प्रचारको वरदानः पवित्र आत्माको शक्ति

प्रचारको कार्यमा हामी पवित्र आत्मामा कति निर्भर छौं। साँचो प्रचार सधैं गहिरो हताशको भावनाबाट सुरु हुन्छ। शनिवार बिहान उठ्दा, तपाईं एकतर्फ नरकको धुवाँको गन्ध र अर्कोतर्फ स्वर्गको ताजा हावा महसुस गर्नुहुन्छ। आफूले तयार पारेको कमजोर र असहाय वचनहरू हेर्दै घुँडा टेक्नुहुन्छ र भन्नुहुन्छ, “हे परमेश्वर, यो कति कमजोर छ! मैले आफूलाई के ठानेको छु ? यो तीन घण्टामा मेरो वचन मृत्युको लागि मृत्युकै गन्ध र जीवनका लागि जीवनकै सुगन्ध हुनेछन् भन्ने सोच्नु ठुलो दुस्साहस हो (२ कोरिन्थी २:१६)। हे परमेश्वर, यी कुराहरूका लागि को योग्य छ ?”
फिलिप्स ब्रुक्सले जवान प्रचारकहरूलाई यसरी परामर्श दिन्थेः “आफूलाई कहिल्यै आफ्नो कामको लागि योग्य ठान्न नदिनुहोस्। यदि यस्तो सोच तपाईमा पलाउन थाल्छ भने, डराउनुहोस् ।” डराउनुको एउटा कारण यो हो, कि तपाईको पिता परमेश्वरले तपाईलाई तोड्नुहुनेछ र नम्र बनाउनुहुनेछ । के परमेश्वरले तपाईलाई प्रचारको सेवामा पावलको भन्दा फरक तरिकाले तयार पार्नुहुनेछ भन्ने सोचाइ राख्ने कुनै कारण छ ?
हामी सहन नसक्ने किसिमले यति साहो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर हुन आयो । (२ को. १:८-९)
तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो। (२ को. १२:७)
प्रचारको सेवामा आत्म-निर्भरता र आत्म-प्रशंसाको खतराहरू यति गुप्त र गहिरो हुन्छ, कि परमेश्वरले हामीलाई हाम्रो आत्म-आश्वासन र व्यावसायिक सिपको भरमा रहने प्रवृत्तिलाई चिर्न आवश्यक परेमा हामीलाई प्रहार गर्नुहुनेछ।
पावलले १ कोरिन्थी २:३ मा लेख्छन्, कि उनी “दुर्बलतामा र ज्यादै डर र कम्पसाथ” प्रचार गर्न आए। उनले परमेश्वरको महिमाको अगाडि श्रद्धा गरे, आफ्नो घमण्ड तोडे, खीष्टसँग क्रूसमा टाँगिए, र घतलाग्दो र बुद्धिपूर्ण शब्दको घमण्ड त्यागे। अनि के भयो ? आत्मा र शक्तिको प्रदर्शन भयो (२:४)!
यदि हाम्रो प्रचारमा आत्मा र शक्तिको प्रदर्शन छैन भने, जति मानिसहरूले हाम्रो तर्कलाई प्रशंसा गरून्, उदाहरणहरू मन पराउन्, वा शिक्षाबाट सिकून्, कुनै पनि स्थायी मूल्य हासिल हुनेछैन । प्रचारको मुख्य उद्देश्य भनेको परमेश्वरको महिमा उहाँका मानिसहरूको आनन्दपूर्ण समर्पणतामा प्रकट गर्नु हो। तर, पूर्ण रूपमा मानव प्रयासजस्तो देखिने कामबाट परमेश्वरले कसरी महिमा पाउनुहुन्छ ? यस प्रश्नको स्पष्ट उत्तर १ पत्रुस ४:१०-११ मा पाइन्छः
जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझै ती एक-अर्काको निम्ति प्रयोग गर। यदि कसैले बोल्दछ भने, परमेश्वरको वचन बोलेजस्तै त्यसले बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू खीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्। उहाँलाई नै
महिमा र पराक्रम सदासर्वदा होस् । आमेन।
अर्को शब्दमा, पत्रुस भन्छन्, जब बोल्ने र सेवा गर्ने कुरा आउँछ, परमेश्वरको शक्तिमा भरोसा गरेर परमेश्वरका वचनहरू बोल्नुहोस्, र परिणामस्वरूप परमेश्वरको महिमा हुनेछ। अथवा यसलाई अर्कै तरिकामा भन्नुपर्दा, प्रचारमा जसले योजना बनाउँछ र शक्ति प्रदान गर्छ, महिमा पनि उसैको हुन्छ । त्यसैले, यदि प्रचारको उद्देश्य पूरा गर्नु हो भने, हामीले परमेश्वरको आत्माद्वारा प्रेरित वचनलाई परमेश्वरको आत्माद्वारा दिइएको शक्तिमा प्रचार गर्नैपर्छ।
त्यसैले, आउनुहोस् प्रचारका यी दुई पक्षहरूमा ध्यान केन्द्रित गरौं- पवित्र आत्माद्वारा प्रेरित परमेश्वरका वचनहरू र उहाँको आत्माको अभिषेकद्वारा प्राप्त परमेश्वरको शक्ति। जबसम्म हामी पूर्ण नम्रताका साथ आत्माको वचन र आत्माको शक्तिमा भरोसा गर्न सिक्दैनौँ, तबसम्म हाम्रो प्रचारमा परमेश्वरले महिमा पाउनु हुनेछैन ।
१. आत्माको वचन अर्थात् बाइबलको वरदानमा भर पर्नु
प्रचारमा बाइबलको प्रयोगबारे कति धेरै महत्त्वपूर्ण कुरा भन्न बाँकी छ। यस बिन्दुमा पवित्र आत्मामा भर पर्नुको अर्थ, “सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,” भनेर हृदयदेखि विश्वास गर्नु हो (२ तिमोथी ३:१६) । यसको अर्थ यो विश्वास गर्नु हो, कि “मानिसको इच्छा बाट कुनै अगमवाणी आएन [जुन २ पत्रुस १:१९ को सन्दर्भमा पवित्र-धर्मशास्त्र भन्ने हुन्छ, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्” (२ पत्रुस १:२१)। साथै, धर्मशास्त्रका शब्दहरू “मानिसहरूको बुद्धिले सिकाएका शब्दहरू होइन, तर पवित्र आत्माले सिकाउनुभएका आत्मिक शब्दहरू” (१ कोरिन्थी २:१३) हुन् भनी दृढ आत्मविश्वास राख्नु हो।
जहाँ बाइबललाई परमेश्वरद्वारा प्रेरित र त्रुटिरहित वचनको रूपमा आदर गरिन्छ, त्यहाँ प्रचार फस्टाउन सक्छ। तर जहाँ बाइबललाई केवल बहुमूल्य धार्मिक अन्तर्दृष्टिको अभिलेखको रूपमा लिइन्छ, त्यहाँ प्रचार मर्छ।
तर, बाइबललाई त्रुटिरहित मानिएको ठाउँमा प्रचार स्वतः फस्टाउँछ भन्ने हुँदैन । आजको सुसमाचारवादी चर्चहरूमा बाइबलीय प्रचारको शक्ति र अधिकारलाई कमजोर पार्ने अन्य प्रभावकारी तरिकाहरू पनि छन् । त्यहाँ व्यक्तिगत अनुभव र धारणाहरू छन्, जसले तथ्यगत प्रकाशलाई कमजोर पार्छन् । केही भाषाशास्त्रीय सिद्धान्तहरू छन्, जसले अस्पष्टताको वातावरण सिर्जना गर्छन् । अनि त्यहाँ लोकप्रिय सांस्कृतिक सापेक्षवाद छ जसले मानिसहरूलाई असहज लाग्ने बाइबलीय शिक्षाहरूलाई सजिलै अस्वीकार गर्न प्रेरित गर्छ।
जहाँ यस्ता प्रवृत्तिहरूले चर्चमा जरा गाडेर बस्छन्, त्यहाँ बाइबल मौन हुनेछ र प्रचार केवल वर्तमान विषयवस्तु र धार्मिक विचारहरूको प्रतिविम्ब मात्र बन्छ । पावलले तिमोथीलाई यसो भन्नुको तात्पर्य पक्कै पनि यो होइन, जब उनले भनेः “परमेश्वरको सामने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको सामने, अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु, वचन प्रचार गर…..!” (२ तिमोथी ४:१-२)। यहाँ ‘वचन’ शब्दमा जोर दिइएको छ। सबै ख्रीष्टियान प्रचारहरूमा बाइबलीय
पाठहरूको व्याख्या र अनुप्रयोग हुनुपर्छ। परमेश्वरले पठाउनुभएको प्रचारकको रूपमा हाम्रो अधिकार पवित्रशास्त्रको खण्डप्रति हाम्रो स्पष्ट वफादारीमा निर्भर गर्छ। मैले स्पष्ट’ भन्नुको कारण के हो भने, त्यहाँ धेरै यस्ता प्रचारकहरू छन् जसले आफूले व्याख्या गरिरहेको दाबी गर्छन्, तर उनीहरूले आफ्नो व्याख्यालाई स्पष्ट रूपमा खण्डमा आधारित बनाउँदैनन् । तिनीहरूले आफ्ना श्रोताहरूलाई स्पष्ट रूपमा यो कुरा देखाउँदैनन्, कि तिनीहरूको प्रचारका दाबीहरू धर्मशास्त्रका विशिष्ट पठनीय वचनहरूबाट आएका छन्, जुन श्रोताहरू आफै देख्न सक्छन् ।
मैले आलोचना गर्ने युवा प्रचारकहरूमा देखिने सबैभन्दा ठुलो समस्या भनेको उनीहरूले आफ्ना विचारहरूलाई समर्थन गर्ने बाइबलीय पदहरू उद्धृत गर्न नसक्नु हो । म छक्क पर्छ । के उनीहरूलाई मूल खण्डको सार बुझिसकेपछि बाँकी तिस मिनेटसम्म गफ हाँक्न सकिन्छ भनेर सिकाइएको त छैन ? यस्तो प्रचारको परिणामस्वरूप मानिसहरू परमेश्वरको वचनको खोजीमा छोडिन्छन् र प्रचारकले भनेको कुरा साँच्चिकै बाइबलमा छ कि छैन भन्ने शङ्कामा पर्छन् ।
बरु, पढेलेखेका पश्चिमी संस्कृतिमा, हामीले मानिसलाई बाइबल खोल्न र खण्डमा आफ्नो औंला राख्न लगाउनुपर्छ । त्यसपछि हामीले पाठको केही भाग उद्धृत गरी यसको अर्थ व्याख्या गर्नुपर्छ । तिनीहरूलाई यो पदको कुन अंशमा पर्छ भनेर बताइदिनुपर्छ । मानिसहरूले पास्टरका विचारहरू कहाँबाट आइरहेका छन् भनेर थाहा नपाउँदा सन्देशको समग्र अर्थ गुमाउँछन् । त्यसपछि हामीले अर्को पाठ उद्धृत गरी यसको अर्थ व्याख्या गर्नुपर्छ । हाम्रो व्याख्याले अन्य धर्मशास्त्रका अंशहरूलाई समेट्नेछ। तिनीहरूलाई उद्धृत गर्नुहोस् !
“येशूले डाँडाको उपदेशमा भन्नुभएझैं” जस्ता सामान्य कुराहरू नगर्नुहोस् । अन्ततः हामीले यसलाई तिनीहरूको हृदयमा गहिरो प्रभावका साथ लागू गर्नुपर्छ ।
यदि हामी मानिसहरूलाई बताउँछौँ, तर पाठबाट देखाउँदैनौँ भने, हामी उनीहरूमाथि अधिकार प्रदर्शन गरिराखेका हुन्छौँ। यसले परमेश्वरको वचन र पवित्र आत्माको कामको आदर गर्दैन । म तपाईलाई आग्रह गर्दछु, कि तपाईं पवित्र आत्मामा भर पर्नुहोस् र आफ्नो प्रचारलाई उहाँले प्रेरित गर्नुभएको वचनले भरपुर बनाउनुहोस् ।
हामीले वचनको व्याख्या गर्न सहायताको लागि पवित्र आत्मामा भर पर्नुपर्छ । पावलले १ कोरिन्थी २:१३-१४ मा भनेका छन्, कि उनले “पवित्र आत्माले सिकाउनुभएअनुसार हामी आत्मिक शब्दहरूमा आत्मिक सत्यताहरूको अर्थ खोल्दछौँ। जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् ।” अर्को शब्दमा, हामीलाई बाइबलप्रति विनम्र बनाउन पवित्र आत्माको आवश्यकता पर्दछ । पवित्र आत्माको कार्य व्याख्यामा जानकारी थप्नु होइन, बरु राम्रो अध्ययन गर्नको लागि अनुशासन दिनु हो, र हामीले पत्ता लगाएको सत्यतालाई नबङ्ग्याइकन स्वीकार गर्ने विनम्रता दिनु हो, र उहाँको प्रबन्धात्मक मार्गदर्शनअनुसार हाम्रा कामहरूमा प्रायः आवश्यक पर्ने ज्ञान र अन्तर्दृष्टि दिनु हो।
म तपाईलाई पवित्र आत्मामा विश्वास राखेर परमेश्वरको वचन, बाइबलमा भर पर्ने मामलामा जोन वेस्लीजस्तै हुनुहोस् भनी उत्साह दिँदछु । उनले भनेका थिए, “मलाई त्यो पुस्तक दिनुहोस्। जुनसुकै मूल्यमा मलाई परमेश्वरको पुस्तक दिनुहोस्! मसँग परमेश्वरको पुस्तक छः यहाँ नै मेरो लागि पर्याप्त ज्ञान छ। मलाई एउटै पुस्तकको मानिस हुन दिनुहोस् ।”
यो भन्नुको अर्थ यो होइन, कि अन्य पुस्तकहरू पढ्नु वा आधुनिक संसारलाई बुझ्नु महत्त्वपूर्ण छैन, तर ठुलो खतरा भनेको बाइबल अध्ययनलाई बेवास्ता गर्नु हो । जब तपाई सेमिनारी सक्नुहुन्छ र चर्चको सेवामा व्यस्त हुनुहुन्छ, त्यहाँ तपाईलाई अध्ययन गर्न बाध्य पार्ने कुनै पाठ्यक्रम, गृहकार्य र शिक्षकहरू हुँदैनन् । त्यहाँ केवल तपाई, अनि तपाईको बाइबल र तपाईका पुस्तकहरू हुनेछन् । अनि अधिकांश प्रचारकहरू जोनाथन एडवर्ड्सले २० वर्षको उमेरमा गरेकोजस्तो दृढ सङ्कल्प गर्न नसक्ने किसिमका हुन्छन्ः “धर्मशास्त्रलाई यस्तो स्थिरताका साथ, निरन्तर, र बारम्बार अध्ययन गर्ने सङ्कल्प गर्नेछु, ताकि म ती धर्मशास्त्रहरूमा आफैलाई बढ्दो रूपमा वृद्धि भएको स्पष्ट रूपमा अनुभव गर्न सकूँ।””
वास्तवमा प्रभावकारी प्रचारकहरू सधैं परमेश्वरका वचनमा वृद्धि हुँदै आएका छन् । उनीहरूको आनन्द परमेश्वरको व्यवस्थामा हुन्छ र उनीहरूले दिनरात त्यो व्यवस्थामा मनन गर्छन् (भजनसङ्ग्रह १:२)। स्पर्जनले जोन बन्यानको बारेमा यसो भनेका थिए, “उनलाई जहाँ पनि घोच्नुहोस्; बाइबलका पदहरू उनको रगतको रूपमा बाहिर आएको तपाईले देख्नुहुनेछ । उनी कुनै पद उद्धृत नगरी बोल्न सक्दैनन्, किनकि उनको आत्मा परमेश्वरको वचनले भरिएको छ र हाम्रो आत्मा पनि यसरी नै परमेश्वरको वचनले भरिनुपर्छ । पवित्र आत्माको वचनको वरदानमा भर पर्नुको अर्थ यही नै हो।
२. प्रचारमा पवित्र आत्माको शक्तिको वरदानमा भर पर्नु
अब हामी प्रचारको समयमा हामीले वास्तविक रूपमा अनुभव गर्ने पवित्र आत्माको शक्तिको बारेमा चर्चा गर्नेछौँ। १ पत्रुस ४:११ ले भन्छ, “यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस् ।” जसले शक्ति दिन्छ, उसले महिमा पाउँछ। तपाई कसरी यसरी प्रचार गर्नुहुन्छ ? व्यावहारिक तवरमा अरूको शक्तिमा प्रचार गर्ने काम कस्तो देखिन्छ ?
पावलले १ कोरिन्थी १५:१० मा पनि यस्तै कुरा भनेका छन्ः “मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो ।’
अनि रोमी १५:१८ मा पावल भन्छन्, “वचन र कामले अन्यजातिहरूलाई आज्ञाकारी बनाउनलाई खीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्ने आँट म गर्दिनँ।” तपाई आफ्नै शक्ति होइन, तर परमेश्वरको शक्ति प्रदर्शन गर्ने तरिकामा कसरी प्रचार गर्नुहुन्छ ?
म आफ्नो जीवन र प्रचारमा यो प्रश्नको जवाफ निरन्तर सिकिरहेको छ । दुई दशकभन्दा बढी साप्ताहिक रूपमा प्रचार गरिसक्दा पनि म प्रायः भर्खर प्रचार गर्न सिक्दैछु जस्तो महसुस गर्छु। त्यसैले मैले “पवित्र आत्माको शक्तिमा तपाईले यसरी प्रचार गर्नुपर्छ” भनी भन्नु एकदमै जोखिमपूर्ण कुरा हो। तर, आत्माको यस बहुमूल्य र अपरिहार्य अनुभवको खोजीमा म कहाँ छु भनेर तपाईलाई बताउन चाहन्छु ।
आफ्नै शक्तिमा होइन, तर परमेश्वरले दिनुहुने शक्तिमा प्रचार गर्न म पाँचवटा चरणहरू पछ्याउँछु । यी चरणहरूलाई म एउटा सङ्क्षिप्त नाममा सारांशित गर्छु, ताकि मेरो मन डर वा विचलनले घेरिएको बेला, म तिनीहरूलाई सम्झन सकूँ। यसको सङ्क्षिप्त नाम APTAT हो, अर्थात् स्वीकार (Admit), प्रार्थना (Pray), भरोसा (Trust), काम (Act), र धन्यवाद (Thank) |
कल्पना गर्नुहोस्, म बेथलहेम बप्तिस्ट चर्चको अगाडिको कुर्चीमा बसेको छु । मैले उठेर प्रचार गर्नलाई दुई मिनेट बाँकी छ। एक जना एल्डर वा प्रशिक्षार्थी उठेर प्रवचनको खण्ड पढ्नका लागि अगाडि जान्छन्। जब तिनी पढ्न थाल्छन्, म प्रचारको पवित्र कार्यमा जानु अघि अन्तिम पटक प्रभुसामु शिर निहुराउँछु। म प्रायः सधैं आफ्नो हृदय एपीटीएटी (APTAT) मार्फत प्रभुको सामु राख्दछु ।
१. म परमेश्वर अगि स्वीकार गर्छु (Admit), कि उहाँ बिना म केही गर्न सक्दिनँ। यस क्षणमा म, यूहन्ना १५:५ मेरो बारेमा पूर्णतया सत्य छ भन्ने कुरामा सहमत हुन्छुः “मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।” म परमेश्वर अगि स्वीकार गर्छुः तपाईबिना मेरो हृदय धड्कदैन। तपाईबिना मेरा आँखाले देख्न सक्दैन। तपाईबिना मेरो स्मरणशक्ति कमजोर हुनेछ। तपाईबिना म ध्यान विकर्षण र आत्मचेतनाले ग्रसित हुनेछु । तपाईबिना म तपाईको वास्तविकतामा शङ्का गर्नेछु। तपाईबिना म मानिसहरूलाई प्रेम गर्न सक्दिनँ। तपाईबिना मैले बोल्न लागेका सत्यतालाई लिएर मैले अवाक् महसुस गर्नेछैन । तपाईबिना वचन सुन्नलाई कानहरू बहिरा हुनेछन् । तपाईबाहेक मृतकलाई कसले जीवित बनाउन सक्छ ? तपाईबिना, हे परमेश्वर, म केही गर्न सक्दिनँ।
२. यसकारण, पिता, म सहायताको लागि प्रार्थना (Pray) गर्दछु । तपाईको नाउँको महिमा, तपाईका मानिसहरूको आनन्द र तपाईका चुनिएकाहरूको भेलाको निम्ति यो सन्देश प्रचार गर्न आवश्यक अन्तर्दृष्टि, शक्ति, नम्रता, प्रेम, स्मृति र स्वतन्त्रताको लागि म
बिन्ती गर्दछु । म तपाईको यो निमन्त्रणा स्वीकार्दछु, “सङ्ङ्कष्टको दिनमा मलाई पुकार्, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस् (भज, ५०:१५) ।
अनि मैले यो पनि उल्लेख गर्नुपर्छ, कि प्रवचनको लागि यो मेरो प्रार्थनाको सुरुवात थिएन । यसको तयारी निरन्तर सहायताका लागि गरिएको प्रार्थनामा भएको थियो । मैले पहिलो सेवाभन्दा साढे तीन घण्टा अगाडि उठेर, चर्च जानुअघि मेरो हृदयलाई सकेसम्म तयार पार्न दुई घण्टा खर्चेको थिएँ। त्यस समयमा, म वचनमा एउटा प्रतिज्ञा खोज्छु, जुन ती अन्तिम मिनेटहरूमा एपीटीएटीको अर्को चरणको आधार हुनेछ ।
३. अर्को चरण हो, भरोसा (Trust)। म परमेश्वरको भलाइमा सामान्य तवरले मात्र होइन, तर एउटा विशेष प्रतिज्ञामा भरोसा गर्छु, जसमा म त्यस घडीको लागि आफ्नो आशा राख्न सक्छु । ती क्षणहरूमा शैतानको आक्रमणको सामना गर्न परमेश्वरको विशेष वचनमा आधारित यो प्रकारको भरोसा अत्यन्त जरुरी हुन्छ। हालै मैले भजनसंग्रह ४०:१७द्वारा आफूलाई बलियो बनाएँ: “तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून् । तपाई मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्!” म बिहान सबेरै यो पद कण्ठ गर्छु, त्यो क्षणमा आफैंलाई दोहोऱ्याएर सुनाउँछु, यसलाई विश्वास गर्छु, शैतानको विरोध गर्छु, र…
४. परमेश्वरले आफ्नो वचन पूरा गर्नुहुनेछ भन्ने विश्वासमा म यो काम (Act) गर्छु। अनि म यो कुराको गवाही दिन सक्छु, यद्यपि मैले चाहेको सम्पूर्ण आशिषहरू अझै पूरा भएका छैनन् । परमेश्वरले मलाई र मेरा मानिसहरूलाई उहाँको महिमा र उहाँका जनहरूको आनन्दित समर्पणको प्रदर्शनमा फेरि भेट्नुभएको छ। यसले अन्तिम चरणमा पुऱ्याउँछ ।
५. म प्रवचनको अन्त्यमा परमेश्वरलाई धन्यवाद (Thank) दिन्छु, कि उहाँले मलाई शक्ति दिनुभयो र उहाँको वचनको सत्यता र उहाँको क्रूसको खरिदलाई उहाँको नाउँको महिमाको लागि उहाँको आत्माको शक्तिमा केही हदसम्म प्रचार गरिएको छ।
अनि मेरो सपना यही छ, कि बिस वर्षपछि कोही बयालिस वर्षीय प्रचारक मेरो भन्दा सय गुणा बढी फलदायी सेवकाइको साथ आफ्नो पुल्पिटमा खडा हुनेछन् र भन्नेछन्, “जोन पाइपरले कहिल्यै थाहा पाउनुभएन, तर जब म उहाँको प्रवचन सुन्दै थिएँ; परमेश्वरको महिमा, ख्रीष्टको क्रूस र आत्माको शक्ति ईन्कार गर्न नसकिने किसिमको थियो। त्यसबेला परमेश्वरले मलाई वचनको सेवाको लागि बोलाउनुभयो ।”
– जोन पाइपर