हाम्रो पोडकास्ट कार्यक्रम सुन्नुहुने एकजना मित्र जसले आफ्नो पहिचान गोप्य राख्न चाहनुभएको छ । उहाँ लेख्नुहुन्छ, “जयमसीह, पास्टर जोन । म मध्यपूर्वबाट तपाईंको कार्यक्रम सुन्ने नियमित श्रोता हुँ । दुई दिनअघि म आफ्नो प्रेमिकासँग सुते र अहिले यस कुराले हामी दुवैलाई दुःखी तुल्याएको छ । हामी आफैलाई फोहोरी, तुच्छ र लज्जित महसुस गरिरहेका छौँ । हामी एकअर्कालाई हेर्न पनि सकिरहेका छैनौँ । हामी दुवैजना ख्रीष्टमा नयाँगरी जन्मिएका ख्रीष्टियान हौँ, तर पापमा फस्यौँ ।

“हाम्रो निम्ति पुनः शुद्ध हुन र पापबाट निको हुन केही आशा छ ?” म जान्दछु कि ख्रीष्टको रगतले सबै पापलाई ढाक्नु हुन्छ । तर कसरी हामी हाम्रो सम्बन्धको शुद्धतालाई पुनः प्राप्त गर्न सक्छौँ ? के त्यसलाई हामीले सधैँका निम्ति गुमाएका छौँ ? अब हामी के गरौँ ?

केही गुमेको छ

मलाई लाग्छ मध्यपूर्वका यस जवान मित्रले ठिक स्थानबाट सुरु गरिरहनुभएको छ । उहाँ उचित रूपमा चकनाचूर भएझैँ देखिन्छ । उहाँले कुनै कुरालाई पुनः प्राप्त गर्न नमिल्नेगरी गुमाउनुभएको छ भन्ने कुरालाई उहाँले बुझ्नुभएको छ । उहाँले शारीरिक सम्बन्ध बीचको समयभन्दा अघि गएर त्यस घटनालाई पूर्ववत् गर्न सक्नुहुन्न त्यसैकारण उहाँहरूले अत्यन्तै बहुमूल्य कुरालाई गुमाउनुभएको छ ।

यो कठोर सुनिए पनि, म यसरी सुरु गर्न चाहन्छु कि संसारले यसलाई कमजोरी वा अझ भन्नुपर्दा बेबकुफीको रूपमा हेरे तापनि आफ्नो कुमारीत्व बचाइराख्नेहरूप्रति मेरो अत्यन्त वास्ता फिक्री रहेको कारण म यही भन्न चाहन्छु कि, स्त्री र पुरुष दुवैको लागि यो अत्यन्तै बहुमूल्य कुरा हो ।

परमेश्वरले यसलाई बडो ठूलो सामथ्र्य र तुलना गर्न नसकिने सुन्दरताको रूपमा हेर्नु हुन्छ । म हाम्रो श्रोताहरूलाई आफ्नो यौन शुद्धता र कुमारीत्वलाई कायम राख्नको निम्ति मद्दत गर्न उतिनै उत्साहित छु जति आफ्ना शुद्धतालाई गुमाएकाहरूलाई पुनः प्राप्त गर्नको लागि मद्दत गर्न उत्साहित छु— जुन कुरालाई ख्रीष्टले सम्भव पारिदिनुभएको छ । त्यसैकारण म यस प्रकारले सुरु गरिरहेको छु ।

“पारस्परिक क्षमा धेरै जटिल छ र हरेक मोडहरूमा यसलाई अनुग्रहको आवश्यकता पर्दछ ।”

मलाई लाग्छ यी जवान मित्रले ठिक स्थानबाट सुरुवात गरिरहनुभएको छ । उहाँ टुक्रिनु भएको छ । उहाँले सुन्दर कुरालाई गुमाउनुभएको छ भनी उहाँ जान्नुहुन्छ । ख्रीष्टको रगतले सबै पापलाई ढाक्छ भन्ने पनि उहाँलाई थाहा छ र सुरुवात गर्नको लागि यो उचित स्थान हो ।

तिनीहरू जसले आफ्नो पापलाई हल्का रूपमा लिन्छन् र ख्रीष्टको रगतलाई आफूले गरेको पापको लागि छिटो र सजिलो समाधानको रूपमा हेर्छन्, ती व्यक्तिहरूले तिनीहरूको पवित्रतालाई किन्नको लागि ख्रीष्टले चुकाउनुभएको साँचो मूल्यलाई कहिल्यै देखेका हुँदैनन् । त्यसैकारण मलाई साधारण रूपमा केही अवलोकन गर्न दिनुहोस् जुन कुरा हाम्रो मध्यपूर्वमा रहनुहुने मित्रको लागि उद्धार र आशापूर्ण सावित हुन सकोस् ।

परमेश्वरले विश्वासयोग्यलाई इनाम दिनुहुन्छ

बाइबलीय वचनलाई समेट्दै उहाँलाई थाहा भएको कुरातर्फ नै ध्यान केन्द्रित गर्न चाहन्छु । पहिलो कोरिन्थी ६ः १८ ले भन्छ, “व्यभिचार देखि अलग बस ।” अविवाहित मानिसहरूको लागि परमेश्वरको इच्छा यही हो कि तिनीहरू यौन सम्बन्धबाट अलग बसून् । परमेश्वरले यस कुरालाई पवित्र आत्माको शक्तिद्वारा, उहाँको प्रतिज्ञा माथिको विश्वासद्वारा सम्भव पार्नुभएको छ । र उहाँलाई यस प्रकारले आदर गर्ने प्रत्येक मानिसलाई उहाँले मिठो र विषेश इनाम दिनुहुन्छ ।

विश्वासयोग्यहरूका लागि विवाहमा विशेष इनामहरू छन् साथै अविवाहितहरूका लागि पनि जो नैतिक शुद्धता र पवित्रतामा जिउँछन् । विवाहित व्यक्तिहरूले केही तरिकामा परमेश्वरको महिमा गर्न सक्छन् जुन अविवाहित व्यक्तिहरूले गर्न सक्दैनन्, र अविवाहित व्यक्तिहरूले केही तरिकाहरूमा परमेश्वरको महिमा गर्न सक्छन् जुन विवाहित व्यक्तिहरूले गर्न सक्दैनन् । यो कुनै श्रेष्ठता र हीनताको विषय हैन । परमेश्वरको नजरमा अविवाहिता र नैतिक शुद्धता अत्यन्तै उच्च बोलावट हो । यो पहिलो बुँदा हो ।

परमेश्वरले पापीहरूलाई क्षमा दिनुहुन्छ

हाम्रो मित्रलाई यो कुरा पहिल्यै थाहा छ तैपनि म यस कुरालाई बाइबलको वचनद्वारा नै बताउन चाहन्छु जसले गर्दा उहाँले यो कुरा मबाट मात्र नभएर ख्रीष्टबाट सुन्नुभएको होस् । त्यसैकारण, म मेरो मित्रलाई भन्न चाहन्छु— “साँच्चै म तिमीहरूलाई भन्दछु मानिसहरूका सबै पाप र ईश्वर–निन्दा क्षमा गरिनेछन् तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापी क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ” (मर्कूस ३ः २८–२९) । पवित्र आत्माको निन्दा गर्नु भनेको के हो भन्ने प्रश्नलाई केही क्षणको लागि पर सारौँ । त्यस प्रश्नलाई अर्को चोटी हेरौँला ।
अहिलेको लागि हामी सबैजना धन्यवादको आँशुसहित पूर्ण आनन्दका साथ यस शब्दहरूमा आनन्द मनाऔँ— “मानिसहरूका सबै पापहरू क्षमा गरिनेछन् ।” कति मनोरम कुरा ।क्रूसमा टाँगिएको त्यस चोरलाई विचार गर्नुहोस् जसले कयौँ दशकदेखि पाप बाहेक केही पनि जानेको थिएन, त्यस चोरको लागि योभन्दा असल कुरा अरू के हुनसक्छ र ?

अर्को शब्दमा, त्यहाँ कुनै एउटा निश्चित पाप, नराम्रो, घिन लाग्दो र परमेश्वरको लागि अपमानजनक छैन जुन येशूको रगतद्वारा क्षमा हुन सक्दैन । जसरी यूहन्नाले भनेका छन्, “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ” (१यूहन्ना १ः९) । यो दोस्रो बुँदा हो ।

दोषारोपण

यस अवस्थामा, परमेश्वरको क्षमा ग्रहण गर्नु मात्र नभएर एकअर्काबाट क्षमा ग्रहण गर्नु पनि यी जोडीलाई चुनौतिपूर्ण हुनसक्छ । एफिसी ४ः३२ ले भन्छ, “जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु होऔं ।” र यो सजिलो कुरा हैन ।

म केवल तिनीहरूलाई यो कति कठिन छ भन्ने कुराको बोध गराउन चाहन्छु ताकी तिनीहरूले सजिलै हार नमानून् । विशेषगरी, हामी अरूको अघि झुक्न नचाहने घमण्डी र स्वार्थी भएका कारण यस्तो अवस्थामा एकअर्कालाई क्षमा दिन कठिन हुन्छ । र यस्तो अवस्थामा दोस्रो व्यक्तिमाथि दोषारोपण गर्ने वा सम्पूर्ण गल्ति हाम्रै भएपनि अलिकति दोषको भार अरूलाई बोकाउने परीक्षामा हामी पर्छौँ ।

“कसैलाई पूर्णरूपमा विश्वास नगरे पनि क्षमा दिन सम्भव छ । विश्वास कमाउनु पर्छ तर क्षमा हैन ।”

यस जवान मानिसले लज्जित महसुस गर्नुका साथै पुरुष अगुवाको रूपमा नैतिक शुद्धताको लागि आफ्नो जिम्मेवारीलाई बहन नगरेको बोध गरिरहँदा, उनले आफ्नो सूक्ष्म मनस्थितिमा यसरी आफ्नो प्रेमिकामाथि दोषारोपण गरिरहेको हुन सक्छ कि उनले मलाई मोहित पारिन्, उनले मलाई रोक्न मदत गर्न सक्थिन् तर त्यसो गरिनन् ।

उसको प्रेमिकाले पनि सोही कुरा महसुस गरिरहेकी हुन सक्छ । उनले आफैलाई लज्जित महसुस गर्नुका साथै यस कुराको बोध गर्न सक्छिन् कि उनले प्रेमीको प्रस्ताव इन्कार गर्नुको सट्टामा स्वीकार गरिन् । अझ भन्नुपर्दा, मोहित पार्ने काम पनि गरिन् । तर उनले आफ्नो प्रेमीलाई अझ बढी दोष लगाउन पनि सक्छिन् र आफ्नो परीक्षाको घडीमा उसले मलाई बचाएन भनेर अरू दोषहरू खोज्न पनि सक्छिन् ।

जोखिमपूर्ण क्षमा

अर्को शब्दमा, पारस्परिक क्षमा कुनै साधारण विषय हैन । कारण क्षमा पूरा, पूर्ण र वास्तविक हुन त्यहाँ साँचो र दीर्घकालीन पाप स्वीकार र पश्चातापको आवश्यकता पर्दछ । दुवै जनाले पूर्णरूपमा आफ्ना पापहरू स्वीकार गर्नुपर्छ किनकि यस कुरामा दुवैजना गलत छन् । अर्को व्यक्तिले आफ्नो फाइदा उठाउन सक्ने जोखिम र आफूमाथि धेरै दोष आइपर्ने सम्भावना भए पनि दुवैजनाले आफ्ना पाप स्वीकार गर्न तयार हुनुपर्छ ।

तपाईंले देख्न सक्नुहुन्छ कि यहाँ क्षमाको लागि मात्र अनुग्रहको आवश्यकता नभएर, दोश्रो व्यक्तिले आफ्नो फाइदा उठाउन सक्ने जोखिमको लागि, तपाईंले उचित ठान्नुभएको भन्दा बढी दोषको लागि, अर्को व्यक्तिले आफूलाई गरेकोभन्दा असल व्यवहार गर्नका लागि र परीक्षा विशाल देखिँदा नम्र रहनको लागि अनुग्रहको आवश्यकता पर्दछ । पारस्परिक क्षमा अत्यन्तै जटिल छ र हरेक मोडमा अनुग्रहको आवश्यकता पर्दछ ।

क्षमा र सहनशीलता

मानव जीवनका सबै अशुद्धता र पारस्परिक क्षमालाई घेर्ने सबै अस्पष्टताको बीचमा सहनशीलताको पुरानो विचारधारा पछाडि सत्यताको विशाल अनुभवको आवश्यकता पर्दछ ।

जब क्षमाले तपाईंहरू बीचको सबै तनावलाई साम्य पारेको हुँदैन त्यस अवस्थामा तपाईंले सहनशीलताको प्रयोग गर्नुपर्दछ । तपाईंले विचार गर्नुहुन्छ कि तपाईंको साथीले अझ बढी गर्नुपर्ने थियो, तिनीहरू अझ बढी परिवर्तन हुनुपर्ने थियो, अझ बढी पश्चाताप गर्नुपर्ने थियो तर तिनले केही पनि गरेनन् ।

त्यसैकारण, कि त तपाईं त्यस सम्बन्धलाई तोडेर जना सक्नुहुन्छ (जसले लाखौ विवाहलाई नष्ट गरेको छ) या तपाईं यी सबै कुराप्रति सहनशील बन्न सक्नुहुन्छ । बाइबलले यसरी बताउँछ, १कोरिन्थी १३ः ७ मा पावलले भनेका छन्, “प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ ।” पावलले दुई चोटि “सबै कुरा सहन्छ र सबै कुरामा स्थिर रहन्छ” को प्रयोग गरेका छन् ।

सहनशीलताको विषयमा बाइबलको मुख्य हरफ भनेको कलस्सी ३ः १२–१३ हो । यहाँ यसरी लेखिएको छ— “यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता, र धैर्य धारण गर । कुनै मानिसको विरुद्धमा दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर ।”

इँटाहरू थप्दै विश्वासको निर्माण गर्नुहोस्

हाम्रो मित्रलाई मैले बताउन चाहेको पाँचौ कुरा यही हो कि पुनः विश्वास निर्माण गर्न समय लाग्छ । कसैलाई पूर्णरूपमा विश्वास नगरे पनि क्षमा दिन सम्भव छ । विश्वास कमाउनु पर्छ तर क्षमा हैन ।

“हो, शुद्धता फेरि सम्भव छ, क्षमा सम्भव छ र विश्वास सम्भव छ ।”

कोही व्यक्तिले म विश्वासयोग्य छु भनी भनेको आधारमा नभएर विश्वास गर्न योग्य प्रमाणित भएको खण्डमा नै हामी त्यो व्यक्तिलाई विश्वास गर्छौँ । यसको मतलब जब हामी विश्वास तोड्छाँै तब हाम्रो चरित्रमा भरोसा निर्माण गर्न समय लाग्छ ।

त्यसैकरण, एकअर्काप्रति धैर्यवान बन्नुहोस् र यो कुरा एकअर्कालाई बताउनुहोस् । किनभने एक व्यक्तिको आँखामा हेरेर, “मलाई थाहा छैन, म तपाईंलाई अझै पनि पूर्ण रूपमा विश्वास गर्न सक्छु या सक्दिनँ” भन्नु एकदमै पीडादायी हुन्छ । “सम्बन्धलाई तोड्नुको लागि यही वाक्य पर्याप्त छ तर सम्बन्धलाई बचाउनको लागि एकअर्कासँग इमानदार नहुनुले पछि गएर ठुलो समस्या ल्याउन सक्छ ।

सुसमाचारको आशामा नुहाउनुहोस्

मैले अन्त्यमा बताउन चाहेको कुरा भनेको, विशाल आशाको सुसमाचारको शब्दहरू हो । हो शुद्धता फेरि पनि सम्भव छ, क्षमा सम्भव छ, सहनशीलता सम्भव छ र विश्वास सम्भव छ । सबैभन्दा मुख्य कुरा यस वचनमा देख्न सक्नुहुन्छ :

अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन ? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन् । तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ (१ कोरिन्थी ६ः ९–११) ।

११ पदले भन्छ “तिमीहरू कोही यस्तै थियौ ।” “थियौ” यो शब्दले तपाईकै बारेमा बताइरहेको छ । म यस जोडी वा मलाई सुन्नुहुने हरेकलाई भनिरहेको छु, “तिमीहरू कोही यस्तै थियौ ।” भन्ने कुरा हाम्रै जीवनमा लागु हुन्छ । हामीहरू व्याविचारी थियौँ तर पवित्र पारियौँ । हामी ख्रीष्ट येशुको रगतद्वारा र परमेश्वरको आत्माद्वारा धर्मी ठहरियौँ ।