प्रार्थनाको उद्देश्य

प्रार्थनाको उद्देश्य
परमेश्वरको नजरबाट केही कुरा लुक्न सक्दैन र कुनै पनि कुराले उहाँको शक्तिको सीमालाई उछिन्न सक्दैन र कुनै पनि कुरामाथि अधिकार गर्नुहुन्छ । यदि मैले एकछिनको लागि भएपनि, “एउटा सानो जीवाणु परमेश्वरको नियन्त्रणभन्दा बाहिर स्वतन्त्र भई यस ब्रह्माण्डमा घुमीरहेको छ भनी विचार गरे भने म त्यो रात निदाउन सक्दिनँ । भविष्यप्रतिको मेरो भरोसा, इतिहासलाई नियन्त्रण गर्नुहुने परमेश्वरमा गरेको भरोसामा नै निर्भर रहन्छ । तर कसरी परमेश्वरले उहाँको नियन्त्रणलाई अभ्यास गर्नुहुन्छ, वा त्यस अधिकारलाई प्रकट गर्नुहुन्छ र आफूले गर्नुभएको सार्वभौम आदेशलाई अस्तित्वमा ल्याउनुहुन्छ ?
अगस्टिनले भनेका छन् कि यस ब्रह्माण्डमा कुनै पनि कुरा परमेश्वरको इच्छाभन्दा बाहिर हुँदैन । अर्को अर्थमा, यस संसारमा हुने प्रत्येक कुरालाई परमेश्वरले निर्धारण गर्नुहुन्छ । यसो भन्दै गर्दा अगस्टिनले मानिसहरूलाई तिनीहरूले गरेका कार्यको परिणामप्रति जवाफदेही हुनुबाट छुट्कारा दिन खोजेका थिएनन् । तर यसले अवश्य पनि जिज्ञासा बढाउँछ कि यदि मानिसका सबै काम र विचारमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भने, हामीले किन प्रार्थना गर्नुपर्यो र ? यही प्रश्नको सेरोफेरोमा रहेर हामीले विचार गर्नेपर्ने अर्को प्रश्न यो होकी, “के प्रार्थनाले कुराहरू बदल्छ ?”
पहिलो प्रश्नको उत्तर म यसरी दिन चाहन्छु- सार्वभौम परमेश्वरले उहाँको पवित्र वचनद्वारा हामीलाई प्रार्थना गर्नको लागि आज्ञा गर्नुभएको छ । प्रार्थना ख्रीष्टियानहरूको लागि वैकल्पीक कार्य हैन तर अनिवार्य गर्नुपर्ने कार्य हो ।
हामी यसरी प्रश्न गर्नसक्छौं- “यदि प्रार्थनाले केही काम गरेन भने ?” तर यो मुख्य विषय हैन । यदि ब्रह्माण्डका परमप्रभु, सृष्टिकर्ता र पालनहार परमेश्वरले हामीलाई प्रार्थना गर्नका लागि आज्ञा दिनुहुन्छ भने, प्रार्थनाको उत्तर आओस् या नआओस् हामीले प्रार्थना गर्नैपर्छ । प्रार्थना गर्नका लागि उहाँको आज्ञा नै पर्याप्त छ । उहाँले हामीलाई प्रार्थना गर्नका लागि मात्र आज्ञा दिनुभएको छैन तर हाम्रा बिन्तिहरू उहाँसँग जाहेर गर्नपनि आमन्त्रित गर्नुभएको छ । याकूबले भनेका छन्- हामी माग्दैनौं त्यसैकारण हामी पाउँदैनौं (याकूब ४:२) । उहाँले यो पनि भन्नुभएको छ कि, धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ (याकूब ५:१६) । बाइबलले बारम्बार हामीलाई यही कुरा बताउँछ प्रार्थना एक प्रभावकारी हतियार हो । यो उपयोगी छ र यसले अवश्य काम गर्छ ।
जोन क्याल्भिनले “ख्रीष्टियान धर्मका विश्वासहरू” भन्ने उनको पुस्तकमा प्रार्थनाको गहन विषयहरूलाई उजागर गरेका छन् :
केही मानिसहरूले भन्न सक्छन् कि हामीले नसम्झिए पनि के परमेश्वरलाई हाम्रो समस्या र आवश्यकताहरू थाहा छैन र, के उहाँले जान्नुहुन्न र ? के हाम्रो परमेश्वर झुल्नुभएको अथवा निदाउनुभएको छ र ? हामीले उहाँलाई हाम्रो प्रार्थनाले झकझकाइ रहनुपर्छ र ? ती मानिसहरू जसले यस्ता तर्क गर्छन, तिनीहरूले परमेश्वरले हामीलाई कुन हदसम्म प्रार्थना गर्न भनी आज्ञा गर्नुभएको छ भन्ने कुरालाई वेवास्ता गरिरहेका हुन्छन् । प्रार्थना, परमेश्वरले उहाँको निम्तिभन्दा बढी हाम्रो निम्ति दिनुभएको हो । उहाँले इच्छा गर्नुहुन्छ र ठिक समयमा मानिसहरूका प्रार्थनाको उत्तर दिनुहुन्छ र उहाँबाट नै तिनीहरूका खाँचो र आवश्यकता पूरा हुन्छ । र यो सत्यतालाईजानेर मानिसहरूले उहाँलाई दिनुपर्ने महिमा दिन्छन् । इतिहासमा हेर्ने हो भने, जसरी सन्तहरूले विश्वस्त भएर परमेश्वरको उपकारको निम्ति प्रशंसा गरे, त्यसरी नै तिनीहरू एकआपसमा प्रार्थना गर्नका लागि पनि उत्साहित भए ।
हामीले प्रार्थनाद्वारा परमेश्वरलाई पुकार्नु अत्यन्तै महत्वपूर्ण छ-पहिलो कारण, हाम्रा हरेक आवश्यकताहरूको लागि हामी परमेश्वरतर्फ दौडीरहँदा, उहाँलाई प्रेम र सेवा गर्ने उत्कट जोस र इच्छाले हाम्रो हृदय भरिपूर्ण होस् । दोस्रो कारण, हाम्रो हृदयमा त्यस्तो कुनै इच्छा र चाहनाले प्रवेश गर्न नपाओस् जसको कारण उहाँकोअघि हाम्रो इच्छाहरू जाहेर गर्दा हामी लज्जित हुनु नपरोस् । तेस्रो कारण, प्रार्थनाले हामीलाई सबै आशिष् परमेश्वरबाट आँउछ भनी याद दिलाउँछ र उहाँले दिनुभएको आशिषलाई धन्यवादी भई ग्रहण गर्न हाम्रो हृदयलाई सधैं तयार बनाउँछ। (जोन क्याल्भिन, फोर्ड लेविस ब्याटल्स, एड जोन टी म्याक्नेल [लुइसभिलः वेस्टमिनिस्टर जोन नोक्स, १९६०], पुस्तक ३, अध्याय २०, खण्ड ३॥
ख्रीष्टियान जीवनमा प्रार्थना पनि अरू कुराहरूझै परमेश्वरको महिमा र हाम्रा लाभको निम्ति हो। परमेश्वरले भन्नुहुने, निर्धारण गर्नुहुने र अनुमति दिनुहुने सबै कुराहरू उहाँको महिमाको निम्ति हो। यो कुरा सत्य छ कि परमेश्वरले हरेक कुरामा आफ्नो महिमा खोज्नुहुन्छ, तर यो पनि सत्य हो कि जब परमेश्वर महिमित बन्नुहुनेछ तब मानिसलाई ठूलो लाभ मिल्दछ । हामी परमेश्वरलाई महिमा दिनको निम्ति मात्र नभएर उहाँबाट आशिष् पाउनको निम्ति पनि प्रार्थना गछौं । परमेश्वरले सुरुदेखि अन्त्यसम्मका सबै कुरा जान्नुहुन्छ तर यस सत्यतालाई लिएर प्रार्थना जस्तो महत्वपूर्ण विषयलाई हामीले बेवास्ता गर्नुहुँदैन किनकि प्रार्थना हाम्रै भलाई र लाभको निम्ति हो । यो त हाम्रो सीमित अस्तित्वलाई परमेश्वरको असीमित उपस्थितिको महिमाभित्र लाने एक अवसर हो ।
परमेश्वरसँगको संवाद
सुधारवादको मुख्य विषयहरूमध्येका एउटा विषय भनेको, सबै जीवित प्राणीले परमेश्वरको अधीनमा रहेर उहाँको उपस्थितिमा, उहाँको महिमाको निम्ति आफ्नो जीवन व्यतीत गर्नुपर्छ । प्रार्थना केवल आफ्नो विचार परमेश्वरसँग जाहेर गर्ने, आत्मविश्लेषण वा धार्मिक पाठ गर्ने कार्यमात्र नभएर स्वयम् परमेश्वरसँग वातचित गर्ने कार्य हो । प्रार्थनाद्वारा म, मेरो सारा जीवनलाई परमेश्वरको निगाहमा ल्याउँछु । हो ! परमेश्वरले मेरो सम्पूर्ण मनोभावनालाई जान्नुहुन्छ तैपनि मेरो मनभित्रका कुराहरू उहाँलाई बताउने अवसर उहाँले मलाई दिनुभएको छ । उहाँ भन्नुहुन्छ-“आएर मलाई भन, तिमीहरूका बिन्ती ममा जाहेर गर ।” त्यसैकारण हामी उहाँलाई जान्नको लागि र उहाँले हामीलाई जान्नुभएको होस् भनी प्रार्थनामा आउछौं ।
“यदि परमेश्वरले सबै कुरा जान्नुहुन्छ भने किन प्रार्थना गर्नुपर्यो र ?” भन्ने प्रश्न आफैमा त्रुटिपूर्ण छ । यस प्रश्नले यो अनुमान गर्छ कि प्रार्थना केवल एकतर्फी कार्य हो, जसमा हाम्रा आवश्यकताहरूको निम्ति हामी बिन्ती गछौँ- तर प्रार्थना भनेको त्यतिमात्र हैन । प्रार्थना केवल एकतर्फी कार्य हैन तर यसको ठिक विपरित बहुआयामिक कार्य हो, जसले ख्रीष्टियान जीवनको विभिन्न पक्षहरूलाई समावेश गर्छ । परमेश्वरको सार्वभौमिकताले प्रशंसाको प्रार्थनालाई ओझेलमा पार्दैन । परमेश्वरको सर्वज्ञानले प्रशंसाको प्रार्थनालाई इन्कार गर्दैन तर यसले त हामीलाई परमेश्वर जो हुनुहुन्छ त्यसैको निम्ति आराधना चढाउन अझ ठूलो कारणहरू प्रदान गर्छ। “मैले केही कुरा भन्नुअघि नै परमेश्वरले सबै जान्नुहुन्छ” भन्ने कुराले हाम्रो प्रार्थनाहरू सीमित बनाउनुभन्दा, उहाँ सबै कुराको स्रोत हुनुहुन्छ भन्ने जानेर प्रार्थनासहित उहाँको प्रशंसा गर्नुपर्दछ ।
म र मेरो श्रीमतीको सम्बन्ध अत्यन्तै घनिष्ट छ । प्रायः उनले केही कुरा भन्नुअघि नै उनले भन्न चाहेको कुरा म थाहा पाइहाल्छु, र उनले पनि मैले केही भन्नुअघि नै मेरो कुरा थाहा पाउँछिन् । तैपनि उनले भन्न चाहेको कुरा म उनकै मुखबाट सुन्न रुचाउँछु । अब विचार गर्नुहोस् त मानिसले एकअर्काको कुरा मौखिक रूपमै भन्न र सुन्न चाह गर्छन् भने, परमेश्वरले त झन् कति बढ्ता गरी यी कुराको चाह गर्नुहुन्छ होला ? हामीसँग, हाम्रा भित्री मनको कुरा परमेश्वरलाई बताउने सुनौलो अवसर छ । हामी प्रार्थनामा मौन रहेर हाम्रो मनको कुरा परमेश्वरलाई पढ्न पनि दिनसक्छौं तर यसरी हामी उहाँसँग सञ्चार र सङ्गति गर्न सक्दैनौं ।
हामी बोलीचालीद्वारा एकअर्कासँग वार्तालाप गर्ने प्राणीहरू हौं । मौखिक प्रार्थना परमेश्वरसँग सङ्गति र वार्तालाप गर्ने बोलीचालीको माध्यम हो । परमेश्वरको सार्वभौमिकताको ज्ञानले हाम्रो प्रार्थनाको मनोवृत्तिलाई प्रभाव पार्नैपर्छ, हाम्रो आराधनामा धन्यवादी भई प्रार्थना गर्न हामीलाई उत्साहित बनाउनैपर्छ । र यही ज्ञानद्वारा हाम्रो जीवनमा रहेका प्रत्येक आशिष, प्रत्येक असल र सिद्ध थोक उहाँले आफ्नो अनुग्रहमा हामीलाई दिनुभएको प्रशस्तताको दान हो भनी बुझ्नुपर्छ । परमेश्वरको सार्वभौमिकताको ज्ञानमा हामी जति बढी वृद्धि हुँदै जान्छौं त्यतिनै हाम्रो प्रार्थनाहरू धन्यवादले भरिपूर्ण हुँदैजान्छ ।
परमेश्वरको सार्वभौमिकताको ज्ञानले कसरी हाम्रो पश्चातापको प्रार्थना र पाप स्वीकारको प्रार्थनालाई नकारात्मक असर पार्छ ? सम्भवतः हामीले यो निष्कर्ष निकाल्न सक्छौं कि, अन्ततः हाम्रो पापको जिम्मेवार परमेश्वर हुनुहुन्छ र हाम्रो पाप स्वीकारको प्रार्थना स्वयम् परमेश्वरको विरुद्धमा हाम्रो अपराधको दोषारोपण हो । तर एक साँचो खीष्टियानले यो कुरा राम्रोसँग जान्दछ कि उसले आफ्नो पापको लागि परमेश्वरलाई दोष लगाउन सक्दैन । म ईश्वरीय सार्वभौमिकता र मानवीय जिम्मेवारी बीचको सम्बन्धलाई बुझ्न नसकुँला तर मैले यो कुरालाई राम्ररी बुझेको छु कि मेरो हृदयका पापको फलहरूको दोष, म परमेश्वरको सार्वभौमिकतालाई दिन सक्दिनँ । हामीले पवित्र परमेश्वरलाई क्रोधित तुल्याएको कारण हामी दोषी छौं, र क्षमाको निम्ति हामीले उहाँमा बिन्ती गर्नैपर्छ ।
के प्रार्थनाले केही कुरा बदल्छ ?
मध्यस्थता र बिन्तीको विषयमा हामी के भनौँ त ? धार्मिक, आत्मिक र मनोवैज्ञानिक लाभको विषयमा र प्रार्थनाद्वारा प्राप्त हुने थोकहरूको विषयमा कुरा गर्नु राम्रो हो, तर वास्तविक अर्थात् व्यावहारिक प्रश्नको विषयमा हामी के भनौं ? के प्रार्थनाले केही फरक पार्छ र ?
के यसले वास्तवमै कुराहरू बदल्छ र ? मलाई कसैले यही प्रश्न फरक ढङ्गबाट सोधेका थिए- “के प्रार्थनाले परमेश्वरको हृदयलाई बदल्छ ?” मेरो उत्तर यही थियो कि “अँह । बदल्दैन ।” मेरो यस उत्तरप्रति मानिसहरूले विरोध जनाएका थिए। यदि त्यस व्यक्तिले, “के प्रार्थनाले कुराहरू बदल्छ ?” भनेर प्रश्न गरेको भए म ढुक्कसँग उत्तर दिने थिए, “अवश्य पनि !”
बाइबलले हामीलाई बताउँछ कि परमेश्वरले केही कुराहरू अनन्तदेखि नै निर्धारण गर्नुभएको छ र ती कुराहरू अवश्य पनि पूरा हुनेछन् । यदि हामीले यी पूर्वनिर्धारित कुराहरूको बदलाउको लागि व्यक्तिगत रूपमा प्रार्थना गर्ने हो भने, अथवा तपाई र म, हामी दुवैले प्रार्थनालाई अझ सशक्त बनाउने हो भने र संसारभरिका सम्पूर्ण खीष्टियानहरूले एकसाथ प्रार्थना गर्यौं भनेपनि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरालाई हामी बदल्न सक्दैनौं । हामीले येशूको दोस्रो आगमन नहोस् भनेर प्रार्थना गर्यौं भनेपनि उहाँ अवश्य आउनुहुनेछ । तर तपाईंले यो प्रश्न सोध्न सक्नुहुन्छ कि “यदि दुई वा दुईभन्दा बढी कुनै कुरामा सहमत भएर माग्छ भने उसले पाउँछ भनेर के बाइबलले हामीलाई भन्दैन र ?” हो बाइबलले यो कुरा बताउँछ तर हामीले यो कुरा बुझ्नुपर्छ कि यस पदले प्रार्थनाको विषयमा नभएर चर्च अनुशासनको विषयमा कुरा गरिरहेको छ । त्यसैकारण प्रार्थनाको विषयमा बाइबलले सिकाउने शिक्षालाई हामीले एउटा मात्र पदलाई त्यसको सन्दर्भबाट अलग गरेर बुझ्नुहुँदैन तर त्यस पदको सन्दर्भ सम्पूर्ण बाइबलीय प्रकाशको आधारमा रहेर बुझ्नुपर्छ ।
फेरि पनि तपाइले प्रश्न गर्न सक्नुहुन्छ कि-“परमेश्वरले बेलाबखत पछुतो गर्नुहुन्छ भनेर के बाइबलले हामीलाई बताउँदैन र ?” हो । पुरानो करारले हामीलाई यस विषयमा बताउँछ । योनाको पुस्तकले भन्छ कि निनवेका मानिसहरूमाथि न्याय गर्ने योजना बनाउनुभएको कारण परमेश्वरले पछुतो गर्नुभयो (योना ३:१०) । “परमेश्वरले पछुतो गर्नुभयो” भन्ने अवधारणालाई लिएर ईश्वरशास्त्रीहरूले परमेश्वर जो आत्मा हुनुहुन्छ उहाँलाई “एन्थ्रोमोर्फिक” अर्थात मानवीकरणको भाषामा वर्णन गरिरहेका छन् । तर हामीले यस कुरामा ध्यान दिनुपर्छ- परमेश्वरले पछुतो गर्नुभयो भन्नुको अर्थ यो हैन कि उहाँले हामी मानवले झै पश्चाताप गर्नुभयो । बाइबलले हामीलाई बताउन चाहेको वास्तविक अर्थ त्यो हैन नत्र त परमेश्वरले पाप गर्नुभएछ र उहाँलाई पनि उद्धारकर्ताको आवश्यकता छ भनी हामी गलत अर्थ लगाउन थाल्नेछौं । यस पदले स्पष्ट रूपमा भन्न चाहेको कुरा यही हो कि निनवेलाई न्याय गर्न बनाउनुभएको योजनालाई उहाँले रद्द गर्नुभयो । किङ्गजेम्स संस्करणको अङ्ग्रेजी बाइबलमा “पश्चाताप” भनेर अनुवाद गरिएका हिब्रू शब्द “नाछ्म” को वास्तविक अर्थ “सान्त्वना पाएको” अर्थात् “शान्त पारिएको” भन्ने हुन्छ । यसको मतलब, जब निनवेका मानिसहरू आफ्ना पापबाट फर्के तब परमेश्वरले धेरै शान्ति, आनन्द महसुस गर्नुभयो भन्ने हुन्छ । त्यसैकारण निनवेका मानिसहरूमाथि गर्न खोज्नुभएको न्यायलाई उहाँले हटाउनुभयो ।
बाइबलमा यस्ता कैयौं घटनाहरू छन् जहाँ पापी मानिसहरूमाथि न्याय गर्नलाई परमेश्वरले आफ्नो न्यायको तरवारलाई तयार पार्नुभएको छ, तर ती मानिसहरूले पश्चाताप गरेपछि उहाँले आफ्ना न्यायलाई रोक्नुभएको छ । के साँच्चै परमेश्वरले आफ्नो हृदयलाई परिवर्तन गर्नुभएको हो ?
हैन ! परमेश्वरले आफ्नो हृदयलाई बदल्नुहुन्न कारण परमेश्वर बदलिनुहुन्न । तर उहाँको इच्छाअनुसार विभिन्न कुराहरू अन्य माध्यमहरूद्वारा बदलिन्छन् र यी सबै माध्यमहरूमाथि परमेश्वरले नै अधिकार गर्नुहुन्छ । संसारका कुराहरू बदल्नका लागि उहाँले आफ्ना मानिसहरूको प्रार्थनालाई पनि एक माध्यमको रूपमा प्रयोग गर्नुहुन्छ । त्यसैकारण, यदि तपाईले मलाई “के प्रार्थनाले केही कुरा बदल्न सक्छ ?” भनेर प्रश्न गर्नुभयो भने, म नहिच्किचाई उत्तर दिनेछु “अवश्य पनि !”
मानव इतिहासको विभिन्न कालखण्डहरूमध्ये कतिले परमेश्वरले तत्काल गर्नुभएको हस्तक्षेपलाई प्रतिबिम्बित गर्छ र कतिले उहाँले मानवीय माध्यमद्वारा गर्नुभएका कामलाई प्रकट गर्छ भन्ने कुरा यकिनसाथ भन्न असम्भव छ । यस विषयमा क्याल्भिनलाई मनपर्ने उदाहरण अय्यूबको पुस्तक थियो । शबीहरूले अय्यूबका सबै गधाहरू र कल्दीहरूले उनका सबै उंटहरू लुटेर लगे । यी सबै घटनाहरूको पछाडि हामी शैतानलाई देख्छौं, कारण शैतानले त मानिसहरूलाई अय्यूबको गधा र उँट लुट्नको लागि उक्साए तर हामीले यस विषयमा गम्भीर भएर प्रश्न गर्ने हो भने, के यी सबै घटनाको पछाडि शैतानको स्वैच्छिक हात छ र ? अँह । अवश्य छैन । यी सबै कुराको पछाडि हामी परमेश्वरको हात देख्नसक्छौं । अय्यूबको विश्वासको जाँच गर्नका निम्ति उसको शरीरलाई चाहिँ कुनै हानी नगरी शैतानले इच्छा गरेअनुसार अय्यूबका सबै कुरामाथि प्रहार गर्ने अधिकार परमेश्वरले शैतानलाई दिनुभएको थियो । हामीलाई लाग्नसक्छ, किन परमेश्वरले यस्तो कुरामा सहमति जनाउनुभयो ? यसका तीन कारणहरू छन्- पहिलो, शैतानको निन्दालाई निष्क्रिय पार्न । दोस्रो, उहाँ आफैलाई ठिक साबित गर्न । तेस्रो, शैतानको निन्दाबाट अय्युबलाई ठिक साबित गर्न । यी तीन कारणहरूले परमेश्वरले गर्नुभएको कार्य पूर्णरूपमा न्यायसङ्गत थियो भन्ने ठहर गर्छ ।
यसको ठिक विपरित, ती मानिसहरूलाई उत्तेजित पार्नुको पछाडि शैतानको दुष्ट उद्देश्य थियो, शैतानले अय्यूबद्वारा ईश्वर निन्दा गराउन चाहन्थ्यो । तर हामी देख्न सक्छौं कि, यी सबै घटनाहरू घटाउँदा शैतानले कुनै पनि अप्राकृतिक माध्यम प्रयोग गरेका थिएनन् । त्यसले अय्यूबको गधा र उँट लुट्नका लागि स्वभावैले दुष्ट शबी र कल्दीहरू, मानवीय माध्यम प्रयोग गरेका थिए । शबी र कल्दीहरू दुष्टता र डकैतीको लागि कुख्यात थिए । यस कामको निम्ति तिनीहरूलाई दुष्टले उत्तेजित पारेपनि यसमा तिनीहरू आफैपनि इच्छुक थिए । त्यहाँ कुनै जबर्जस्ती थिएन र तिनीहरूको दुष्टताबाट परमेश्वरको उद्देश्य पूरा भयो ।
शबी र कल्दीहरू ती काम गर्ने कि नगर्ने भन्ने कुरा निर्णय गर्नका लागि स्वतन्त्र थिए । स्वतन्त्र भन्नाले तिनीहरू पनि हामी जस्तै सीमित स्वतन्त्रतामा थिए । हामी कहिल्यै पनि मानवीय स्वचालन र स्वतन्त्रता बीचको फरकमा अलमलिनु हुँदैन । ईश्वरीय सार्वभौमिकता र मानव स्वचालनबीचको द्वन्द्व सधैँ रहनेछ तर ईश्वरीय सार्वभौमिकता र मानव स्वतन्त्रताबीच द्वन्द्व रहेको हामी कहिँकतै पाउँदैनौं । बाइबलले भन्छ कि मानव स्वतन्त्र छ, तर उनी आफै स्वचालित भने छैनन् ।
मानौं कि शबी र कल्दीहरूले “हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट बचाउनुहोस् “भनेर प्रार्थना गरे र परमेश्वरले शबी र कल्दीहरूको प्रार्थना सुन्नुभयो । तैपनि अय्युबको जीवजन्तुहरूको चोरी हुने नै थियो भनी म ढुक्कसँग भन्नसक्छु । तिनीहरूबाट नभए परमेश्वरले अरू मानिसहरूलाई अय्युबको जीवजन्तु चोर्नका लागि खटाउनु हुनेथियो । हामीसँग स्वतन्त्रता छ तर त्यो सीमित छ र त्यही सीमितता भित्र हाम्रो प्रार्थनाद्वारा कुराहरू बदलिन्छ । पवित्र धर्मशास्त्रले हामीलाई बताउँछ कि प्रार्थनाद्वारा नै एलिया अगमवक्ताले पानि पर्नबाट रोके, र ईश्वरीय सार्वभौमिकतालाई बुझेका कारण उनी प्रार्थना गर्नबाट निरुत्साहित भएनन् ।
परमेश्वरका पुत्रको प्रार्थनाहरू
ईश्वरीय सार्वभौमिकताको विषयमा येशूबाहेक अन्य कुनै पनि मानिसहरूसँग गहिरो बुझाइ थिएन । कुनै पनि मानिसले कहिल्यै पनि उहाँले झैँ तीव्र रूपमा प्रभावकारी ढङ्गले प्रार्थना गरेनन् । उहाँले गेतसमनीको बगैंचामा पनि अन्य विकल्पहरूको लागि परमेश्वरसँग अनुरोध गर्नुभयो, तर जब उहाँको अनुरोध पिताबाट अस्वीकार गरियो तब उहाँले पिताको इच्छामा आफैलाई समर्पण गर्नुभयो । हामीले प्रार्थना गर्नुको मुख्य कारण भनेको नै परमेश्वरको सार्वभौमिकता हो । किनकि हामी विश्वास गछौँ कि आफ्नो उद्देश्य अनुसार काम गर्ने शक्ति परमेश्वरसँग छ । जुनसुकै कुरालाई पनि आफ्नो उद्देश्य अनुसार आज्ञा दिन सक्नुहुन्छ र यही नै उहाँको सार्वभौमिकता हो । अब हामी के भनौं ? के प्रार्थनाले परमेश्वरको हृदयलाई बदल्छ ? अह ! कदापी पनि । के प्रार्थनाले कुराहरू बदल्छ ? हो ! अवश्य पनि ।
धर्मशास्त्रले गरेको प्रतिज्ञा यही हो कि “धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ” (याकूब ५:१६ ) । तर समस्या यो हो कि, हामी धर्मी छैनौं । र बारम्बार प्रार्थनाले हाम्रो हृदयको पाप र कठोरतालाई परिवर्तन गर्दछ । अरू कुनै कारणहरू ठिक र मान्य नभए पनि केवल यही एउटा कारण हामीले प्रार्थना गर्नको लागि पर्याप्त छ ।
“प्रार्थनालाई सुन्नुहुने सर्वोच्चका परमेश्वर” शीर्षकको वचनमा, जोनाथन एडवार्डले हामीलाई परमेश्वरले प्रार्थनाको माग गर्नुको दुई कारणहरू बताएका छन् :
परमेश्वरको सम्बन्धमा प्रार्थना भनेको, परमेश्वरको महिमाको निम्ति हामी उहाँमा निर्भर छौं भनी स्वीकार गर्नु हो ।
परमेश्वरका सृष्टिले उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भनी स्वीकार गर्नेछन् र यस कुराले परमेश्वरलाई महिमा दिनेछ । किनकि, उहाँले सबैकुरा आफ्नो महिमाको निम्ति बनाउनुभएको छ । यी कुराहरू उहाँले आफ्नो कृपापात्रहरूबाट माग गर्नु अत्यन्तै उचित छ । प्रार्थना भनेको हामीले आफैलाई उहाँको शक्ति र अनुग्रहमा निर्भर छौं भन्ने कुराको उचित स्वीकार हो । साथै हाम्रो परमेश्वर, महान् रचनाकार र सबै असल थोकको फोहोराको निम्ति चढाइएको एक उपयुक्त आदर हो- परमेश्वरले यी कुराहरू माग गर्नुहुन्छ ।
हाम्रो सम्बन्धमा, परमेश्वरले हामीबाट प्रार्थनाको माग गर्नुहुन्छ। व्यग्र जोसीलो प्रार्थनाले हाम्रो हृदयलाई फरकफरक तरिकाले तयार पार्दछ । हाम्रो हृदय आवश्यकताहरूको लागि तल्लीन भइरहँदा, हाम्रो मस्तिष्क भने उहाँलाई धन्यवादको भेटी चढाउन उत्साहित भइरहेको हुन्छ । परमेश्वरसँग गरिने प्रार्थनाले हामी उहाँको कृपामा निर्भर छौं भन्ने वास्तविकतामा हामीलाई उत्साहित बनाउँछ । प्रार्थना, परमेश्वरको प्रशस्ततामा निर्भर भइ गरिने विश्वासको उचित अभ्यास हो। जब हामी कृपा प्राप्त गछौँ तब उहाँको नाउँ महिमित पार्नका लागि तयार रहन्छौं। (जोनाथन एडवार्डको कार्यहरू कर्लिसल, पाः सत्य विश्वासको झन्डा, १९७४), २:११६) ।
परमेश्वरले गर्ने सबै कार्यहरू, सुरुमा उहाँको महिमाको निम्ति र त्यसपछि हाम्रो भलाइको निम्ति गर्नुहुन्छ । परमेश्वरले हामीलाई आज्ञा गरेका कारण हामी प्रार्थना गर्दछौं । यसले उहाँलाई महिमा र हामीलाई लाभ प्रदान गर्दछ, त्यसकारण हामी प्रार्थना गर्दछौं ।
-आर.सी. स्प्रौल