एक जवान मित्रले यसरी सोध्नुभएको छ, “पास्टर जोन, के अख्रीष्टियान महिलासँग प्रेम सम्बन्धमा रहनु पाप हो ?”

यस प्रश्नको उत्तर दिनुअघि हाम्रा जवान मित्रलाई म यो प्रश्न गर्न चाहन्छु कि पाप भनेको के हो ? पापको बारेमा तपाईंको बुझाइ के छ ?

म रोमी ३ः२३ पदलाई हेर्न चाहन्छु, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” यसको मतलब पाप भनेको परमेश्वरको महिमासम्म पुग्नबाट चुक्नु हो । तर त्यसको अर्थ के हो ? “महिमासम्म पुग्नबाट चुक्नु” भनेको के हो ?

ग्रीक शब्द (हुस– तेर– ए– ओ) को अर्थ “अभाव” हो, नेपाली बाइबलमा यसलाई “चुक्नु” शब्दको प्रयोग गरिएको छ । त्यसैकारण पाप गर्नु भनेको परमेश्वरको महिमाबाट चुक्नु हो । कुन अर्थमा चुक्नु ? परमेश्वर जत्तिकै महिमित हुनुपर्छ भन्ने अर्थमा हैन तर रोमी १ः२३ पदले बताउने अर्थमा, “र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे ।” जब तिनीहरूले साटफेर गरे तब तिनीहरू उहाँको महिमाबाट चुके । तिनीहरूले परमेश्वरको महिमालाई हेरे, र तिनीहरूले अन्य कुराहरूलाई पनि हेरे सायद, चित्रहरूमा, मूर्तिहरूमा र तिनीहरूले परमेश्वरको सट्टामा, परमेश्वरको विरुद्धमा ती निर्जीव वस्तुहरूलाई रोजे । तसर्थ, तिनीहरू परमेश्वरबाट चुके ।

आफ्नो लालसालाई विचार गर्नुहोस्
परमेश्वर बाहेक अरू कुनैपनि कुरालाई रोज्नु भनेको पाप हो । र पाप भनेकोचाँहि हामीले परमेश्वर बाहेक अरू केही कुरालाई रोज्दा हामी भित्रबाट निस्कने हाम्रा आचरण, इच्छा, कार्य र शब्दहरू हुन्— जब परमेश्वर हाम्रो सर्वोच्च इच्छा, हाम्रो सर्वोच्च धन बन्नुहुन्न । म यही सेरोफेरोमा रहेर आजको प्रश्नको उत्तर दिनेछु ।

अब प्रेम सम्बन्धको विषयमा हेरौँ । प्रेम सम्बन्ध भनेको के हो ? के कसैलाई प्रेम गर्नु भनेको, त्यो व्यक्ति मेरो निम्ति परमेश्वर भन्दा बढी महत्वको छ भन्ने अभिव्यक्ति हो ? चाहे त्यो व्यक्ति ख्रीष्टियान होस् वा अख्रीष्टियान ।
तपाईं एक ख्रीष्टियानसँग प्रेमसम्बन्धमा रहँदारहँदै पनि पापमा फसिरहेको हुनसक्छ । तपाईं अख्रीष्टियानसँग प्रेम सम्बन्धमा रहेर पाप गरिरहेको पनि हुनसक्छ किनकि त्यस व्यक्तिप्रतिको स्नेह, प्रेम र चाहले यही कुरा दर्साइरहेको हुनसक्छ कि तपाईंको जीवनमा परमेश्वरको लागि स्थान छैन । जति विशाल, शक्तिशाली, आनन्दित र सुन्दर हुनुपर्ने थियो ।

यदि तपाईंले परमेश्वरलाई भन्दा बढी आफ्नो प्रेमीको साथलाई बढी आवश्यक ठानी रहनुभएको छ भने, तपाईंले पाप गरिरहनुभएको छ । तपाईंले परमेश्वरलाई पुनः आफ्नो सर्वोच्च धनको रूपमा पत्ता लगाउनु आवश्यक छ ।

आफ्नो लक्ष्यमा विचार गर्नुहोस्
मैले भनिरहेका यी कुराहरू उहाँले अपेक्षा गर्नुभएको भन्दा बढी नै हुनसक्छ । मलाई लाग्छ उहाँले भन्न खोज्नुभएको र वास्तवमै जान्न चाहनुभएको कुरा पनि यही हो । मानौँ कि, मैले मेरो प्रेमिकालाई परमेश्वरलाई भन्दा बढी चाह गरेको छैन, के यस्तो अवस्थामा पनि अख्रीष्टियानसँग प्रेम सम्बन्धमा रहनु पाप हो ?

मेरो उत्तर यही हो कि प्रेम सम्बन्धको उद्देश्य के हो ? केका लागि प्रेम सम्बन्धमा रहने ? प्रेम सम्बन्धको बारेमा तपाईंको बुझाइ के हो ? सायद तपाईंले भन्नुहोला, “मसँग त्यस्तो भावनाहरू केही पनि छैन । म त केवल उनलाई परमेश्वर तर्फ डोर्याउन चाहन्छु । “यो त विशुद्ध सुसमाचार प्रचार हो रोमान्स हैन ।” अनि म तपाईंलाई भन्नेछु, “हुन्छ, त्यो कामलाई जारी राख्नुहोस् ।”

तर होसियार हुनुहोस्, किनकि कुनै पनि समय जब एउटी स्त्री र पुरुषले सँगै समय बिताउँछन्, तब सुसमाचार प्रचार भन्दा अन्य व्यक्तिगत, घनिष्ट प्रकारको कुराहरू हुनेगर्दछ, विशेषगरी जब कुराहरू गहिरो बन्दै जान्छ । मैले यी कुराहरू देखेको छु र तपाईंलाई सतर्क गराउन चाहन्छु ।

यदि उहाँले यसो भन्नुभयो भने नि, “म उनीप्रति धेरै नै आकर्षित छु, र उनीसँग प्रेम सम्बन्धमा रहनुको उद्देश्य भनेको भविष्यमा म उनीसँग विवाह गर्न चाहन्छु ।” तब म उहाँलाई भन्नेछु, “यदि तपाईंले एक अख्रीष्टियानसँग गहिरो प्रेम सम्बन्धको बारेमा सोची रहनुभएको छ र भविष्यमा विवाह गर्ने सोच बनाउनुभएको छ भने, तपाईंले ख्रीष्टप्रतिको तपाईंको प्रेममा सम्झौता गरिरहनुभएको छ । र वचनको विपरित गइरहनुभएको छ ।”

१ कोरिन्थी ७ः३९ ले “प्रभुकै जन” सँग मात्र विवाह गर्नुपर्छ भनी बताउँछ । यदि तपाईं विश्वासका परिवार भन्दा बाहिरका पुरुष वा स्त्रीसँग मोहित हुनुहुन्छ भने, तपाईं परमेश्वरको वचन उल्लङ्घन गर्दै हुनुहुन्छ ।

२ कोरिन्थी ६ः१४ ले भन्छ— “अविश्वासीसँग एउटै जुवामा ननारिओ ।” यस पदले विवाहको बारेमा बताइरहेको छ । विवाह दुई आत्मा र शरीरको एकता हो । त्यसैकारण मलाई लाग्छ यो सबैभन्दा घनिष्ट एकता हो ।

यदि ती दुई मानिसहरूको सर्वोच्च धन फरक छन् भने, दुईमध्ये एकको ख्रीष्ट र अर्कोको अरू नै केही, त्यहाँ कहिल्यै पनि घनिष्ट एकता हुन सक्दैन । त्यहाँ विभाजन ल्याउने अनेकता सिर्जना हुनेछ ।

त्यसैकारण बाइबलले निषेध गरेका प्रेम सम्बन्धलाई अघि बढाउनु र वृद्धि गराउँदै जानु भनेको, परमेश्वरबाट प्रतिबन्धित गरिएको कार्यमा सहभागी हुनु हो ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।