प्रत्यक्षरूपमा चर्चको सदस्यताको बाइबलीय बुझाइबाट नै बाइबलीय चर्च अनुशासन आउँदछ । सदस्यताले चर्चको वरिपरि सीमारेखा कोर्छ र चर्चलाई संसारदेखि अलग बनाइदिन्छ । अनुशासनले त्यो सीमा रेखाभित्र जिउने चर्चलाई सुरुमा त्यो रेखा कोर्न लगाउने कारणप्रति नै प्रतिवद्ध भइरहन सहायता गर्दछ । यसले चर्चको सदस्य हुनुको अर्थ दिन्छ र योचाहिँ स्वस्थ चर्चको अर्को महत्वपूर्ण चिन्ह हो ।

वास्तवमा चर्च अनुशासन के हो त ? सबैभन्दा साँघुरो अर्थमा, यो भनेको ख्रीष्टियान हुँ भन्ने व्यक्तिलाई गम्भीर पाप गरेको तर पश्चात्ताप गर्न अस्वीकार गरेको कारण चर्चको सदस्यताबाट निकालिदिनु र प्रभुभोजमा सहभागी हुन नदिनु हो — जुन पापलाई बेवास्ता गर्न तिनीहरूले अस्वीकार गर्दछन् ।


परमेश्वरको चरित्रलाई प्रतिबिम्बित गर्नु
चर्च अनुशासनलाई बुझ्नको निम्ति, संसार, मानवजाति, इस्राएल र चर्च सृष्टि गर्नुमा रहेका परमेश्वरको उद्देश्यहरू बारे अध्याय ३ मा भनिएको कुरालाई फर्केर हेर्नुपर्छ । परमेश्वरले आफ्नो महिमा प्रकट गर्नको निम्ति संसार सृष्टि गर्नुभयो । त्यसपछि उहाँले त्यही उद्देश्यको निम्ति मानवजाति सृष्टि गर्नुभयो, र विशेष गरी हामीलाई उहाँको स्वरूप धारण गर्ने गरी सृष्टि गर्नुभयो (उत्पत्ति १:२७) । मानवजाति — आदम र हव्वा — ले उहाँको महिमा प्रकट गरेनन्, त्यसैले उहाँले तिनीहरूलाई त्यो बगैंचा देखि धपाइ दिनुभयो ।


त्यसपछि परमेश्वरले आफ्नो महिमा प्रकट गर्नका लागि इस्राएललाई बोलाउनुभयो, विशेषगरी व्यवस्थाको पुस्तकमा प्रकट गरिएका उहाँको पवित्रता र चरित्र जातिहरूलाई प्रकट गर्नको लागि (लेवी १९:२; हितोपदेश २४:१, २५ हेर्नुहोस्) । यस क्रममा, यो व्यवस्था नै कतिपय मानिसहरूलाई सुधार्ने वा उक्त समुदायबाट धपाउने आधार थियो (गन्ती १५:३०–३१ मा झैँ ) । अन्ततः यही नै इस्राएललाई त्यो भूमिदेखि धपाउने आधार थियो ।


अन्त्यमा, परमेश्वरले चर्च सृष्टि गर्नुभयो ताकि यसले परमेश्वरको वचनमा प्रकट गरिए झैँ उहाँको चरित्र बढीभन्दा बढी प्रकट गर्न सकोस् । समग्र बाइबलको कथासँग मेल खाने गरी, चर्च अनुशासनचाहिँ एक व्यक्तिलाई निकालिदिने काम हो जसले लापरवाहीपूर्वक सुसमाचारको बदनामी गर्दछ र त्यसको प्रतिष्ठा बढाउनप्रति कुनै समर्पणता देखाउँदैन । अनुशासनले चर्चलाई परमेश्वरको महिमित चरित्र विश्वास योग्यतापूर्वक दर्शाउँन सहायता गर्दछ । यसले चर्चलाई पवित्र भइरहन सहायता गर्दछ । योचाहिँ ऐनालाई टल्काउने र कुनै दागहरू हटाउने प्रयास हो (२ कोरिन्थी ६:१४–७:१; १३:२; १ तिमोथी ६:३–५; २ तिमोथी ३:१–५) । किन अनुशासन गर्ने त ? ताकि परमेश्वरको पवित्र र प्रेममय चरित्र अझ बढी प्रष्टरूपमा देखियोस् र अझ उज्यालो गरी चम्किओस् ।


यसले कसरी काम गर्दछ ?
अनुशासनको प्रक्रियाले कसरी काम गर्दछ त ? पापका परिस्थितिहरू विशाल रूपमा फरक हुने भएकाले, हरेक अवस्थालाई कसरी व्यवहार गर्ने भनी जान्ने विशेष बुझाई पास्टरहरूमा हुनुपर्दछ ।


यति भन्दै गर्दा, मत्ती १८ मा रहेका येशूका वचनहरूले साधारण सीमाहरू प्रदान गर्दछन् (मत्ती १८:१५–१७) । सुरुमा पाप गर्ने व्यक्तिलाई एक्लै गएर पश्चात्ताप गर्न लगाउनुहोस् । यदि उसले पश्चात्ताप गर्दछ भने अनुशासनको प्रक्रिया टुङ्गिन्छ । त्यसो भएन भने दोस्रोपटक अर्को ख्रीष्टियानलाई लिएर जानुहोस् । अझै पनि उसले पश्चात्ताप गरेन भने, येशूले भन्नु भए झैँ, मण्डलीलाई भन । त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्” (मत्ती १८:१७), अर्थात्, गैर ख्रीष्टियान सरह होस् ।


तिमीले न्याय गर्ने ?
यो समग्र विचार आजका धेरै मानिसहरूलाई कठोर लाग्न सक्दछ । अझै, के येशूले उहाँका चेलाहरूलाई अरूको न्याय गर्न प्रतिबन्ध लगाउनुभएको थिएन र ? एक अर्थमा, उहाँले पक्कै पनि प्रतिबन्ध लगाउनुभयो : “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ” (मत्ती ७:१) । तर सुसमाचारको त्यही पुस्तकमा, येशूले चर्चहरूलाई पापको निम्ति आफ्ना सदस्यहरूलाई हप्काऊँ — सबैको सामु पनि — भनेर भन्नुभयो (मत्ती १८:१५–१७; सन्दर्भ लूका १७:३) । त्यसैले येशूले “अरूलाई दोषी नठहराओ” भनेर जेसुकै भन्न खोज्नुभएको भए पनि, उहाँले आज “न्याय गर्नु” भनेर भनिने हरेक कुरालाई हटाउन खोज्नुभएको थिएन ।


निश्चित रूपमा परमेश्वर आफैँ एक न्यायकर्ता हुनुहुन्छ । उहाँले बगैँचामा आदमको न्याय गर्नुभयो । पुरानो करारमा उहाँले जातिहरू र व्यक्तिहरू दुवैको न्याय गर्नुभयो । नयाँ करारमा ख्रीष्टियानहरूको न्याय तिनीहरूका कामअनुसार हुनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ (१ कोरिन्थी ३ हेर्नुहोस्) । अनि उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि अन्तिम दिनमा उहाँले आफूलाई सारा मानवजातिका मुख्य न्यायकर्ताको रूपमा प्रकट गर्नुहुनेछ (प्रकाश २० हेर्नुहोस्) ।


न्याय गर्दाखेरि परमेश्वर कहिल्यै पनि गलत हुनुहुन्न । उहाँ सदैव धर्मी हुनुहुन्छ (यहोशू ७; मत्ती २३; लूका २; प्रेरित ५; रोमी ९ हेर्नुहोस्) । कहिलेकाहीँ न्यायमा हुने उहाँका उद्देश्यहरू सुधार गराउने, छुटकारा दिने र पुनस्र्थापना गर्ने हुन्छन्, जसरी उहाँले आफ्ना सन्तानलाई अनुशासन गर्दा उद्देश्यहरू लिनुहुन्छ । कहिलेकाहीँ उहाँका उद्देश्यहरू उचित दण्ड दिने, बदला दिने र अन्तिम हुन्छन्, जसरी उहाँले अधर्मीमाथि आफ्नो क्रोध खन्याउँदा उद्देश्यहरू लिनुहुन्छ (हिब्रू १२ हेर्नुहोस्) । जसरी पनि, परमेश्वरको न्याय सदैव धर्मी हुन्छ ।


आजका धेरै मानिसहरूलाई छक्क पार्न सक्ने कुरा यो हो कि परमेश्वरले आफ्नो न्याय कार्यान्वयन गर्नको लागि कहिलेकाहीँ मानव प्राणीहरूलाई चलाउनुहुन्छ । राज्यलाई त्यसका नागरिकहरूको न्याय गर्ने जिम्मेवारी दिइन्छ (रोमी १३ हेर्नुहोस्) । ख्रीष्टियानहरूलाई आफैलाई न्याय गर्न भनिएको छ (१ कोरिन्थी ११:२८; हिब्रू ४; २ पत्रुस १:५ हेर्नुहोस्) । चर्च समुदायलाई कहिलेकाहीँ चर्चका सदस्यहरूलाई न्याय गर्न पनि भनिएको छ — परमेश्वरले न्याय गर्नुहुने अन्तिम तरिका झैँ त होइन ।


मत्ती १८, १ कोरिन्थी ५ र ६ मा, र जताततै, चर्चलाई आफैभित्र न्याय गर्न निर्देशन दिइएको छ । यो न्याय छुटकारा दिनको लागि हो, बदला दिनको लागि होइन (रोमी १२:१९) । पावलले कोरिन्थको चर्चलाई त्यो व्यभिचारी मानिसलाई शैतानको हातमा सुम्पिन लगाए “ताकि त्यसको पापमय स्वभाव नास होस्, अनि … त्यसको आत्माचाहिँ बाँचोस्” (१ कोरिन्थी ५:५) । तिनले एफिससका झूटा शिक्षकहरूको विषयमा पनि त्यही कुरा भन्छन् (१ तिमोथी १:२०) ।


बन्द कि खुला ?
परमेश्वरले हामीलाई निश्चित किसिमका न्यायहरू वा अनुशासनहरू गर्न लगाउनुहुन्छ भन्ने कुरा देखेर हामी छक्क पर्नुहुँदैन । ख्रीष्टियानहरू कसरी जिउनुपर्छ भन्ने विषयमा चर्चहरूले केही कुरा भन्नुपर्दछ भन्ने अपेक्षा राखिन्छ भने तिनीहरूले ख्रीष्टियानहरू कसरी जिउनु हुँदैन भन्ने बारेमा पनि केही कुरा भन्नुपर्दछ । तैपनि मलाई फिक्री लाग्दछ कि धेरै चर्चहरूले चेलापनलाई चुहिने गाग्रीमा पानी खन्याए जसरी लिन्छन् — के कुरा खन्याउने भन्ने कुरामा मात्र सबै ध्यान केन्द्रित गरिन्छ, तर त्यसलाई कसरी लिइएको छ र राखिएको छ भन्ने कुराप्रति कत्ति पनि ध्यान दिइँदैन । यो प्रवृत्तिको एउटा चिन्हचाहिँ गएका केही पुस्ताहरूमा चर्च अनुशासनको अभ्यासमा कमी आउनु हो ।


चर्च – वृद्धिको बारेमा लेख्ने एकजना लेखकले हालसालै चर्चहरू वृद्धि गराउने आफ्नो रणनीतिलाई यसो भनेर सारांशित गरे, “अगाडिको ढोका खोल्नुहोस् र पछाडिको ढोका बन्द गर्नुहोस् ।” तिनको आशय यो हो कि चर्चहरूले आफूलाई बाहिरकाहरूको निम्ति अझ बढी भेट्टाउन सकिने बनाउनुपर्दछ जबकि उत्तम तरिकाले अनुगमन पनि गर्नुपर्दछ । यी असल लक्ष्यहरू हुन् । तैपनि मलाई लाग्दछ कि आजका अधिकांश पास्टरहरू तथा चर्चहरूले यसो गर्ने आकांक्षा लिइसकेका छन् र सफल भएका छैनन् । त्यसैले मैले अझ बढी बाइबलीय रणनीति भनी विश्वास गर्ने कुरा म प्रस्तुत गर्न चाहन्छुः अगाडिको ढोकाको होशियारी पूर्वक रक्षा गर्नुहोस् र पछाडिको ढोका खुला राख्नुहोस् । अर्को शब्दमा, एकातिर सामेल हुन बढी कठिन बनाउनुहोस्, र अर्कोतिर निकाल्न अति सजिलो बनाउनुहोस् । स्मरण रहोस् — जीवनमा पस्ने बाटो साँघुरो हुन्छ, फराकिलो हुँदैन । यसो गर्नुले चर्चहरूलाई संसारदेखि भिन्दै हुने परमेश्वरको लक्ष्य पुनः हासिल गर्नमा सहायता हुनेछ भनी म विश्वास गर्दछु ।


त्यसकारण अनुशासन लागू गर्ने सुरुका कदमहरूमध्ये पहिलो कदमचाहिँ नयाँ सदस्यहरूलाई ग्रहण गर्दा अत्यन्त होश पुर्याउनु हो । सदस्यताको लागि आवेदन दिने हरेक व्यक्तिलाई चर्चले सुसमाचार के हो भनी सोध्नुपर्छ र ख्रीष्टलाई आदर दिने जीवन कस्तो हुन्छ भन्ने बुझाइको केही प्रमाण दिन प्रत्येकलाई अनुरोध गर्नुपर्दछ । सदस्यताको आवेदन दिनेहरूले आफूबाट चर्चले के अपेक्षा गर्दछ भन्ने कुरा र समर्पणको महत्व बुझेर धेरै फाइदा पाउनेछन् । यदि चर्चहरू नयाँ सदस्यहरूलाई पहिचान गर्ने र ग्रहण गर्ने कार्यमा बढी होसियार हुन्छन् भने तिनीहरूले पछि सुधार गराउने चर्च अनुशासन लागू गर्ने थोरै मौका पाउनेछन् ।


जवाफदेही तरिकाले अनुशासन गर्नु
चर्च अनुशासन खराब तरिकाले गर्न सकिन्छ । नयाँ करारले अरूलाई आरोप लगाउन सकिने अभिप्रायहरूको लागि अरूको न्याय नगर्न (मत्ती ७ः१ हेर्नुहोस्), वा अनावश्यक विषयहरूमा एकअर्काको न्याय नगर्न सिकाउँछ । (रोमी १४–१५ हेर्नुहोस्) । अनुशासन लागू गर्दा, हाम्रा व्यवहारहरू प्रतिशोधपूर्ण हुनुहुँदैन, तर प्रेममय, “होशियारीसाथ दया” देखाउने हुनुपर्दछ (यहूदा २३) । चर्च अनुशासन बुद्धि र पास्टरीय प्रयोगका समस्याहरूले भरिएको हुन्छ भन्ने कुरामा कुनै द्विविधा छैन । तर हामीले स्मरण गर्नुपर्दछ कि सम्पूर्ण ख्रीष्टियान जीवन नै कठिन हुन्छ र दुर्व्यवहार भोग्नुपर्ने हुन सक्दछ । अनि हाम्रा कठिनाइहरूलाई कुनै कुरालाई लागू नगर्ने बहानाको रूपमा प्रयोग गर्नुहुँदैन ।


हरेक स्थानीय चर्चसँग आफ्ना अगुवाहरू र सदस्यहरूका जीवन र शिक्षालाई न्याय गर्ने जिम्मेवारी हुन्छ, विशेष गरी दुवैले सुसमाचारप्रति चर्चले दिने साक्षीमा आँच पुर्याउँदाखेरि (प्रेरित १७; १ कोरिन्थी ५; १ तिमोथी ३; याकूब ३:१; २ पत्रुस ३; २ यूहन्ना हेर्नुहोस्)।


बाइबलीय चर्च अनुशासन परमेश्वरप्रतिको सामान्य आज्ञाकारिता र हामीलाई सहायता चाहिन्छ भन्ने कुराको स्वीकारोक्ति हो । के तपाईं यस्तो संसारको कल्पना गर्न सक्नुहुन्छ जसमा परमेश्वरले आफ्नो न्याय कार्यान्वयन गर्नको लागि हाम्रा सङ्गी मानव प्राणीहरूलाई कहिल्यै पनि प्रयोग गर्नुहुन्न, जसमा बुबाआमाले छोराछोरीलाई कहिल्यै पनि अनुशासन गर्दैनन्, राज्यले अपराधीहरूलाई कहिल्यै पनि सजाय दिँदैन, र चर्चहरूले आफ्ना सदस्यहरूलाई कहिल्यै पनि हप्काउँदैनन् ? तब त हामी सबैजना सांसारिक न्यायको मार कहिल्यै पनि महसुस नगरीकन न्यायको दिनमा आइपुग्छौँ र अझ ठूलो न्यायको पूर्वचेतावनी नपाईकन नै त्यो हामीमाथि आइपर्दछ । परमेश्वर कति कृपालु हुनुहुन्छ कि उहाँले यी क्षणिक ताडनाहरूद्वारा आउनेवाला निश्चित न्यायको बारेमा अहिले नै हामीलाई सिकाउनुहुन्छ (लूका १२:४–५ हेर्नुहोस्) ।


सुधार गराउने चर्च अनुशासन लागू गर्नुका पाँच कारणहरू यहा दिइएका छन् । यसले निम्न कुराप्रति प्रेम देखाउँछः
हाम्रो पवित्रताले परमेश्वरको पवित्रतालाई झल्काउनुपर्दछ ।

➔अनुशासन गरिने व्यक्तिको भलाइ
➔अरू ख्रीष्टियानहरू जसले पापको खतरा देख्छन्
➔समग्र चर्चको स्वस्थ
➔चर्चका सामूहिक साक्षी र, त्यसकारण, समुदाय गैर ख्रीष्टियानहरू;
➔र परमेश्वरको महिमा ।

हाम्रा पवित्रताले परमेश्वरको पवित्रतालाई झल्काउनुपर्छ । हाम्रो घमण्डको लागि होइन, तर परमेश्वरको नामको लागि, चर्चको सदस्य हुनुले कुनै अर्थ दिनुपर्दछ । बाइबलीय चर्च अनुशासन स्वस्थ चर्चको अर्को महत्वपूर्ण चिन्ह हो।

यो लेख मार्क डेभरद्वारा लिखित “एक स्वस्थ चर्च भनेको के हो ?” बाट साभार गरिएको हो । तपाईं यस पुस्तक पढ्न चाहनुहुन्छ भने यहाँबाट अनलाइन अर्डर गर्न सक्नुहुनेछ ।

आफ्नो माया साझा गर्नुहोस्
मार्क डेभर
मार्क डेभर

मार्क डेभर (पि.एच.डी, युनिभर्सिटी अझ क्याम्ब्रिज), ह्वाट डज गड वान्ट्स असएनिवे ? र अन्य धेरै पुस्तकहरूका लेखकसमेत हुनुहुन्छ । साथै, उहाँ वासिङ्गट्न डि.सीस्थित क्यापिटल हिल बप्तिस चर्चका वरिष्ठ पास्टरको रूपमा सेवा गर्नुहुन्छ । पास्टरीय जिम्मेवारी बाहेक उहाँ ९चिन्हरूका अध्यक्ष पनि हुनुहुन्छ ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।