
येशूको बारेमा प्रेरितीय गवाही
पवित्र धर्मशास्त्रले हामीलाई ख्रीष्टको चित्र सुसमाचारको पुस्तकहरूमा मात्र नभएर प्रेरितहरूको गवाहीद्वारा पनि दिन्छ । प्रेरित पावलले ख्रीष्टको सेवकाइलाई मुक्तिदाताको रूपमा प्रकट गरेका छन् । ख्रीष्टले कसरी हाम्रो मध्यस्थकर्ताको रूपमा हाम्रो मुक्ति हासिल गर्नुभयोे भन्ने विषयमा पापको प्रायश्चितलाई व्याख्या गरेका छन् । पत्रुस, यूहन्ना र हिब्रूको पत्रहरूमा पनि हामी ख्रीष्टको चित्रलाई पाउँछौ । जहाँ ख्रीष्टलाई “परमेश्वरको महिमाको प्रतिविम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप” (हिब्रू १ः३) साथै, उहाँ स्वर्गदुत, मोशा र पुरानो करारका पूजारीहरू भन्दा पनि महान् हुनुहुन्छ भनेर प्रकट गरिएको छ । मत्तीदेखि प्रकाशको पुस्तकसम्मको मुख्य र केन्द्रिय विचार भनेकै ख्रीष्ट हुनुहुन्छ ।
केही मानिसहरू यस कुरामा विरोध पनि गर्छन, र नयाँ करारको येशूको चित्र उहाँका पक्षमा भएका मानिसहरूद्वारा उद्देश्यपूर्ण तरिकाले कोरिएको चित्र हो भन्ने अभिप्रायतर्फ ध्यान आकर्षण गराउन चाहन्छन् । तिनीहरू भन्छन् कि सुसमाचारका पुस्तकहरू एक सत्य इतिहास होइन, तर उहाँको प्रेरितहरूद्वारा मानिसहरूलाई येशूको बारेमा बताउन र उहाँलाई पछ्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित लेखिएको इतिहास हो । अवश्य पनि, प्रेरितहरूले उद्देश्यसहित नयाँ करारका पुस्तकहरू लेखेका थिए तर त्यो उद्देश्य मानिसहरूबाट गुप्त राखिएको थिएन । प्रेरित यूहन्नाले प्रस्ट रूपमा भनेका छन्, “तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्”
(यूहन्ना २०ः३१) ।
बाइबलका लेखकहरू ख्रीष्टलाई विश्वास गर्नेहरू थिए । र तिनीहरू अरू मानिसहरूलाई पनि ख्रीष्टमा विश्वास गराउनका निम्ति उत्साहित थिए भन्ने कुराले तिनीहरूको सत्यताको पुष्टि गर्छ । यदि तिनीहरूले आफूचाँहि ख्रीष्टमा विश्वास नगर्ने तर अरू मानिसहरूलाई चाहिँ ख्रीष्टमा विश्वास गराउन प्रोत्साहन गर्थे भने, तिनीहरू आफ्नो छलकपटको निम्ति दोषी ठहरिने थिए । निश्चय पनि कोही मानिस आफैँले घोषणा गरेको कुरामा गलत हुनसक्छ, तर प्रेरितहरूले आफ्नो मृत्युसम्म नै आफूले घोषणा गरेका कुरामा विश्वास गरेभन्ने सत्यताले तिनीहरूको विश्वसनियतालाई अझ बढी मजबुत बनाँउछ । हो ! प्रेरितहरूले लेखेको इतिहास एक उद्धारको इतिहास थियो । कारण, यो कुनै चासो नभएका एक तटस्थ इतिहासकारबाट लेखिएको इतिहास थिएन तर आफ्नो गवाही सत्य छ भनी दाबी गर्ने र त्यसको निम्ति आफ्नो जीवन अर्पण गर्न पनि तयार रहेका प्रेरितहरूबाट लेखिएको इतिहास थियो।