प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर । तर ख्रीष्टका कष्ट–भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक ।—१ पत्रुस ४ः १२–१३

हामी यहाँ एउटा आदेश पाउँछौँ— “ख्रीष्टको कष्टभोगमा सहभागी भएझैँ आनन्द गर ।” जब तपाईंलाई कष्टको कालकोठरीमा फालिन्छ तब आनन्द मनाउनुहोस् । जब तपाईं दुखको समुद्रमा डुब्नुहुन्छ आनन्द मनाइरहनुहोस् । वास्तवमा, दुख हुँदा वा नहुँदा दुवै परिस्थितिमा आनन्द मनाउनुहोस् ।

यो जीवन जिउनको लागि सकारात्मक सोचको शक्तिको उपाय हैन । यो त दुखलाई प्रतिक्रिया जनाउने आमूल, असाधारण र अलौकिक तरिका हो । यो हाम्रो आफ्नै शक्तिमा आफ्नै आदरको लागि गरिने कुरा हैन । यो त महान् राजाको महिमाको लागि आत्मिक प्रवासी र परदेशीहरूले संसारमा जिउने तरिका हो ।

“मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्‌विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ” (याकूब १ः२) । परमेश्वर बाहेक अन्य कुराको लागि यो मूर्ख सल्लाह हो । माथि उल्लेखित खण्डमा, दुख आइपर्दा आनन्द मनाउनका लागि ६ कारणहरू दिइएका छन् । ती कुराहरू परमेश्वरसँग सम्बन्धित छन् ।

आनन्दित भइरहनुहोस् किनभने दुःख दुर्घटना होइन, तर योजना हो

प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर । (पद १२)

यो परीक्षा अनौठो छैन । यो मुर्खता पनि हैन । यो व्यर्थको पनि छैन । यो उद्देश्यपूर्ण छ । यो तपाईंको जाँचको लागि हो । पावल भन्छन्, “यसकारण परमेश्वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ताकहाँ सुम्पून्” (१ पत्रुस ४ः१९) परमेश्वरको योजना अनुसार दुख भोग्नुहोस् । दुख परमेश्वरको योजनाभन्दा बाहिर हुँदैन । यो परमेश्वरको योजना हो । जब शैतान कष्टको प्रत्यक्ष कारण देखिन्छ तब पनि यो सत्य हुन्छ । हाम्रो कष्ट र शैतानमाथि पनि परमेश्वर सार्वभौम हुनुहुन्छ ।

तर किन ? के का लागि ? पत्रुसले यस प्रश्नको उत्तर दुई तरिकाले दिएका छन् । दुख “तिम्रो जाँच गर्न” को लागि हो (पद १२, अनि दुखको विषयमा उनी भन्छन्, “किनभने न्याय परमेश्वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्छ भनेता परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त्य कस्तो होला ? अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्छ भने अधर्मी र पापीको गति के हुने ?” (पद १७–१८ । मुख्य कुरा यही हो कि परमेश्वरको न्याय संसारबाट भएर गइरहेको छ । संसार पनि यस कुराबाट अछुत छैन, तर हामीले भोग्ने परिणाम भने फरक छ । जब न्यायको आगो चर्चमाथि दन्किन्छ तब त्यो जाँच्न, प्रमाणित गर्न र शुद्ध पार्न दन्किन्छ । जब न्यायको आगो संसारमा दन्किन्छ यसले कि त जागरुक गराउँछ कि त नष्ट ।

विश्वासीहरू परमेश्वरको न्यायको जाँच गर्ने आगोबाट भएर जानैपर्छ— परमेश्वरले हामीलाई घृणा गर्नुभएको कारणले हैन; उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामी शुद्ध भएको चाहनुहुन्छ । परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ र आफ्नो सन्तानलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले आफूले घृणा गर्नुहुने कुराबाट हामीलाई छुटकारा दिन कुनैपनि किसिमको पीडा समेत दिन सक्नुहुन्छ ।

त्यसैले, सतावट आउँदा आनन्द मनाउनको लागि पत्रुसले दिएको पहिलो कारण भनेको सतावट आकस्मिक हैन, यो उद्देश्यमूलक हुन्छ । यो जाँच हो । यो शुद्ध पार्ने आगो हो । यसले साँचो विश्वासलाई प्रमाणित गर्नुको साथै बलियो बनाउँछ, र देखावटी विश्वासलाई नष्ट पार्छ ।

अलेक्जेन्डर सोल्जनिट्सन रुसी विश्वासीहरूको धैर्यता र तिनीहरूले भोग्दै आएका दुख देखेर प्रभावित भएका थिए । एक रात साइबेरियाको जेलमा, बोरिस कर्न्फेल्ड, एक यहूदी डाक्टरले सोल्जनिट्सनलाई उनले कसरी ख्रीष्टमा विश्वास गरे भन्ने कथा सुनाए । सोही रात कर्न्फेल्डलाई मृत्यु दण्ड दिइयो । सोल्जनिट्सनका अनुसार कर्न्फेल्डको अन्तिम शब्द यो थियो, “ए जेल, मेरो लागि जीवनको माध्यम बनेकोमा तँलाई धन्यवाद ! जब मैले यस कष्टपूर्ण जेलमा आफ्नो जीवन बिताए तब पहिलोचोटी मभित्र असल कुराको महसुस गरेँ । मेरो उत्तराधिकारको लागि तँ मेरो जीवनको माध्यम होस् ।”

हामी यो बलियो आशा राख्न सक्छौँ कि हाम्रो कष्टले धेरै मानिसहरूको लागि शुद्धता र पवित्रता ल्याउनेछ र धेरैलाई जागरुक गराउनेछ । दुख आकस्मिक हैन, यो उद्देश्यमूलक हुन्छ ।

आनन्दित भइराख्नुहोस् किनकि ख्रीष्टियान भएकै कारण कष्ट भोग्नु भनेको तपाईं ख्रीष्टसँग एक हुनुभएको छ भन्ने प्रमाण हो

तर ख्रीष्टका कष्टभोगमा सहभागी हुँदा रमाओ (पद १३) ।

अर्को शब्दमा, तपाईंको कष्ट केवल तपाईंको मात्र हैन तर ख्रीष्टको पनि हो । र आनन्दित हुनुको एउटा कारण भनेको यसले तपाईं ख्रीष्टसँग एक हुनुभएको छ भन्ने कुरालाई जनाउँछ । एक रोमानियन पास्टर जोसेफ सन्, चाउसस्कुले ख्रीष्टियानहरूमाथि भएको दमनको विरुद्धमा खडा भएका थिए, उनले यस्तो लेखेका छन्,

ख्रीष्टियान जीवनमा ख्रीष्टसँग एक हुनु भनेको सबैभन्दा सुन्दर कुरा हो । यसको मतलब यही हो कि यस युद्धमा म एक्लो छैन । म त ख्रीष्टको सेना हुँ । जब मैले रोमानियनहरूबाट कष्ट भोगेँ उहाँले मेरो शरीरमा कष्ट भोग्नुभयो । यो मेरो कष्ट हैनः मैले त केवल उहाँको कष्टमा सहभागी हुने सौभाग्य पाएँ । (अनडेटेड पेपर, “अ थियोलोजी अफ मार्टयरडम”)

आनन्दित भइराख्नुहोस् किनकि ख्रीष्टियान भएकै कारण कष्ट भोग्नु भनेको तपाईं ख्रीष्टसँग एक हुनुभएको छ भन्ने प्रमाण हो ।

आनन्दित भइराख्नुहोस् किनकि यस आनन्दले तपाईंको निश्चिततालाई अझ बलियो बनाउनेछ, कि जब ख्रीष्टको पुनरागमन हुनेछ तब तपाईं उहाँसँग सधैँको लागि आनन्दित हुनुहुनेछ

तर ख्रीष्टका कष्ट–भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक । (पद १३)

मुख्य विचार यही हो कि हामी आनन्दित भइरहनुपर्छ ताकि उहाँसँग पनि आनन्दित हुन सकौँ । अहिलेको हाम्रो कष्टको आनन्द भनेको पछि ख्रीष्टसँग हजारौँ गुणा महिमाको आनन्दलाई प्राप्त गर्ने माध्यम हो ।

पहिले कष्ट त्यसपछि महिमा । पत्रुसले भनेका छन् “आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुभयो” (१ पत्रुस १ः११ टिप्पणी ५ः१) । पावलले भनेका छन् यदि हामी “उहाँसँग कष्टभोगमा सामेल भयौं भने” उहाँसँगै “महिमित पारिनेछौं” (रोमी ८ः१७) । पहिले कष्ट त्यसपछि महिमा— ख्रीष्ट र उहाँसँग एक भएकाहरूको लागि ।

यदि हामी यी कुराहरूप्रति र यसले ल्याउने पीडाप्रति रुष्ट भयौँ भने हामी ख्रीष्टको महिमाको प्रकटीकरणमा आनन्दित हुनको लागि तयार भइरहेका हुँदैनौँ । अहिलेको कष्टमा आनन्दित भइराख्नुहोस् ताकि उहाँको महिमाको प्रकटीकरणमा तपाईं रमाहट गर्दै आनन्दित हुनुभएको होस् ।

कष्टमा आनन्दित भइराख्नुहोस् किनकि तब मात्र परमेश्वरका र महिमाको आत्मा तपाईंमाथि रहनुहुन्छ

यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयौ भने तिमीहरू धन्यका हौ । किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । (पद १४)

यसको मतलब ठूलो परीक्षाको घडीमा ठूलो सान्त्वना हुनेछ । पृथ्वीको ठूलो कष्टमा स्वर्गबाट ठूलो सान्त्वना प्राप्त हुनेछ । सायद तपाईंले म यी सबै कुरा सहन सक्दिनँ भनेर विचार गर्नुहुन्छ होला, तर तपाईं ख्रीष्टको हुनुहुन्छ भने तपाईंले सहन सक्नुहुनेछ किनकि उहाँ तपाईंमा वास गर्नुहुनेछ । जसरी रुथरफर्डले भनेका छन्, महान् राजाले आफ्नो उत्तम दाखमध कष्टको छिँडीमा राख्छन् । उनले यसलाई घमाइलो दिनमा पिउनको लागि निकाल्दैनन् तर चरम कष्टको लागि साँचेर राख्छन् ।

कष्टको घडीमा परमेश्वरका र महिमाका आत्मा तपाईंमा वास गर्नुहुनेछ भन्नुको अर्थ के हो ? यसको सरल उत्तर यही हो कि जब तपाईंलाई यसको आवश्यकता पर्छ तब तपाईंले थाहा पाउनुहुनेछ । तपाईंको आत्मालाई सन्तुष्ट पार्न र तपाईंलाई यी सबैबाट भएर जानका लागि पवित्र आत्माले परमेश्वर र महिमालाई पर्याप्त मात्रामा प्रकट गर्नुहुनेछ ।

पवित्र हुन खोज्नुहोस्, सत्यतालाई प्रकट गर्न खोज्नुहोस्, साक्षी बन्न खोज्नुहोस् र चुनौतीबाट पछि नहट्नुहोस् । र ढिलो वा चाँडो तपाईंले परमेश्वर र महिमाको आत्मा तपाईंमा वास गरेको अनुभव गर्नुहुनेछ ।

कष्टमा आनन्दित भइराख्नुहोस् किनकि यसले परमेश्वरलाई महिमित पार्छ

तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस्, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस् । (पद १६)

परमेश्वरलाई महिमित पार्नु भनेको आफ्नो व्यवहार र आचरणबाट परमेश्वर तपाईंको लागि महिमित हुनुहुन्छ भन्ने कुरालाई देखाउनु हो– कि उहाँ बहुमूल्य, मूल्यवान, आकर्षक र सन्तोषजनक हुनुहुन्छ । र कसैले तपाईंको हृदयलाई सन्तुष्ट पार्छ भनेर देखाउने सबैभन्दा असल तरिका भनेको अन्य सबै कुरामा तपाईंको आनन्द हराउँदै जाँदा पनि त्यस व्यक्तिमा सधैँ आनन्दित भइरहनु हो । जब कष्टको बीचमा तपाईं परमेश्वरमा आनन्दित बन्नुहुन्छ यसले यही देखाउँछ कि केवल परमेश्वर तपाईंको आनन्दको श्रोत हुनुहुन्छ ।

पावल बान्ड जो, भारत देशमा मिसनरी भएर आएका एक शल्यचिकित्सक थिए । उनले आफ्नी आमाको बारेमा एउटा कथा लेखेका छन् जो भारतमा मिसनरी भएर आएकी थिइन् । जसको जीवन परमेश्वरप्रति भक्तिको प्रतीक थियो ।

मेरी आमाको लागि पीडा र बलिदान साथीझैँ थियो । म यो कुरा दया र प्रेमका साथ भन्छु, जब मेरी आम वृद्ध हुनुभयो र उहाँको सुन्दरता हराउँदै गयो । कम्जोर अवस्था र टाइफाइड, झाडापखाला र मलेरियासँगको लडाइले उनलाई दुब्ली र कुप्री बूढी बनाउँदै थियो । हावाहुरी र वर्षौँ घाममा हिँडेकोले गर्दा उनको अनुहारको छाला खस्रो र दह्रो भएको थियो । अनुहार चाउरी परेको थियो । मेरी आमा यी सबै कुराप्रति सचेत थिइन र उनले आफ्नो जीवनको अन्तिम २० वर्षहरूमा घरमा ऐना नै राख्न चाहनुभएन (क्रिस्चियानिटी टुडे, जनवरी १०, १९९४, २३) ।

ऐनाबिनाको २० वर्षको सेवकाइ । बुझ्नुभयो ? उहाँ आफै ऐना हुनुहुन्थ्यो, र परमेश्वर ज्योति र महिमा हुनुहुन्थ्यो ।

कष्टमा आनन्दित भइराख्नुहोस् किनकि तपाईंको सृष्टिकर्ता तपाईंको आत्माको वास्ता गर्नको लागि विश्वासयोग्य हुनुहुन्छ

यसकारण परमेश्वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ता कहाँ सुम्पून् । (पद १९)

हामी प्रत्येकको लागि कष्टको परिमाण र सतावटको प्रकारहरू फरक हुनेछन् तर ख्रीष्टको पुनरागमन नभएसम्म हामी सबैमा समान रहने एउटा कुरा भनेको हामी सबैको मृत्यु हुनेछ । हाम्रो पहिचानको त्यस उत्तम घडीमा प्रवेश गर्नेछौँ । तपाईंले आफ्नो सम्पूर्ण जीवन तपाईंको अघि देख्नुहुनेछ र आफ्नो जीवनको मूल्याङ्कन गर्नुहुनेछ । परमेश्वरको अगाडि खडा हुनुपर्ने त्यस अवर्णनीय सत्यताको अगाडि तपाईं काँप्नुहुनेछ र तपाईंको आत्माको गन्तव्य अपरिवर्तनीय हुनेछ ।

के तपाईं त्यस घडी आनन्द मनाउनुहुनेछ ? हो मनाउनुहुनेछ— यदि विश्वासयोग्य सृष्टिकर्तामा तपाईंले आफ्नो आत्मा अर्पण गर्नुभयो भने । उहाँले तपाईंको आत्मा आफ्नो महिमाको लागि सृष्टि गर्नुभयो । उहाँ त्यस महिमाप्रति विश्वासयोग्य हुनुहुन्छ र तिनीहरू सबैप्रति पनि जसले उहाँलाई प्रेम गर्छन् र उनको निम्ति जिउँछन् । यो समय तपाईंको धन कहाँ छ भनेर देखाउने समय हो— स्वर्गमा या पृथ्वीमा । यो समय परमेश्वरको महिमाद्वारा चम्किने समय हो । उहाँमाथि भरोसा गर्नुहोस् र आनन्दित भइराख्नुहोस् ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।