्वास गर्दैनौँ, कि उहाँले दर्शन र सपनाहरू मार्फत नयाँ प्रकाश दिनुहुन्छ, वा भित्री भावना र अनुभूतिहरू मार्फत विश्वासीहरूलाई प्रेरित गर्नुहुन्छ । तर, हामी यो विश्वास गर्छौँ, कि परमेश्वर आज आत्माद्वारा प्रेरित वचनमार्फत बोलिरहनुभएको छ । हिब्रू ४:१२ ले भन्छ, “किनकि परमेश्वरकाे वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ । यसले प्राण र आत्मालाई त्यसका जोर्नी–जोर्नी र हाड़को गुदीसम्मलाई भाग–भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ ।”

-टम पेनिङ्टन

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।